अन्ताल्या (टर्की)। जलवायु परिवर्तनको जोखिम बढाउँदै गएको कोइला, पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासजस्ता जीवाश्म इन्धनको निर्भरता घटाउन ब्राजिलले विश्वका देशहरूलाई नवीकरणीय ऊर्जातर्फ अघि बढ्ने मार्गचित्र प्रस्ताव गरेको छ। टर्कीको पर्यटकीय सहर अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) को दोस्रो दिन मंगलबार ब्राजिलले जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जातर्फ संक्रमणका लागि यस्तो मार्गचित्र सार्वजनिक गरेको हो।
गत वर्ष ब्राजिलले आयोजना गरेको कोप-३० मा जीवाश्म इन्धनको प्रयोगबाट बाहिरिने विषयमा सहमति जुटाउने प्रयास भए पनि त्यसलाई कार्यान्वयन गर्ने स्पष्ट कार्ययोजना बन्न सकेको थिएन। यसपटक भने ब्राजिलले कोइला, तेल र ग्यासको प्रयोग घटाउँदै सौर्य तथा वायु ऊर्जाजस्ता स्वच्छ स्रोतमा निर्भरता बढाउन विभिन्न उपायसहितको मार्गचित्र अघि सारेको हो।
मार्गचित्रमा नयाँ जीवाश्म इन्धनमा आधारित विद्युत् आयोजना निर्माण रोक्ने, जीवाश्म इन्धनमा दिइँदै आएको अनुदान कटौती गर्ने र स्वच्छ ऊर्जाको उत्पादन तथा प्रयोग विस्तार गर्ने विषयलाई प्राथमिकता दिइएको छ। यसले देशहरूको आर्थिक अवस्था, ऊर्जा आवश्यकता र उपलब्ध स्रोतअनुसार संक्रमणको बाटो तय गर्न सहयोग गर्ने ब्राजिलको भनाइ छ।
कोप–३० की प्रमुख कार्यकारी अधिकृत आना टोनीले विभिन्न देशलाई जीवाश्म इन्धनबाट बाहिरिन व्यावहारिक उपाय उपलब्ध गराउनु मार्गचित्रको उद्देश्य रहेको बताइन्। उनका अनुसार सबै देशको अवस्था र ऊर्जा संरचना समान छैन। त्यसैले एउटै ढाँचाको नीति लागू गर्नुभन्दा देशको परिस्थितिअनुसार स्वच्छ ऊर्जातर्फ अघि बढ्ने विकल्प दिन खोजिएको हो।
उनले केहीलाई जीवाश्म इन्धनबाट बाहिरिनु असम्भव लाग्न सक्ने भए पनि विश्वको ऊर्जा प्रणाली क्रमशः त्यही दिशामा अघि बढ्ने बताइन्।
सम्मेलनमा सहभागी पूर्वअमेरिकी विदेशमन्त्री तथा जलवायु दूत जोन केरीले पनि अब प्रतिबद्धताभन्दा कार्ययोजनाको आवश्यकता रहेको बताए। ‘हामीलाई थप प्रतिबद्धता होइन, योजना चाहिएको छ,’ उनले भने।
केरीका अनुसार विश्वव्यापी जलवायु संकट सम्बोधन गर्न देशहरूले अब ठोस कदम चाल्नुपर्ने अवस्था छ। यद्यपि जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय छलफलमा अमेरिकाको अनुपस्थिति यसपटक पनि देखिएको छ। लगातार दोस्रो वर्ष अमेरिकाले उच्चस्तरीय सहभागिता जनाएको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनलाई विश्वकै ठूलो भ्रम भन्दै आएका छन्। उनको प्रशासनले समुद्री क्षेत्रमा निर्माण हुने वायु ऊर्जा आयोजना रोक्ने प्रयास गर्नुका साथै विद्युत् गृहबाट हुने उत्सर्जन नियन्त्रण गर्ने नियमसमेत खारेज गरेको छ। ट्रम्पले जीवाश्म इन्धन उत्पादन विस्तार गर्ने नीतिलाई ‘ड्रिल, बेबी, ड्रिल’ नारामार्फत अघि बढाइरहेका छन्। यद्यपि अमेरिकाभित्रै उनको जीवाश्म इन्धन केन्द्रित नीतिको विरोध भइरहेको छ। हालैको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले दुवै सदनमा नियन्त्रण हासिल गरेपछि स्वच्छ ऊर्जासम्बन्धी कार्यक्रमलाई अघि बढाउने संकेत गरेको छ।
ब्राजिलले प्रस्तुत गरेको मार्गचित्रलाई विभिन्न देश तथा वातावरणीय संस्थाले सकारात्मक रूपमा लिएका छन्। नेदरल्यान्ड्सकी जलवायु तथा हरित विकासमन्त्री स्टिन्टजे भान भेल्डहोभेनले आयातित जीवाश्म इन्धनमा निर्भर देशहरूलाई स्वच्छ ऊर्जा भविष्यतर्फ अघि बढ्न यसले स्पष्ट बाटो देखाउन सक्ने बताइन्।
