सरकारमाथि साढे ७ महिनामै संकट, रवि र बालेनबीचको विवाद उत्कर्षमा

बिजमाण्डू
२०८३ कात्तिक २२ गते १२:३८ | Nov 8, 2026
सरकारमाथि साढे ७ महिनामै संकट, रवि र बालेनबीचको विवाद उत्कर्षमा
रवि लामिछाने र बालेन्द्र शाह। फाइल तस्वीर


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीचको विवाद उत्कर्षमा पुगेको छ।

GBIME
Tata

झण्डै दुई तिहाइसहित सरकार गठन भएको साढे सात महिनामै रवि र बालेनबीचको विवाद उत्कर्षमा पुगेको हो। विवाद घटाउने काम नभए प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमण नै रोकिन सक्ने स्रोतले बतायो।

‘सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच ठूलो द्वन्द्व भइसकेको छ। शाहको कार्यशैलीबाट देश झन् ओरालो लाग्ने भएकाले तत्कालै केही निर्णय गरेर अघि बढ्नुपर्छ भन्ने देखिन्छ,’ स्रोतले भन्यो, ‘केही अनपेक्षित घट्नाक्रम विकसित भइरहेको छ। त्यसले प्रधानमन्त्री शाहको भारत भ्रमणमै प्रभाव पार्ने देखिन्छ।’

मिति सार्वजनिक नभए पनि बालेन मंसिर दोस्रो साता भारत जाने तयारी छ। उनको भ्रमणको तयारीस्वरुप भारतमा विदेश सचिव विक्रम मिश्री गत बुधबार नेपाल आएर बिहीबार फर्किएका थिए।

स्रोतका अनुसार बालेनको विकल्पमा समेत छलफल सुरु भएको छ।

दुई महिनाअघि सम्म रवि बालेनको विकल्पमा जान नहुने पक्षमा थिए। आफू निकटका सांसदहरुलाई पनि उनले जनताले निश्चित म्यान्डेट दिएर पठाएकाले पहिलाको जस्तो सरकारको आलोचना गर्नतर्फ लाग्नु हुँदैन भनी उल्टै सम्झाएर पठाउने गरेका थिए। ‘हामीलाई जनताले विश्वास गरेर पठाएका हुन्। अहिले सरकारको आलोचना वा विकल्प सोच्नु हुँदैन। केही कमीकमजोरी भएमा सच्याउन सकिन्छ,’ उनले सांसदहरुलाई सम्झाउँदै भन्ने गरेका थिए।

तर, अहिले रविको सोचाइमा परिवर्तन भएको छ। परिवर्तन हुनुको प्रमुख कारण भनेको संचारगृहमा प्रहरी पठाएर पत्रकार पक्राउ र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाउने निर्णय हो। सरकार गठनको सुरु देखि नै बालेनको कार्यशैलीबाट असन्तुष्ट रहेका रविलाई पछिल्ला दुई घट्नाले ट्रिगर गरेको स्रोतले बतायो।

‘उद्योगी व्यवसायीदेखि राहदानी ठेक्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरुलाई थुनेर ठेक्का रद्दका लागि दबाब दिएको मन परेकै थिएन। त्यो क्रम रोकिने भन्दा बढ्दै गएर सुनकोशी-मरिण आयोजनाका कर्मचारीलाई नियन्त्रणमा लिएर ठेक्का प्रक्रिया रद्द गराउनेसम्मको हर्कतपछि सभापतिज्यूको मन फेरिएको छ। उहाँले केही राजनीतिक परामर्श समेत गर्नुभएको छ,’ रवि निकट एक सांसदले बिजमाण्डूसँग भने, ‘शासन सत्ता जसरी चलिरहेको छ, त्यसले देशलाई उधोगतिमा लैजान्छ भन्ने देखेर जुर्मुराउनु भएको देखिन्छ।’

रवि अदालत, प्रहरी, कर्मचारी प्रशासन, निजी क्षेत्र सबैतिर भयको वातावरण सिर्जना गरिएको र जनताको चुलोमा सरकार परिवर्तनको असर नपरेको भन्दै असन्तुष्ट छन्। उनले शुक्रबार चितवनमा सार्वजनिकरुपमै सरकारको कामप्रति चर्को असन्तुष्टि जनाएका थिए।

