काठमाडौं। केही वर्षअघिसम्म बुम बोकेर सरकारलाई प्रश्न गर्ने प्रतिभा रावल अहिले आफैं सरकारमा छिन्। छोटो समयमा नै राजनीतिक उदय भएर मन्त्री बनेकी उनी आफूलाई ‘दह्रो स्वभाव’को भन्न पछि पर्दिनन्। भूमि, सहकारी र प्रशासन सुधारका चुनौतीबीच उनको एउटै अठोट छ, ‘मन्त्रीको कुर्सीमा रहँदासम्म जनताको विश्वासमाथि न्याय गर्ने।’
सिंहदरबारको कुर्सीमा बस्दा उनलाई आफ्नो ९ वर्षकी छोरी आहानाको सम्झना आइरहेको हुन्छ। छोरीको भविष्यबारे सोच्दा उनी भावुक नहुने होइनन्, तर त्यही भावनाले उनलाई एउटा गम्भीर प्रश्नतर्फ लैजान्छ, आफू र श्रीमान यो संसारमा नरहेपछि छोरीको हेरचाह कसले गर्ला?
अटिस्टिक छोरीको हेरचाह गर्दै आएकी प्रतिभालाई आफ्नै जीवनले सिकाएको छ सन्तानको भविष्यको चिन्ता कति गहिरो हुन्छ भन्ने। त्यसैले उनी आफूजस्ता हजारौं आमाबुवाले आफ्नो सन्तानको भविष्य सम्झेर चिन्तित हुन नपर्ने समाज निर्माण गर्न चाहन्छिन्। तर, त्यस्तो समाज निर्माण गर्ने जिम्मेवारीमा रहेकी प्रतिभा आफूलाई भावनामा बग्ने छुट नभएको बताउँछिन्।
भन्छिन्, ‘मलाई मन्त्रीको यो कुर्सीमा बसेर इमोसनल्ली सोच्ने छुट नै छैन।’

आमाको संघर्षले बनाएको बोल्ड स्वभाव
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ की प्रतिभाको बाल्यकाल सहज थिएन। उनी ५ वर्षकी हुँदा बुवाको निधन भयो। त्यसपछि आमा माया रावलले एक्लै उनी र दाईलाई हुर्काइन्, पढाइन। बुवाको निधनपछि आमाले गरेको संघर्षले प्रतिभालाई सानैदेखि जीवनका कठिनाइसँग जुध्न सिकायो।
भन्छिन्, ‘मेरो हुर्काई नै त्यस्तै भएर होला सानातिना कुराले हिट गर्दैन। म एकदमै दह्रो मुटुको मान्छे हुँ।’
आमाले एक्लै हुर्काएर सक्षम बनाएको प्रतिभाको जीवनमा छोरीको जन्मपछि अर्को चुनौती थपियो। छोरी जन्मिएको तीन वर्षपछि मात्रै उमेरअनुसार उनको विकासक्रम अघि नबढेको थाहा भयो। त्यसपछि छोरीलाई विशेष हेरचाह आवश्यक पर्ने अवस्थासँग जुध्दै प्रतिभाले आफ्नो जीवनलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्यो।
‘छोरी ९ वर्षकी भइन्। तर उनको हुर्काईले मलाई यति स्ट्रङ बनाइदियो कि मलाई त इमोशनल हुने छुट नै छैन,’ उनी भन्छिन्।
बाल्यकालको संघर्ष र छोरीको अवस्थाले उनलाई व्यक्तिगत रूपमा मात्रै बलियो बनाएको छैन। राज्यले विशेष आवश्यकता भएका बालबालिका र उनीहरूका परिवारप्रति कस्तो जिम्मेवारी लिनुपर्छ भन्ने सोच पनि उनमा विकास गराएको छ।
