काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअघि आक्रामक तयारी गरिरहेको टोलीमध्ये एक हो- काठमाडौँ गोर्खाज।
पहिलो संस्करणमा ‘गुर्खाज’ बनेर आएको टोली दोस्रोमा ‘गोर्खाज’ नामसहित रिब्रान्ड भयो। तर, दुवै सिजनमा अपेक्षित नतिजा नपाएको टोलीले यसपटक डेभिड वार्नर, केएस भरत, विल बोसिस्टोजस्ता ठूला नाम भित्र्याएको छ। ब्राण्ड अनुबन्धमा पनि काठमाडौं आक्रामक छ।
एनपीएल सुरु भएबाटै क्रिकेट वृत्तमा चल्ने एउटा चर्चा थियो- सबैभन्दा पहिला कुन टोली ब्रेक इभनमा जाला? धेरैले लख काटेका थिए- सायद काठमाडौं।
एनपीएलको दुवै संस्करणमा गोर्खाजले सन्तुलित टोली बनाएको थियो। हेभिवेट खेलाडी नभित्र्याए पनि कुन ठाउँमा कस्तो खेलाडी चाहिएको छ, त्यो भने उनीहरुले ल्याइरहे। यसका केही बेफाइदा पनि टोलीलाई भयो।
पहिलो, राजधानीको टोली भएर पनि फ्यानबेस तुलनात्मक रुपमा बलियो बनेन। एनपीएल हुने टीयू क्रिकेट मैदान काठमाडौंमै पर्छ। तर, अपेक्षित रुपमा काठमाडौंले यी दुवै सिजनमा फ्यानबेस बनाउन संघर्ष नै गर्यो।
तेस्रो सिजनमा यिनै समस्यालाई सम्बोधनका लागि काठमाडौंले काम गरिरहेको छ। काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया पहिलो संस्करणमा संलग्न थिएनन्। दोस्रो सिजनमा उनले यसलाई नजिकबाट हेरे। तेस्रो सिजनमा उनी स्पस्ट रणनीतिसहित मैदानमा आएका छन्।
सिरोहिया देशकै प्रतिष्ठित तथा प्रभावशाली संचार गृहका रूपमा स्थापित कान्तिपुर मिडिया ग्रुप (केएमजी)सँग आबद्ध छन्। संचार क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएको यो समूह प्रविधि, नवप्रवर्तन र नयाँ व्यावसायिक सम्भावना खोज्न आक्रामक देखिन्छ। एनपीएलको फ्रेन्जाइजीको लगानी हेर्दा सिरोहियाको व्यावसायिक रुचि परम्परागत विरासतभन्दा पृथक देखिन्छ।
फ्रेन्चाइज मोडल त अझ कहिले नाफामा जाने या नजाने टुंगो नभए पनि लगानी गरिरहनुपर्ने व्यवसाय हो। क्यास बर्निङ कहिलेसम्म? उनी भन्छन्- लगानी घटाएर ब्रेक इभनका लागि हतारिनुपर्ने अवस्थामा छैनौं।
सिरोहिया क्रिकेटमा रुची भएर नै लगानीका लागि तयार भएर आएको बताउँछन्। ‘क्रिकेट र स्पोर्ट्समा रुचि भएरै यसमा लागेको हो,’ उनी भन्छन्, ‘फ्यानहरूको मायाले गर्दा यो अहिले जहाँसम्म पुगेको छ, एकदमै ठूलो भएर आएको छ। स्पोर्ट्स भनेको सबैलाई युनाइट गर्ने कुरा हो। दीर्घकालीन रुपमा व्यवसायको पनि अर्थ राख्छ, तर मूल कुरा त्यही प्यासन र इन्ट्रेस्ट नै हो।’
एनपीएलको दुई संस्करणमा रिब्राण्डिङमा सबैभन्दा धेरै ध्यान दिने टोली थियो काठमाडौं। ‘पहिलो सिजनमा म फ्यानका रूपमा बाहिरबाट मात्र हेर्थेँ। म नेपालमा थिइनँ, दुबईमा बस्थेँ,’ उनले भने, ‘दोस्रो सिजनदेखि नयाँ टिम सेटअपसँगै हामीले दीर्घकालीन सोचेर पूरै रिब्रान्डिङ गर्यौँ।’