‘कर्मचारीतन्त्रको साथविना जनतालाई गरेको वाचा पूरा गर्न सकिंदैन। अदालत पनि कमजोर हुने, प्रहरी पनि कमजोर हुने, निजी क्षेत्र कमजोर हुने, वैदेशिक सम्बन्ध पनि कमजोर हुने, पेशागत संगठन पनि कमजोर हुने र प्रेस पनि कमजोर। भएभरका संस्था कमजोर भए भने देश नै कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुन्छ,’ उनले भनेका थिए, ‘कमजोर लोकतन्त्रले ठूलो कुराबाहेक काम गर्न सक्दैन। हाम्रा काम र निर्णयले लोकतन्त्रका पिलर कमजोर बनाउनु हुँदैन भन्ने महसुस गर्नुपर्छ।’

ती सांसदका अनुसार पार्टीभित्रकै केही सांसदलाई समेत सरकारले निगरानीमा राखेको सूचना पाएपछि रवि आक्रोशित बनेका छन्।

‘समाचार लेखेकै आधारमा संचारगृहमा प्रहरी पठाएर पत्रकार पक्राउ गराइयो। त्यति मात्रै होइन सभापति निकट रहेका केही सांसदलाई समेत प्रहरी निगरानीमा राखिएको छ,’ स्रोतले भन्यो, ‘सांसदले केही बोल्न मिल्दैन, मलाई निगरानीमा राखिएको छ भनेर हिंडिरहेका छन्। यस्तो शासन प्रणालीले सभापतिलाई बिझ्नु स्वाभाविक हो।’

स्रोतका अनुसार यी सबै घट्नाका पछाडि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनको भूमिका रहेको भन्दै रवि थप आक्रोशित बनेका छन्। बेनको भूमिका शंकास्पद देखिएको र उनकै खटनपटनमा राजकाज चलाइकोप्रति पनि रवि असन्तुष्ट छन्। शासन सत्ता सञ्चालनमा रविसँगको परामर्श घट्दै गएको छ।

बालेनको आफ्नै दाउ

बालेन र उनको टिमलाई भने रविले भनेका सबै कुरा पूरा गर्दा पनि अनावश्यक रुपमा राजकाजमा चासो लिएको भन्ने परेको छ।

राजनीतिक नियुक्तिमा रविले भनेका अधिकांश मान्छे ल्याउँदा समेत असन्तुष्ट बन्नु अस्वाभाविक भएको उनीहरुको बुझाइ छ। स्रोतका अनुसार प्रधानन्यायाधीशमा मनोज शर्मादेखि विशेष अदालत र सर्वोच्चमा रोजीरोजी रविकै मान्छे ल्याएको बालेन पक्षले बतायो।

‘राजनीतिकदेखि संवैधानिक नियुक्तिसम्म उहाँले नै भनेकाहरु आएका छन्। उहाँले ल्याएका मान्छेमा समस्या छ,’ स्रोतले भन्यो, ‘सुशासनका लागि हामीले केही मान्छे पक्राउ गरेका हौं। न्यायालय, व्यवसायीदेखि कर्मचारीसम्मलाई ट्र्याकमा ल्याउन खोज्दा उहाँलाई के नराम्रो भयो?’

स्रोतका अनुसार बालेन पक्षले रविलाई विवाद नझिक्न बरु राष्ट्रपतिका लागि तयार हुन प्रस्ताव गर्न लागेको छ। ‘सत्ता संचालनमा विवाद झिक्नु राम्रो होइन। उहाँका लागि सम्माननीय पद भनेको राष्ट्रपति हो। अरु विकल्प छैन,’ स्रोतले भन्यो।

स्रोतका अनुसार झण्डै चार महिनाअघि बालेनको सचिवालयका सदस्यले अनौचारिक छलफलमा रविलाई तपाइँलाई राष्ट्रपति ठीक होला भनेका थिए। त्यसपछि रवि झोक्किएका थिए।