भन्छिन्, ‘सरकार यस्तो हुनुपर्छ यसरी काम गर्नुपर्छ कि म जस्ता आमाबुवाले ढुक्कसँग मर्न पाउनुपर्छ ता कि आफूपछि मेरो बच्चाको विशेष हेरचाह होस्।’
तर, आमा र मन्त्रीका रुपमा गर्नुपर्ने निर्णय र लिनुपर्ने जिम्मेवारीलाई उनी अलग राखेर हेर्नुपर्ने बताउँछिन।
‘राज्य सञ्चालन व्यक्तिगत भावनामा नभइ विधि र कानुनअनुसार चल्नुपर्छ,’ उनको भनाइ छ।

प्रश्न गर्ने पत्रकारदेखि जवाफ दिने मन्त्रीसम्म
एसएलसीसम्मको अध्ययन कञ्चनपुरमै पूरा गरेकी प्रतिभा उच्च शिक्षाका लागि काठमाडौं आएकी थिइन्। हजुरबुवा र हजुरआमासँग बसेर प्लस टु र स्नातक अध्ययन गरिन्। स्नातक पढ्दै गर्दा उनले अंग्रेजी दैनिक रिपब्लिकामा काम गर्न थालिन्।
पत्रकारिताप्रतिको रुचि र मेहनतले उनलाई भारतको चेन्नईस्थित एसियन कलेज अफ जर्नालिज्ममा डिप्लोमा अध्ययन गर्ने अवसर दिलायो। चेन्नईबाट फर्किएपछि उनले फ्याक्ट चेकरका रूपमा काम गरिन्। त्यसपछि ग्यालेक्सी फोरके टेलिभिजनमा पत्रकारिता गरिन्।
ग्यालेक्सीमा काम गर्दैगर्दासम्म उनले आफ्नो भविष्य राजनीतिमा देखेकी थिइनन्। तर त्यही टेलिभिजनको यात्रा नै उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो।
ग्यालेक्सीमा काम गर्दा उनले रवि लामिछानेसँग सहकार्य गर्ने अवसर पाइन्। त्यही सहकार्यले उनलाई राजनीतितर्फ डोर्याएको हो।
उनी स्पष्ट रूपमा भन्छिन्, ‘म राजनीतिमा आउनुको एउटै कारण हो रवि लामिछाने।’
राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालमा उनी पार्टीमा जोडिइन। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि लामिछाने गृहमन्त्री बनेपछि प्रतिभाले उनको स्वकीय सचिवका रूपमा काम गरिन्।
पत्रकारिताबाट एकाएक गृह मन्त्रालयको सचिवालयमा पुगेपछि उनले राज्य सञ्चालनको भित्री पाटो नजिकबाट बुझ्ने अवसर पाएको बताइन्। सरकार र संसद्सँग जोडिएर काम गर्दा प्रश्न गर्नु र प्रश्नको जवाफ दिनुबीचको अन्तर उनले महसुस गरिन्।
प्रतिभा थप्छिन्, ‘पहिले प्रतिपक्षमा हुँदा जनताको नजरबाट हेरिन्थ्यो पछि सरकारमा गएपछि राज्यको नजरबाट हेर्न थालियो। छोटो समयमै प्रश्न गर्न कति सहज हुन्छ तर जवाफ दिन कति गाह्रो हुन्छ भन्ने बुझियो।’
गृह मन्त्रालयको सचिवालयमा काम गरेको त्यही अनुभवले उनलाई अहिले मन्त्रालय हाँकिरहँदा सरकारी संयन्त्र र निर्णय प्रक्रियासँग परिचित बनाएको छ।

भूमि, सहकारी र प्रशासन सुधारको चुनौती
प्रतिभाको काँधमा अहिले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी छ। मन्त्रालयका तीनवटै क्षेत्र नागरिकको दैनिक जीवन, आर्थिक सुरक्षा र राज्यप्रतिको विश्वाससँग जोडिएका छन्।