काठमाडौंको रणनीति खेलको पक्ष र व्यावसायिक पक्षमा नजिकबाट अनुभवलाई सहयोग गरिरहेका श्रवण सिंह अपरेसन हेडको जिम्मेवारीमा छन्।
‘दोस्रो सिजनमा पनि हामीले एउटा कुरा मिस गर्यौँ। काठमाडौँ राजधानी भएकाले फ्यानको एक्स्पेक्टेसन एकदमै हाइ थियो, विशेषगरी खेलाडीका सन्दर्भमा,’ सिंहले भने, ‘त्यसैले तेस्रो सिजनमा आउँदा हाम्रो सुरुवाती छलफल नै फ्यानलाई पहिला राखेर के परिवर्तन गर्न सकिन्छ भन्ने थियो। यो टिम कुनै एक जनाको होइन, यो काठमाडौँको हो, यो फ्यानहरूको हो भनेर हामीले त्यहीँबाट सम्पूर्ण प्लानिङ सुरु गर्यौँ। फ्यानको एक्स्पेक्टेसन बुझ्दा खेलाडी अलि ठूला ल्याऔँ, उहाँहरूलाई पनि केही एक्साइटमेन्ट होस् भन्ने सोचेर अघि बढेका छौं।’

पहिलो सिजनमा गुर्खाजबाट दोस्रो सिजनमा गोर्खाज किन बन्यो? यसको अर्को रमाइलो पक्ष छ।
‘पहिलो सिजनमा हामी गुर्खाज भनेर आयौँ र दोस्रो सिजनमा इन्टायर रिब्रान्डिङ नै गर्यौँ,’ सिंहले भने, ‘त्यसको कारण के थियो भने गुर्खाज र गोर्खाज अलि फरक रहेछ। गुर्खाज भनेको अलि विदेशमा प्रयोग हुने शब्द हो। गोर्खाज चाहिँ अलि रिलेटेबल शब्द हो। हामीले भ्यालीलाई रिप्रेजेन्ट गर्ने हो नि। काठमाडौँ मात्र होइन, काठमाडौँ, ललितपुर र भक्तपुर तीन वटैलाई रिप्रेजेन्ट गर्ने भाव हो।’
अर्थात काठमाडौंले चाहेको खासगरी उपत्यकाका तीन जिल्ला नै जोड्न रहेछ। उनीहरु उत्साहित बन्नुको अर्को कारण पनि छ। नेपाली क्रिकेट टोली अहिले ओमनमा लिग-२ को अन्तिम सिरिज खेलिरहेको छ। यो सिरिजमा प्रभावशाली प्रदर्शन गर्ने खेलाडीमा पर्छन् करण केसी। बलिङमा त उनको धार छँदैछ, ब्याटिङमा पनि उत्तिकै आक्रामक भएर टिमलाई योगदान दिइरहेका छन्। उनै केसी काठमाडौंका मार्की खेलाडी हुन्।
नतिजा र ट्रफीको सपना
अनुभव यसअघि विरासतको कुनै व्यवसायमा आवद्ध थिएनन्। सानैदेखि देश बाहिर रहेका उनी आफ्नो चासो खेलकुदमा भएको बताउँछन्। अहिले क्रिकेट फ्रेन्चाइजमा जुटिरहँदा आफूले स्वतन्त्र रुपले काम गरिरहेको उनको भनाइ छ।
‘अहिलेको यो स्पोर्ट्स इन्डस्ट्री एकदमै बुमिङ छ। यो सानो उद्योग होइन। म पर्सनली अरू क्षेत्रमा कहिल्यै इन्भल्भ भएको थिइनँ, बच्चैदेखि मेरो इन्ट्रेस्ट स्पोर्ट्समै हो र यसमा काम गर्न पाएकोमा म एकदम खुशी छु,’ उनले भने, ‘मैले सबै जनाबाट गाइडेन्स पाइरहेको छु, धेरै कुरा सिकेको पनि छु। दुई वर्ष यही इन्डस्ट्रीमा भिज्दा अलि राम्रा कनेक्सन पनि बनिसकेको छ।’
अनुभव फ्रिडम पाएको भन्दै पहिला भन्दा राम्रो गर्ने लक्ष्य लिएर अघि बढिरहेको बताउँछन्। ‘लक्कीली मैले धेरै फ्रिडम पाउँछु, त्यसैले सक्दो आफैँ सिक्दै कसरी बेटर गर्न सकिन्छ त्यसरी अघि बढिरहेको छु,’ उनले भने।

