२१ प्रतिशत ब्याजको ऋणदेखि शैक्षिक साम्राज्यसम्म, शैलजाको आँटले बदलिएको तीन दशक

टुना भट्ट
२०८३ असोज ३० गते ०९:०५ | Oct 16, 2026
२१ प्रतिशत ब्याजको ऋणदेखि शैक्षिक साम्राज्यसम्म, शैलजाको आँटले बदलिएको तीन दशक


काठमाडौं। २१ वर्षको उमेरमा कलेज खोल्ने योजना लिएर बैंक धाउँदा शैलजा अधिकारीले ऋण पाइनन्। व्यावसायिक योजनामाथि विश्वास गरेर लगानी गर्न कुनै पनि वाणिज्य बैंक तयार भएनन्। धेरैतिर धाइन, अन्ततः एउटा फाइनान्स कम्पनीले ऋण दिन सहमति जनायो। त्यसका लागि उनका बुबाले आफू बस्दै आएको घर धितो राख्नुपर्‍यो।

GBIME
Tata

वार्षिक २१ प्रतिशत ब्याजदरमा तीन वर्षका लागि लिएको २१ लाख रुपैयाँबाट उनले काठमाडौंको बागबजारमा फेसन कलेज सुरु गरिन्। पुँजी जुटाउनु जति कठिन थियो, नयाँ व्यवसायलाई समाजमा स्वीकार्य बनाउनु पनि उत्तिकै चुनौतीपूर्ण।

नेपालमा फेसन डिजाइनिङलाई व्यावसायिक शिक्षाका रूपमा बुझ्ने चलन स्थापित भइसकेको थिएन। फेसन पढाउने कलेजले समाजमा विकृति र छाडापन ल्याउँछ भन्ने सोचका कारण कम्पनीको नाममा ‘फेसन’ शब्द राख्नसमेत सहज भएन। एउटी युवतीको उद्यमशील योजनामाथि अविश्वास र नयाँ विषयप्रतिको सामाजिक पूर्वाग्रह दुवैसँग जुध्दै उनले आफ्नो यात्रा अघि बढाइन्।

‘म विद्यार्थीलाई भन्ने गर्छु, कसैका लागि पनि सित्तैमा काम नगर। तिम्रो सीप र सेवा तिम्रो व्यवसाय हो। ‘नो वर्क फर फ्री’ भन्ने मेरो मोटिभ हो। आफ्नो कामको मूल्य बुझ्नुपर्छ,’

अरूले जोखिम देखेको क्षेत्रमा उनले सम्भावना देखेकी थिइन्। त्यसैले सुरक्षित बैंकिङ जागिर छाडेर सन् १९९७ मा सुरु गरेको उद्यमलाई निरन्तरता दिइन्। आज उनको व्यावसायिक यात्रा फेसन तथा इन्टेरियर डिजाइनको शिक्षामा मात्र सीमित छैन। प्रारम्भिक बालशिक्षादेखि विद्यालय संचालनसम्म फैलिएको छ।

बैंकिङको सुरक्षित बाटो छाडेर आफ्नै बाटो

काठमाडौंको सामाखुसीमा जन्मिएकी शैलजाको बाल्यकालीन सपना बुबाजस्तै बैंकमा काम गर्ने थियो। उनका बुबाआमा दुवै बैंकिङ पेसामा थिए। बुबासँग बैंक जाँदा त्यहाँको अनुशासित वातावरण र व्यवस्थित कार्यशैलीले उनलाई आकर्षित गर्थ्यो। महेन्द्र भवन स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि उनले अस्कल क्याम्पसमा बीएससी अध्ययन पूरा गरिन्। त्यसपछि दिल्लीमा कम्प्युटर साइन्स र फेसन डिजाइनिङ अध्ययन गरेर नेपाल फर्किइन्।

ग्रिनलेज बैंकमा जागिर पाएपछि उनको बाल्यकालको सपना पूरा भयो। तर, बैंकमा काम गर्न थालेपछि उनले कल्पना गरेको व्यावसायिक जीवन र आफ्नो रुचिबीचको अन्तर महसुस गर्न थालिन्। सिर्जनशीलता, सौन्दर्यबोध र नयाँपनमा रमाउने उनलाई एउटै प्रकृतिको काममा सीमित रहन कठिन भयो।