वर्षौंदेखि अल्झिएको भूमिहीन तथा सुकुम्बासी समस्या, बचतकर्ताको रकम फिर्ता हुन नसकेको सहकारी संकट र सुधारको पर्खाइमा रहेको कर्मचारी प्रशासन उनका अगाडिका प्रमुख चुनौती हुन्।
प्रतिभा यी समस्या एकै दिनमा समाधान नहुने स्वीकार गर्छिन्। तर, लामो समयदेखि समस्या छ भन्दैमा समाधानका लागि दशकौं लाग्नुपर्छ भन्ने तर्कसँग उनी सहमत छैनन्। उनका अनुसार कतिपय समस्या नीतिगत अस्पष्टता र इच्छाशक्तिको अभावका कारण लम्बिएका हुन्।
भूमिहीनलाई लालपुर्जा वितरण गर्ने विषयमा उनी गम्भीर रुपमा काम गरिरहेको बताउँछिन्।
‘लालपुर्जाको समस्या समाधानमा रहेका केही नीतिगत बाधा अड्चन छन त्यसलाई फुकाउन ममा इच्छाशक्ति हुने हो भने फुकाएर समाधानको बाटोमा जान सकिने रहेछ, म यो समाधानको बाटोमा अघि बढिरहेको छु,’ उनले भनिन्।
उनका अनुसार वास्तविक भूमिहीन पहिचान गर्ने काममा समस्या हुन सक्छ, तर त्यसलाई असम्भव मानेर पन्छिन मिल्दैन। आफ्नो कार्यकालमा नीतिगत गाँठा फुकाएर समस्या समाधानको बाटो खोल्ने उनको प्रतिबद्धता छ।
सहकारी क्षेत्रको समस्या भने अझ जटिल रहेको उनको बुझाइ छ। समस्याग्रस्त घोषणा गरिएका २३ वटा सहकारीको समस्या समाधानका लागि समिति बनाएर काम भइरहेको उनी बताउँछिन्।
भन्छिन्, ‘साना बचतकर्ताको बचत फिर्ता गर्न सुरु गरिसकेका छौं। ऋणीहरुको नाम सार्वजनिक गर्ने, सम्पत्तिको स्रोत पत्ता लगाउने काम भइरहेको छ। सहकारी संचालकहरु, फरार ऋणीहरुको खोजी लगायतमा सीआईबीसँग मिलेर काम गरिरहेका छौं।’
सहकारीको रकम उठाएर पीडितलाई फिर्ता गर्ने, सम्पत्ति भएका संस्थाको सम्पत्ति लिलाम गर्ने र मिलापत्रमार्फत समाधान सम्भव हुने विषयलाई अघि बढाउने काम भइरहेको उनी बताउँछिन्। ऋणीहरुको विवरण सार्वजनिक र बचतकर्ताले कति रकम फिर्ता पाए भन्ने जानकारी मन्त्रालयको वेबसाइटमा राखेर पारदर्शिता कायम गरेको उनी बताउँछिन्।
तर, सहकारीको कमजोर अभिलेख व्यवस्थापनले समस्या थप जटिल बनाएको उनको बुझाइ छ। कतिपय ऋणीले आफूले ऋण तिरिसकेको दाबी गरे पनि त्यसको प्रमाण सहकारीको सिस्टममा भेटिँदैन। आवश्यक कागजात नै नहुँदा रकम असुली र बचत फिर्ताको प्रक्रिया कठिन भएको उनको अनुभव छ।
पहिलेको सहकारी अध्यादेशमा रहेका अस्पष्टता हटाएर नयाँ व्यवस्थामार्फत जिम्मेवारी स्पष्ट पार्ने काम भइरहेको पनि उनी बताउँछिन्। उनका अनुसार नियमन, अनुगमन र सम्बन्धित निकायबीचको कार्यविभाजन प्रभावकारी नहुँदा विगतमा समस्या बढेको हो। अहिलेको प्राथमिकता समस्याग्रस्त सहकारीको रकम उठाएर पीडितलाई फिर्ता गर्नु र संकटतर्फ उन्मुख सहकारीलाई थप अनियन्त्रित हुन नदिनु रहेको उनी बताउँछिन्।