उनले अघि बढाउने जिम्मेवारी पाएको काठमाडौंको यात्रा यसअघिका दुवै सिजनमा धेरे राम्रो भएन।
‘पहिलो र दोस्रो सिजनमा खराब भन्ने त होइन। जितको प्रतिशतका हिसाबले हेर्ने हो भने हामी सुदूरपश्चिमपछि दोस्रो स्थानमा छौँ। कमी-कमजोरी त हुन्छन् नै,’ उनले भने, ‘तर यो सिजनमा हाम्रो पहिलो मुभ नै क्रिकेट बुझेका, क्रिकेटका पारखी, नेपाल क्रिकेटलाई नजिकबाट बुझ्नुभएका शरद भेसावाकरजीलाई हामीले क्रिकेट डाइरेक्टरका रूपमा आवद्ध गरेका छौं।’
श्रवणले पोहोर चुकेको विषयमा खुलेर कुराकानी गरे। गएको सिजन फास्ट बलरको कमी भएको उनी स्वीकार्छन्। यसपालि युवा ट्यालेन्टलाई अक्सनबाटै ल्याएको उनले बताए।
‘अहिले हाम्रो क्याम्प चलिरहेको छ, खेलाडीले राम्रो पर्फर्म गरिरहेका छन्, हामी एकदम खुसी छौँ। दोस्रो सिजनको विश्लेषण गरेर बलिङ, ब्याटिङमा जे कमजोरी थियो, त्यसलाई सुधार गर्न त्यही अनुसार खेलाडीसँग सम्झौता गरिरहेका छौँ,’ श्रवणले भने।
यसपालि ट्रफीकै लागि खेल्ने अनुभवले बताए। उनले लगानी गर्न हिच्किचाउने वा ब्रेक इभनमा जान हतारिने भन्दा ट्रफी जित्ने लक्ष्य रहेको बताए। यसमै बोर्डको पनि फोकस रहेकाले ठूलो लगानी गरिरहेको छ।
‘हाम्रो बोर्डले जति लगानी गरेर भए पनि ट्रफी ल्याउनुपर्छ भन्ने मान्यता राखेको छ। उहाँहरूले हामीलाई त्यसका लागि स्वतन्त्रता दिनुभएको छ,’ उनले भने, ‘कति उठ्यो, कति खर्च कम गर्न सकिन्छ भन्ने होइन, उत्कृष्ट खेलाडी ल्याएर ट्रफी जित्नुपर्छ भन्ने हो।’
यो संस्करणमा ट्रफी जित्ने सोचिरहेका अनुभवले दीर्घकालमा भने स्टेडियमसम्मको सपना देखिरहेका छन्।
‘हाम्रो दीर्घकालीन भिजन भनेको हाम्रो आफ्नै स्टेडियम बनाउने मन छ। त्यसले अल्टिमेटली इम्प्याक्ट क्रिएट गर्छ। हामी लगभग हरेक दिन यसबारे छलफल गर्छौँ,’ उनले भने, ‘हामी भाग्यमानी छौँ कि ब्याकिङ फ्यान्स छन्। तर यसले नेपाली क्रिकेटमा कसरी प्रभाव पार्न सकिन्छ भन्ने हो। कोही हाम्रोबाट आएर एक दिन नेपालको टिमलाई अन्तर्राष्ट्रिय रुपमा प्रतिनिधित्व गरोस् भन्ने हो।’

अनि तयार भए वार्नर
एनपीएलको पहिलो संस्करणमा सबैभन्दा चासोको केन्द्रमा थिए- शिखर धवन। त्यसबाहेक पनि जिम्मी निशमजस्ता अन्य हेभिवेट खेलाडी नभएका होइनन्। तर, लाइमलाइट धवनमाथि थियो।
दोस्रो सिजनमा फाफ डुप्लिस यस्तै चर्चाको केन्द्रमा रहे। तेस्रो संस्करणमा एकपछि अर्का हेभिवेट खेलाडी अनुबन्ध भइरहेका छन्। काठमाडौंले डेभिड वार्नरलाई अनुबन्ध गर्दै लाइमलाइट आफूतर्फ खिचेको छ।