‘आमाबुवा दुवै बैंकर हुनुहुन्थ्यो। बुबासँग अफिस जाँदा म पनि यसरी नै बैंकमा काम गर्न आउँछु भन्ने लाग्थ्यो। त्यो सपना पूरा पनि भयो, तर बैंकमा एकोहोरो काम गर्दा मेरो मन अडिएन,’ उनी आफ्नो सुरुवाती दिन सम्झन्छिन्।

स्थिर आम्दानी र सुरक्षित भविष्यको सम्भावना भएको जागिर छाडेर व्यवसायमा लाग्ने निर्णय सहज थिएन। परिवार र आफन्तमध्ये कतिपयले उनको योजनाप्रति आशंका व्यक्त गरे। तर, बुबाआमाले साथ दिए।

बुबाको एउटा भनाइले उनलाई जोखिम लिन हौसला दियो – ‘जीवनमा जोखिम नलिनु पनि जोखिम नै हो, त्यसैले आँट गरेपछि अगाडि बढ्नुपर्छ, तिमी अघि बढ।’

बुबाको यही सन्देशलाई आत्मसात् गर्दै उनले आफूले अध्ययन गरेको फेसन र इन्टेरियर डिजाइनिङलाई व्यवसायमा रूपान्तरण गर्ने निर्णय गरिन्। त्यसबेला उनको लक्ष्य स्थापित बजारमा प्रतिस्पर्धा गर्नेभन्दा पनि आफूले देखेको सम्भावनालाई बजारसम्म पुर्‍याउनु थियो।

२१ लाख ऋण र दोहोरो जिम्मेवारी

सन् १९९७ मा बागबजारमा आईईसी कलेज स्थापना गर्दा शैलजा भर्खर २१ वर्षकी थिइन्। परिवारमा कोही पनि व्यवसायमा संलग्न नभएको अवस्थामा शैक्षिक संस्था संचालन गर्नु उनका लागि नयाँ अनुभव थियो। व्यवसाय सुरु गर्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन खोज्दा वाणिज्य बैंकहरू उनको योजनामा विश्वस्त हुन सकेनन्।

‘कलेज सुरु गर्न ऋण लिन जाँदा ए क्लास बैंकहरूले ऋण दिएनन्। एउटा फाइनान्स कम्पनीले मेरो योजना सुनेर ऋण दिन तयार भयो। २१ प्रतिशत ब्याजदरमा तीन वर्षका लागि २१ लाख रुपैयाँ ऋण लिएँ। बुबाले आफू बस्ने घर धितो राखेर ऋण लिनुभयो,’ उनी भन्छिन्।

ऋण जुटेपछि पनि उनको संघर्ष सकिएन। कलेजलाई व्यवस्थित रूपमा संचालन गर्न सक्ने अवस्था नबन्दासम्म उनले बैंकको जागिर र आफ्नै व्यवसाय दुवैलाई सँगसँगै अघि बढाइन्। बिहान ७ बजे बागबजारस्थित कलेज पुगेर पढाउने, व्यवस्थापन हेर्ने र दैनिक काम सम्हाल्ने उनको दिनचर्या थियो। बिहान ९ बजे बैंक पुगेर साँझ ५ बजेसम्म काम गरेपछि उनी फेरि कलेज फर्कन्थिन्। राति १० बजेसम्म कलेजकै काममा व्यस्त रहन्थिन्।

कलेजका कम्प्युटर बिग्रिए आफैं बनाउनेदेखि विद्यार्थीलाई पढाउने र संस्थाको दैनिक संचालनसम्मका जिम्मेवारी उनले सम्हालिन्। पाँच महिनासम्म दुवैतिर काम गरेपछि कलेजलाई व्यवस्थित रूपमा अघि बढाउन सक्ने विश्वास लाग्यो। त्यसपछि मात्र उनले बैंकको जागिर छाडेर पूर्णकालीन रूपमा व्यवसायमा ध्यान दिइन्।

ग्रिनलेज बैंकमा काम गर्दा सिकेको कर्पोरेट संस्कृति, अनुशासन र समर्पणले व्यवसाय संचालनमा सहयोग गरेको उनी बताउँछिन्। त्यसबेलाका सहकर्मी गोरखशमशेर, अनुपमा खुञ्जेली र अनिल शाहसँगको सहकार्यबाट पनि व्यावसायिकता सिक्ने अवसर पाएको उनी सम्झना गर्छिन्।

फेसन पढेर पनि करिअर बनाउन सकिन्छ?