कर्मचारीतन्त्रमा सुधार, मन्त्रीको इच्छाशक्तिको परीक्षा
प्रतिभाका लागि प्रशासन सुधार अर्को महत्त्वपूर्ण जिम्मेवारी हो। उनी कर्मचारीतन्त्रलाई दोष दिएर मात्रै राज्य सञ्चालनका समस्या समाधान नहुने बताउँछिन्। विगतमा सरकारी कार्यालय धाउँदा नागरिकले भोगेको झन्झट र कर्मचारीको व्यवहारका कारण समग्र कर्मचारीतन्त्रप्रति नकारात्मक धारणा बनेको उनको बुझाइ छ।
त्यसैले पनि कर्मचारीतन्त्रमा व्यापक सुधार आवश्यक देख्छिन् प्रतिभा। उनका अनुसार स्थायी संयन्त्रका रूपमा रहेको कर्मचारी प्रशासन कुनै राजनीतिक दल वा व्यक्तिप्रति नभई राज्यप्रति उत्तरदायी हुनुपर्छ। अहिलेको सरकारले मन्त्रीलाई नाइ भन्न सक्ने कर्मचारी प्रशासन बनाउन चाहेको उनी बताउँछिन् ।
भन्छिन्, ‘ब्युरोक्रेसीमा ठूलो रिफर्म चाहिएको छ। यथास्थितिमा चल्नेवाला छैन। हामी अस्थायी हौं। ब्युरोक्रेसी भनेको स्थायी हो। त्यसैले हामीले ब्युरोक्रेसीलाई तटस्थ बनाउन चाहेका छौं। कुनै मन्त्रीले एम्बिसस भएर नहुने काम गरौं भन्छ भने कर्मचारीले हुँदैन भनेर रोक्न सकोस्। यो यो कारण मन्त्रीलाई नाइ भन्न सक्ने कर्मचारी हुनुपर्छ। यताबाट मिलाउँ उताबाट मिलाऔं भन्ने कर्मचारी हुनु हुँदैन।’
प्रतिभाको जोड कर्मचारीलाई राजनीतिक प्रभावबाट मुक्त राख्दै जिम्मेवारीअनुसार काम गर्ने वातावरण बनाउनमा छ। प्रशासनिक संयन्त्र पुरानै ढर्रामा चलिरहे राज्यका काम प्रभावकारी हुन नसक्ने उनको तर्क छ।
सरकारले मन्त्रालय मर्ज गर्ने, अनावश्यक संरचना घटाउने र आवश्यकताअनुसार कर्मचारी परिचालन गर्ने नीतिलाई पनि उनी प्रशासन सुधारकै हिस्सा मान्छिन्। लामो समय सिंहदरबारमा काम गरेका कर्मचारीलाई स्थानीय तहमा पठाउने र उपत्यकाबाहिर काम नगरेका कर्मचारीलाई बाहिर खटाउने निर्णयले असन्तुष्टि उत्पन्न हुनु स्वाभाविक भए पनि प्रशासनलाई पुरानै शैलीमा चलाउन नसकिने उनको भनाइ छ।

उनका अनुसार कर्मचारीलाई जिम्मेवारीबाट पन्छिने सुविधा हुनुहुँदैन, तर जिम्मेवारी निर्वाह गर्ने कर्मचारीलाई निष्पक्ष र राजनीतिक हस्तक्षेपमुक्त वातावरण पनि दिनुपर्छ।
निजामती कर्मचारीका ट्रेड युनियन खारेज गर्ने निर्णयको पनि उनी बचाउ गर्छिन्। उनका अनुसार दलगत प्रभावका कारण सरुवा, बढुवा र प्रशासनिक निर्णयमा समस्या उत्पन्न भएको थियो। कर्मचारीको हकहितका लागि बनेका संगठनहरू राजनीतिक प्रभावमा परेपछि प्रशासनको निष्पक्षतामै प्रश्न उठेको उनको तर्क छ।
