काठमाडौं। राजनीतिक दलका सभा, सम्मेलन र महाधिवेशनपछि सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिको जिम्मेवारी लिनबाट पन्छिने प्रवृत्तिबीच नेपाली कांग्रेसले भने फरक उदाहरण प्रस्तुत गरेको छ। आफ्नै महाधिवेशनका कारण मासिएको खुलामञ्चको दुबो पुनः रोपेर कांग्रेसले सार्वजनिक सम्पत्तिको संरक्षणमा जिम्मेवार अभ्यास देखाएको छ।
कांग्रेसको १५औँ महाधिवेशनका क्रममा असोज १८ देखि २२ गतेसम्म पाँच दिन खुलामञ्चमा पार्टीका नेता तथा कार्यकर्ताको ठूलो जमघट भएको थियो। त्यसक्रममा खुलामञ्चको हरियालीमा क्षति पुगेपछि कांग्रेसले त्यसको पुनःस्थापनाका लागि आइतबार एक ट्रक दुबो ल्याएर रोपेको हो।

काठमाडौं महानगरपालिकाले लामो समय र प्रयास लगाएर खुलामञ्चको मर्मतसम्भार तथा हरियाली व्यवस्थापन गरी सर्वसाधारणका लागि खुला गरेको थियो। यस्तो अवस्थामा राजनीतिक कार्यक्रमका कारण सार्वजनिक स्थलमा पुगेको क्षतिको बेवास्ता गर्नेभन्दा त्यसको जिम्मेवारी आफैंले लिनु सकारात्मक अभ्यासका रूपमा देखिएको छ।

कांग्रेसका महानगर सभापति सुसन वैद्यले महाधिवेशनका क्रममा दुबो मासिएकाले पार्टीले पुनः रोप्ने व्यवस्था गरेको बताए। ‘अहिले एक ट्रक दुबो राख्ने र उक्त दुबो महानगरको व्यवस्थापन समितिले मिलाउने योजना हो,’ उनले भने।

राजनीतिक दलहरूले सार्वजनिक स्थललाई आफ्ना कार्यक्रमका लागि प्रयोग गर्दा त्यसबाट हुने क्षतिको जिम्मेवारी पनि लिनुपर्छ भन्ने सन्देश कांग्रेसको यो कदमले दिएको छ। सार्वजनिक सम्पत्तिको उपयोग गर्ने मात्र होइन, त्यसको संरक्षण र पुनःस्थापनामा समेत जिम्मेवार बन्नुपर्छ भन्ने दृष्टान्तका रूपमा यसलाई लिन सकिने देखिएको छ।

खुलामञ्चमा ल्याइएको दुबो सहमहामन्त्री प्रतिमा गौतमको उपस्थितिमा पार्टीका नेता-कार्यकर्ताले नै मिलाएर राखेका छन्।

पुनःस्थापनाको प्राविधिक जिम्मेवारी पाएको माउन्ट एभरेस्ट स्पोर्ट्सका थमन भूसालका अनुसार दुबो पूर्ण रूपमा स्थापित गरी खुलामञ्चलाई पुरानै अवस्थामा फर्काउन न्यूनतम ३० दिन लाग्नेछ। रोपिएको दुबोको नियमित सिँचाइ, मलखाद र मर्मतसम्भार गरिने उनले बताए।









![लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर] लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर]](https://bizmandu.com/wp-content/uploads/2026/11/848804182_1140586615022874_2099901756651918260_n-1-300x300.jpg)