आज फेसन डिजाइनिङलाई पेसा, करिअर र व्यवसायसँग जोडेर हेर्ने अवस्था बनेको छ। तर, तीन दशकअघि नेपालमा यसको औपचारिक शिक्षाप्रति अभिभावक र समाजको बुझाइ फरक थियो। फेसन पढेर भविष्य बनाउन सकिन्छ भन्ने विश्वास दिलाउनै कठिन थियो।

‘त्यतिबेला फेसनको पनि पढाइ हुन्छ र, इन्टेरियर डिजाइन पनि गरिन्छ भन्ने अवस्था थियो। यो पढेर के फाइदा हुन्छ, यसैलाई पेसा बनाउन सकिन्छ र भन्ने प्रश्न अभिभावकबाट आउँथ्यो। उहाँहरूलाई एक–एक घण्टा काउन्सिलिङ गरेर बुझाउनुपर्ने अवस्था थियो,’ शैलजा भन्छिन्।

सामाजिक सोचसँगै प्रशासनिक अवरोध पनि थियो। फेसनलाई सिर्जनात्मक शिक्षाका रूपमा भन्दा विकृति र छाडापनसँग जोडेर हेर्ने प्रवृत्तिले कम्पनी दर्तामै समस्या सिर्जना गर्‍यो।

‘त्यो बेला घरेलुमा कम्पनी दर्ता गर्नुपर्थ्यो। फेसन शब्द राख्न दिनुभएन। फेसन पढाएर विकृति र छाडापन आउँछ भन्ने बुझाइ थियो। त्यसपछि आईईसी आर्ट एन्ड फेसनलाई आईईसी एसएएफका रूपमा दर्ता गराएँ। फेसन र इन्टेरियरबारे बुझाएर बल्ल दर्ता गर्न सकेँ। पछि कलेज अफ फेसनका रूपमा अगाडि बढाएँ,’ उनी भन्छिन्।

दक्ष शिक्षकको अभाव भएपछि उनले भारतबाट शिक्षक ल्याएर पढाइ सुरु गरिन्। आफूले सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै फेसन र कम्प्युटरका कक्षा पनि लिइन्। समय बित्दै जाँदा आईईसीबाट अध्ययन पूरा गरेका विद्यार्थी नै दक्ष भएर त्यहीँ अध्यापन गर्न थाले।

आईईसीले फेसन र इन्टेरियर डिजाइनको औपचारिक शिक्षालाई विस्तार गर्न भूमिका खेल्यो। त्यहाँ अध्ययन गरेका विद्यार्थीले आफ्नै ब्रान्ड स्थापना गर्न थाले, नेपाली फेसन बजारमा पहिचान बनाए र इन्टेरियर डिजाइनका क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गरे। शैलजाले नेपाल फेसन वीकलगायत गतिविधिमार्फत विद्यार्थीलाई प्रोत्साहित गरिन्।

‘मैले हरेक दिन लगाउने कपडा मेरा विद्यार्थीले डिजाइन गरेका हुन्छन्। नेपालका चर्चित फेसन ब्रान्डहरूमा मेरा विद्यार्थी छन्। कतै इन्टेरियर डिजाइन गर्नुपर्‍यो भने पनि मेरा विद्यार्थी भेटिन्छन्। यो सबै देख्दा सही समयमा सही निर्णय गरेछु भन्ने लाग्छ,’ उनी भन्छिन्।

उनका अनुसार अहिले आईईसीमा करिब ६०० विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीलाई सीप सिकाउनुका साथै आफ्नो कामको मूल्य बुझ्ने र त्यसबाट व्यावसायिक रूपमा आत्मनिर्भर बन्ने बनाउनु उनको शिक्षण दृष्टिकोणको महत्त्वपूर्ण पक्ष हो।