‘सिजन टुपछि हामी एकदमै क्लियर थियौँ। नेक्स्ट सिजन सकेसम्म सबैभन्दा ठूलो प्लेयर ल्याउनुपर्छ, यहाँ ठूलो भनेको स्किल सेटमा मात्र होइन, जसको फ्यान फलोइङ छ, जसलाई देख्दा फ्यानलाई एक्साइटमेन्ट हुन्छ,’ अनुभवले भने, ‘त्यसपछि हामीले ब्रेनस्टर्मिङ सुरु गर्यौँ, को को हुन सक्छन्।’
त्यसपछि बल्ल अनुभवले सुनाए कसरी आइपुगे वार्नर काठमाडौं गोर्खाजमा।

‘हामीले कुरा सुरु गरेको चार पाँच महिना डेभिड वार्नरसँगको छलफलमा गयो। तर उहाँ एनपीएलबारे सुन्ना साथ एकदम एक्साइटेड हुनुभयो,’ उनले भने, ‘एक त उहाँलाई नेपालको फ्यानबारे एकदमै थाहा रहेछ, संसारमा जहाँ म्याच भए पनि त्यहाँ नेपाली फ्यानको भिड हुन्छ भन्ने।’
पछि चाहीँ यसले गर्दा सहज भएको उनले बताए।
‘सुरुमा उहाँसँग सम्पर्कमा आउन गाह्रो थियो, तर कुरा सुरु भएपछि एक हिसाबमा सजिलो पनि भयो, किनभने एनपीएल कति ठूलो भइसक्यो, अन्तर्राष्ट्रिय स्टेजमा यो एउटा ठूलो लिग भइसकेको छ र हामीले एनपीएलतिर हेर्नुपर्छ भन्ने स्थिति बनेको छ। त्यसले गर्दा सजिलो भयो,’ उनले भने।
अन्य टोलीको जस्तै काठमाडौंका पनि ‘लिमिटेसन’ छन्। आईसीसीले टेस्ट राष्ट्रका खेलाडी ल्याउन लिमिट गरेको छ। यसपालि यो फुकुवा भए ठूला खेलाडी ल्याउने भनेर विभिन्न टोली अन्तिम स्थितिमा छन्। मात्रै आईसीसीबाट ग्रिन सिग्नल चाहिएको छ।
वार्नर आउनुको इम्प्याक्ट के हो भन्ने कुरा अहिलै देखिसकेको श्रवण बताउँछन्।
‘विगतका दुई सिजनमा हामीले पनि धेरै कुरा सिक्यौँ, हरेक स्टेपमा सिकिन्छ। फ्यानको एक्स्पेक्टेसन कम्तीमा काठमाडौँसँग एउटा ठूलो स्टार प्लेयर ल्याइदेऊ भन्ने रहेछ,’ उनले भने, ‘वार्नर साइन गर्नुको कारण प्लेइङ साइडमा मात्र होइन, वार्नर नेपाल आउनेबित्तिकै त्यसको इम्प्याक्ट तपाईंले देखिरहनुभएको छ। संसारभर नै, न्युजमा समेत ‘वार्नर नेपाल गएको’ भनेर नेपाललाई नै यसले चिनाइरहेको छ।’

वार्नरको आगमनलाई पर्यटनसँग कसरी जोड्न सकिन्छ भनेर पर्यटन बोर्डसँग पनि छलफल गरिसकेको उनले बताए।
काठमाडौंले वार्नरजस्तै अर्का हेभिवेट विदेशी खेलाडीलाई अनुबन्ध गर्ने अन्तिम तयारीमा भएको र आईसीसीको ग्रिन सिग्नल पर्खिरहेको अनुभवले बताए।
‘हामीले एक-दुई जना ठूलै प्लेयरसँग कुरा गरेर रिजर्भमा राखेका छौँ, किनकि क्यान निलम्बनको कुरामा हामी अड्किरहेका छौँ। समर्थकले चाँडै सुन्नेछन्। सस्पेन्सन खुला भएको खबर आउनेबित्तिकै हामी त तयारी अवस्था छौँ। इन फ्याक्ट, करार लगभग ‘साइन्ड’ छ, इट्स रेडी।’
ब्रेकइभन, ब्राण्ड र फ्यानबेस
एनपीएलमा वर्षेनी लगानी गरेका क्लबहरुले फेस गर्ने प्रश्न हो- ब्रेकइभन कहिले? काठमाडौंको अहिलेको प्राथमिकता ब्रेकइभन नभएको सिरोहिया बताउँछन्।