निजामती सेवा विधेयकका विषयमा भने सदनमा छलफल गरेर जायज सुझाव समेट्दै अघि बढ्नुपर्ने उनी बताउँछिन्। कानुनलाई परिष्कृत गरेर कार्यान्वयन गर्न सके कर्मचारी प्रशासनलाई सही दिशामा लैजान सकिने उनको विश्वास छ।
जेनजी आन्दोलनको सन्दर्भमा पनि उनी राज्य सञ्चालनमा संलग्न सबै पक्षले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको आत्मसमीक्षा गर्नुपर्ने बताउँछिन्। कर्मचारी प्रशासनदेखि राजनीतिक नेतृत्वसम्मले आआफ्नो भूमिका सही ढंगले निर्वाह गरेको भए युवाहरू विद्रोहमा उत्रिनुपर्ने अवस्था नआउन सक्ने उनको तर्क छ।

जनताको विश्वासमाथि धोका दिने छुट छैन
प्रतिभा अहिलेको सरकारसँग काम गर्न पर्याप्त अवसर रहेको ठान्छिन्। विगतमा गठबन्धन सरकारमा रहँदा अन्य दलका प्राथमिकतासँग मिलेर अघि बढ्नुपर्ने बाध्यता रहेको उनको अनुभव छ।
अहिले एकल सरकार र संसद्मा बहुमतको अवस्था भएकाले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न नसक्ने बहाना बनाउन नमिल्ने उनको भनाइ छ।
भूमिहीनलाई लालपुर्जा वितरण गर्ने, सहकारी पीडितको रकम फिर्ता गर्ने र कर्मचारी प्रशासनलाई व्यवस्थित बनाउने काममा सरकारसँग निर्णय गर्ने अवसर रहेको उनी बताउँछिन्। उनी चाहन्छिन् ५ वर्षपछि आफूले गरेका कामको मूल्यांकन गर्दा जनताले निराश हुन नपरोस्।
‘त्यति नैतिकता मैले राख्नुपर्छ, जनताले दिएको विश्वासमा मलाई त्यो छुट छैन, मैले गर्नै पर्ने छ,’ उने भनिन्।

पत्रकारितामा रहँदा प्रश्न उठाउने प्रतिभा अहिले आफूले गरेका कामको जवाफ दिन तयार रहेको बताउँछिन्। मन्त्रालयका निर्णय, तिनका कारण र समाधानमा देखिएका अवरोधबारे आफू स्पष्ट रहेको उनको दाबी छ।
भन्छिन्, ‘मेले गरेका हरेक काम मेरो जिब्रोलाई थाहा छ, म हरेक कामको डिटेलिङ हेर्छु, मेरो नियत एकदमै सफा छ। मैले गरेका काम अनि गर्न खोजेर नसकेका काम र त्यसका भित्री कारणहरु सबैको जवाफ मसँग छ।’
प्रतिभाका लागि यो जिम्मेवारीको अन्तिम मूल्यांकन मन्त्री पदमा कति समय बसिन भन्ने होइन, पदमा रहँदा के गरिन भन्ने हो।

जनताको विश्वास जितेर आएको सरकारले काम गर्न नसकेको बहाना बनाउन नपाउने उनको निष्कर्ष छ।
भन्छिन्, ‘कार्यकाल सकिएर घर फर्केपछि ऐनामा हेर्दा आफूले गरेका कामप्रति सन्तुष्ट हुन सक्नुपर्छ। ऐनामा हेर्दा आफैंलाई भन्न सकुँ कि यो यो काम मैले राम्रो गरेँ।’