‘म विद्यार्थीलाई भन्ने गर्छु, कसैका लागि पनि सित्तैमा काम नगर। तिम्रो सीप र सेवा तिम्रो व्यवसाय हो। ‘नो वर्क फर फ्री’ भन्ने मेरो मोटिभ हो। आफ्नो कामको मूल्य बुझ्नुपर्छ,’ उनी भन्छिन्।

निजी क्षेत्रलाई शंकाको दृष्टिले हेर्नुभन्दा रोजगारी सिर्जना र अर्थतन्त्रमा योगदान गर्न सक्ने साझेदारका रूपमा प्रोत्साहन गर्नुपर्छ

आफ्नै समस्याबाट अर्को व्यवसायको जन्म

फेसन शिक्षामा स्थापित हुँदै गर्दा शैलजाको व्यावसायिक यात्राले अर्को मोड लियो। विवाहपछि सन्तान जन्मिएसँगै कामकाजी महिलाका लागि बालबालिकाको हेरचाह कति चुनौतीपूर्ण हुन्छ भन्ने उनले आफैं अनुभव गरिन्। छोरी जन्मिएको १३ दिनपछि नै काममा फर्किनुपरेको घटनाले बालबालिकाको सुरक्षित हेरचाह र प्रारम्भिक शिक्षाका लागि व्यवस्थित केन्द्रको आवश्यकता अझ स्पष्ट बनायो।

आफ्नै अनुभवलाई उनले नयाँ व्यवसायको सम्भावनाका रूपमा हेरिन्। पहिलो सन्तान जन्मिएपछि प्रारम्भिक बालशिक्षाका अभ्यास बुझ्न भारत र सिंगापुर गइन्। भारतमा मन्टेसरी तालिम लिइन् र सिंगापुरको शिक्षण पद्धति तथा बाल हेरचाह प्रणालीबाट प्रभावित भइन्। बालबालिकाको सिकाइको जग प्रारम्भिक उमेरमै तयार हुने भएकाले त्यसमा सम्झौता गर्न नहुने उनको बुझाइ बन्यो।

यही सोचका आधारमा उनले सन् २००७ मा नेपालमा युरो किड्स भित्र्याइन्। विदेशमा प्रचलित अभ्यासलाई जस्ताको तस्तै नक्कल गर्नुको सट्टा नेपाली अभिभावकको आवश्यकता र स्थानीय परिवेशअनुसार सेवा विकास गर्ने योजना बनाइन्। बालबालिकालाई विद्यालयमा छाडेर अभिभावक ढुक्कसँग काममा जान सक्ने वातावरण बनाउनु उनको प्राथमिकता थियो।

‘अभिभावकले बिहान बच्चालाई तयार पारिदिएपछि विद्यालयको गाडी लिन आओस्, बच्चालाई खाजा र खाना दिइयोस्, हेरचाहसँगै सिकाइ पनि होस् र दिनको अन्त्यमा सुरक्षित रूपमा घर पुर्‍याइयोस् भन्ने थियो। यसैअनुरूप देशअनुसारको भेष गरेर नेपाली अभिभावकको आवश्यकताअनुसार सेवा सुरु गरेँ,’ उनी भन्छिन्।

टंगालमा युरो किड्स संचालन गर्दा यातायात, खानपान, हेरचाह र सिकाइलाई एउटै प्रणालीमा समेटियो। अभिभावकको सुझाव र मागलाई ध्यानमा राख्दै उनले सन् २००८ मा युरो स्कुल सञ्चालनमा ल्याइन्। यससँगै उनको व्यवसाय प्रारम्भिक बालशिक्षाबाट विद्यालय शिक्षासम्म विस्तार भयो।

एउटा कलेजबाट शैक्षिक इकोसिस्टम

आईईसी, युरो किड्स र युरो स्कुलको विस्तार शैलजाका लागि व्यवसायको आकार बढाउने विषयमा मात्र सीमित रहेन। फरक उमेर र आवश्यकता भएका विद्यार्थीलाई शिक्षाका विभिन्न चरणमा अवसर उपलब्ध गराउने संरचना तयार भयो। युरो किड्समा अध्ययन गरेका बालबालिका युरो स्कुल हुँदै पछि आईईसीसम्म पुग्न थाले। उनी यसलाई संस्थाहरूबीच विकसित भएको विश्वासको सम्बन्धका रूपमा हेर्छिन्।