‘हाम्रो अप्रोच ब्रेकइभनमा पुग्नेभन्दा माथि छ। त्यही भएर हामीले खेलाडीमा ठूलो लगानी गरिरहेका छौँ,’ उनले भने, ‘अहिले ग्रोथ भइरहेको छ। यो पैसाको कुरा होइन, हामीले के दिन सक्छौँ भन्ने हो।’
यसमा उनले स्पोन्सर र ब्रोडकास्टिङको पनि आम्दानी बढेको उदाहरण दिँदै बजारमा पनि राम्रो रेस्पोन्स आइरहेको बताए।
‘हाम्रो मुख्य आम्दानी स्पोन्सरसिप, ब्रोडकास्टिङ र टिकेटिङबाट हो। ब्रोडकास्टिङ त देखिसक्यो, लगभग टेन एक्स नै जस्तो भएको छ,’ उनले भने।
अहिले काठमाडौं आफ्नो प्राथमिकतामा स्पस्ट छ।

यसमा उनले थप स्पस्ट पर्दै थपे, ‘हाम्रो अहिलेको ड्राइभिङ फ्याक्टर पैसा होइन। हामी कसरी हुन्छ ब्रान्ड बिल्ड गर्ने, फ्यान बेस बिल्ड गर्ने भन्नेमा छौँ’
एनपीएललाई ग्लोबलसम्म जोड्ने लक्ष्य
पहिलो संस्करणबाट तेस्रोमा आइपुग्दा स्पोन्सरसिपमा धेरै सहज भइसहेको श्रवण बताउँछन्।
‘पहिलो सिजनको तुलनामा अहिले अलि सजिलो भइहाल्यो। अहिले धेरैजसो ठूला ब्रान्डले क्रिकेटमा इन्ट्रेस्ट देखाउनुहुन्छ,’ उनले भने, ‘नेपालको मार्केट अलि सानै छ। आठवटा फ्रान्चाइज टिम छन्, क्यान आफैँ भयो, त्यसैले एनपीएलमा सबै गरेर नौवटालाई स्पोन्सरसिप चाहिन्छ। नौवटालाई स्पोन्सरसिप चाहिँदा नेपाल मार्केट सानो भएकाले अन्तिमसम्ममा लगभग सबै सोल्ड आउट भइरहेकै हुन्छ।’
यसमा अनुभव अझ स्पस्ट छन्।
‘म आफैँ पर्सनली एनपीएल टप फाइभ लिगमा पर्छ जस्तो ठान्छु। जस्तै आईएल टी-ट्वान्टी ठूलो लिग हो, तर त्यहाँ कोही हेर्न आउँदैन। एनपीएल चाहिँ एउटा टप लिगमध्ये हो,’ उनले भने, ‘ नेपालको बजार सानो छ। हामीले विराट कोहली नै ल्याए पनि, मार्केट त त्यही हो, मार्केटको साइज बढ्दैन।’
यस्तोमा लिग ठूलो भइरहँदा विश्वको नजर यसमा परेको र त्यही हिसाबले अघि बढ्नु पर्ने उनी ठान्छ।
‘यसपटक काठमाडौँमात्र नभएर सबैले ठूला–ठूला प्लेयर ल्याइरहनुभएको छ। त्यसले इन्टरनेसनल अटेन्सन पनि आइरहेको छ र इन्ट्रेस्ट पनि पक्कै पनि छ,’ उनल भने, ‘सायद अर्को सिजन या त्यसपछिका सिजनमा इन्टरनेसनल स्पोन्सरलाई हामी टार्गेट गर्न सक्छौँ र गर्नुपर्छ।’
उनी फेरि पनि जोड फ्यानबेसमै दिन्छन्।

‘हाम्रो सबैभन्दा ठूलो एसेट फ्यान बेस हो। नेपालमा कुनै पनि खेल हुँदा, एनपीएलमा टीयू भरिएर पनि त्यति नै वा त्योभन्दा बढी मान्छे टिकट नपाएर बाहिर बसेका हुन्छन्,’ उनले भने, ‘यदि हामीसँग राम्रो स्टेडियम हुने हो भने विश्वका लगानीकर्तासँग मिलेर अगाडि बढ्न सक्छौं।’
नेपालमै पनि हरेक संस्करणमा ब्राण्डहरु आकर्षित भइरहेको सिंह बताउँछन्।
‘ब्रान्डहरूसँग हामी रिच आउट गर्छौँ, पहिलो कठिन थियो, दोस्रो सजिलो र अहिले सहज भएको छ,’ उनले भने, ‘अहिले हाम्रो जर्सी र ट्राउजरका स्पोन्सरसिप बेचिसकेका छौं।’