वातावरणीय संस्था क्लाइमेट एक्सन नेटवर्कले पनि जलवायु सम्मेलनमा भएका सहमति कार्यान्वयन गर्ने दिशामा ब्राजिलले पहल गरेको भन्दै प्रशंसा गरेको छ।
ब्राजिल आफैं भने विश्वको सबैभन्दा ठूलो वर्षावन क्षेत्र अमेजनको ठूलो हिस्सा रहेको देश हो। तर त्यहाँ उल्लेख्य पेट्रोलियम भण्डारसमेत छन् र ब्राजिल जीवाश्म इन्धन निर्यात गर्ने प्रमुख मुलुकमध्ये पर्छ। घरेलु ऊर्जा आपूर्तिको ठूलो हिस्सा भने जलविद्युत्बाट प्राप्त हुन्छ। आफ्नो देशको तेल निर्यातबारे प्रत्यक्ष टिप्पणी गर्न अस्वीकार गर्दै टोनीले प्रस्तुत मार्गचित्र ब्राजिल मात्र नभई समग्र विश्वका लागि उपयोगी हुने बताइन्।
कोप–३१ मा ब्राजिलले वन विनाश नियन्त्रण र विकासशील तथा गरिब देशलाई आवश्यक जलवायु वित्त उपलब्ध गराउने विषयमा पनि छुट्टाछुट्टै मार्गचित्र प्रस्तुत गर्दैछ। जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनका लागि कमजोर अर्थतन्त्र भएका देशलाई वार्षिक १.३ ट्रिलियन अमेरिकी डलर जलवायु वित्त उपलब्ध गराउने आवश्यकतामा पनि उसले जोड दिएको छ।

यसैबीच, सम्मेलनको दोस्रो दिन सहभागीहरूलाई कार्यक्रमस्थल पुग्नै कठिन भएको थियो। सडक बन्द र अत्यधिक ट्राफिक जामका कारण बिहानका केही बैठकसमेत सार्नुपरेको थियो। संयुक्त राष्ट्रसंघका अनुसार सम्मेलनमा ६८ हजार ५०० भन्दा बढी सहभागी दर्ता भएका छन् भने झन्डै २५ हजार जनशक्ति व्यवस्थापनमा खटिएका छन्।
सम्मेलनमा सहभागी जलवायु अभियन्ता ग्रेटा थनबर्गले जलवायु परिवर्तनले आफूहरूले माया गर्ने सबै कुरा जोखिममा पारेको बताइन्। उनका अनुसार जलवायु संकट अब भविष्यको मात्र नभई वर्तमानकै गम्भीर चुनौती बनिसकेको छ।
यस वर्षको जलवायु सम्मेलन विगतका प्रतिबद्धता पूरा हुन नसकेको र जलवायुजन्य विपद्का घटना बढिरहेको पृष्ठभूमिमा आयोजना भएको हो। विश्वव्यापी तापक्रम वृद्धिलाई औद्योगिकीकरणअघिको अवस्थाभन्दा १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य हासिल गर्न कठिन हुँदै गएको छ। संयुक्त राष्ट्रसंघले गत सेप्टेम्बरमा एक दशकअघि तय गरिएको उक्त लक्ष्यको प्रक्षेपणसमेत पुनरावलोकन गरेको थियो।
यसपटकको सम्मेलनमा विद्युतीकरणलाई पनि प्रमुख मुद्दा बनाइएको छ। टर्कीले सन् २०३५ सम्म विश्वको कुल ऊर्जा खपतमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्याउने लक्ष्य अघि सारेको छ। अहिले यस्तो हिस्सा २३ प्रतिशत छ। तर विद्युतीकरणको विस्तारसँगै त्यसका लागि आवश्यक विद्युत् स्वच्छ स्रोतबाटै उत्पादन हुनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
कोलम्बियाकी पूर्ववातावरणमन्त्री इरेने भेलेज टोरेसले विद्युतीकरणको नाममा कोइला, ग्यास र डिजेलको प्रयोग बढाउन नहुने बताइन्। उनका अनुसार विद्युत्को प्रयोग बढाउने अभियान नवीकरणीय ऊर्जामा आधारित हुनुपर्छ।
कोलम्बियाले गत अप्रिलमा जीवाश्म इन्धनबाट बाहिरिने विषयमा छुट्टै अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। टोरेसले जीवाश्म इन्धनको प्रयोग घटाउने मात्र नभई यसको उत्पादन र आपूर्तिसमेत क्रमशः अन्त्य गर्ने विषयमा राष्ट्रिय तथा क्षेत्रीय मार्गचित्र आवश्यक रहेको बताइन्। उनका अनुसार अहिलेसम्म जीवाश्म इन्धनको उत्पादन घटाउने विषय अन्तर्राष्ट्रिय जलवायु वार्तामा पर्याप्त प्राथमिकतामा पर्न सकेको छैन।
यसरी कोप–३१ मा जलवायु परिवर्तन नियन्त्रणका लागि नयाँ प्रतिबद्धता जनाउनेभन्दा पुराना सहमति कार्यान्वयन गर्ने र जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जातर्फको संक्रमणलाई व्यावहारिक बनाउने विषयले प्राथमिकता पाएको छ। (एपी)










