चाडपर्व र जाडोयाम सुरु भएसँगै अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

बिजमाण्डू
२०८३ कात्तिक १३ गते १२:२७ | Oct 30, 2026
चाडपर्व र जाडोयाम सुरु भएसँगै अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत


चितवन। चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ।

GBIME
Tata

चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो।

यसअघि ६ कात्तिकमा काठमाडौंमा बसेको बैठकले तय गरेको मूल्यलाई ६ दिनपछि नै परिमार्जन गर्दै सङ्घले बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य तोकेको सङ्घका अध्यक्ष विनोद पोखरेलले बताए।

नयाँ समर्थन मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रति पेटी (कार्टुन) २ सय बढेको छ भने सानो अण्डाको मूल्य प्रति पेटी १ सय रुपैयाँ वृद्धि भएको छ।

अध्यक्ष पोखरेलले ६ कात्तिकमा ३ हजार ७०० रुपैयाँ रहेको १४.५ देखि १४.८ किलोको एक्सएल अण्डाको समर्थन मूल्य अब ३ हजार ९०० रुपैयाँ पुगेको जानकारी दिए। १३.५ देखि १३.८ किलोको ठूलो अण्डाको समर्थन मूल्य ३ हजार ६०० रुपैयाँबाट बढेर ३ हजार ८०० रुपैयाँ पुगेको छ।

१२.५ देखि १२.८ किलोको मिडियम अण्डाको समर्थन मूल्य ३ हजार ५०० रुपैयाँ बाट बढेर ३ हजार ७०० रुपैयाँ पुगेको अध्यक्ष पोखरेलले जानकारी दिए। ११ किलोभन्दा माथिको सानो अण्डाको समर्थन मूल्य भने ३ हजार १०० रुपैयाँबाट बढेर ३ हजार २०० रुपैयाँ पुगेको छ।

उपभोक्ता मूल्य ठूलो अण्डा प्रति गोटा २५ रुपैयाँ र मिडियम अण्डा प्रति २ वटाको ४५ रुपैयाँ कायम गरिएको छ। फार्म मूल्य प्रति पेटी २०० रुपैयाँ बढे पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन नगरिएको उनले बताए।

पर्वहरूसँगै चिसोयाम सुरु भएपछि बजारमा खपत बढेका कारण होलसेल मूल्य बढाइएको उनले बताए। रासस