एउटा फेसन शोमा भएको भेटले उनलाई यो सम्बन्धको महत्त्व अझ गहिरो गरी महसुस गरायो। त्यहाँ भेटिएकी अभिभावक आफैं पहिले उनकी विद्यार्थी थिइन् र उनकी छोरी पनि शैलजाकै शैक्षिक संस्थामा अध्ययनरत थिइन्।

‘उहाँले आफ्नो बच्चाले “मामु, हजुरको र मेरो प्रिन्सिपल एउटै हुनुहुन्छ है” भनेको प्रसंग सुनाउनुभयो। त्यो सुन्दा निकै भावुक भएँ। यो विश्वासले बनेको इकोसिस्टम हो,’ उनी भन्छिन्।

एउटा व्यवसायबाट भएको आम्दानीलाई अर्को क्षेत्रमा लगानी गर्दै जाँदा नयाँ अवसर सिर्जना हुने उनको अनुभव छ। त्यसैले कमाइलाई उपभोगमा मात्र खर्च नगरी सम्पत्ति र व्यवसाय विस्तारमा लगाउनु आवश्यक ठान्छिन्। ‘पैसाले पैसा तान्छ भन्ने मेरो बुझाइ हो। कमाइलाई फेरि एसेटमै लगाउँदै गएपछि त्यसले अर्को अवसर सिर्जना गर्छ। पैसा व्यवस्थापन गर्ने कुरा मैले बुबाबाट सिकेकी हुँ,’ उनी भन्छिन्।

महिला नेतृत्वदेखि शिक्षा सुधार

व्यवसाय सुरु गर्दादेखि नै शैलजाले वित्तीय संस्था र बजारमा आफ्नो क्षमतामाथि विश्वास स्थापित गर्नुपर्ने चुनौती सामना गरिन्। विशेषगरी ऋण लिन खोज्दा महिला भएकै कारण आफ्नो योजनामाथि पर्याप्त विश्वास नगरिएको महसुस हुने उनी बताउँछिन्। तर, त्यसलाई यात्राको अवरोध बन्न दिइनन्।

तीन दशकको व्यावसायिक जीवनमा शिक्षा र सिर्जनात्मक उद्योगमा पहिचान बनाएकी उनले सन् २०१३ मा बेस्ट वुमन इन्टरप्रेनर र सन् २०२२ मा ग्लोबल वुमन एचिभर्स अवार्डलगायत सम्मान प्राप्त गरेकी छन्। नेपाल सरकारबाट राष्ट्रिय नारी सम्मानसमेत पाएकी उनले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङमा स्नातकोत्तर र शैक्षिक प्रशासनमा विद्यावारिधि गरेकी छन्।

शिक्षा क्षेत्रमा उनको चासो आफ्ना संस्था संचालनमा मात्र सीमित छैन। नेपाली विद्यार्थीले प्लस टु सकिनेबित्तिकै विदेश जानेभन्दा नेपालमै स्नातक तह पूरा गरेर सीप र अनुभव हासिल गर्ने अवसर पाउनुपर्ने उनको धारणा छ। नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा, व्यावसायिक सीप र रोजगारीका अवसर विस्तार गर्नुपर्ने उनी बताउँछिन्।

इन्टरनेसनल एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आईईप्यान) सँग आबद्ध भएर उनी शिक्षा नीतिमा सुधार, निजी क्षेत्रको लगानी र व्यावसायिक शिक्षाको विस्तारका विषयमा पनि सक्रिय छिन्। अटिस्टिक तथा अन्य सिकाइसम्बन्धी विशेष आवश्यकता भएका बालबालिकाका लागि समावेशी शिक्षा र सीपमूलक कार्यक्रम विकास गर्नुपर्नेमा उनको जोड छ।

‘अक्सफोर्ड विश्वविद्यालयमा पढ्ने विद्यार्थीले त्यहीँबाट नेपालका लागि काम गर्न सकोस्। कर्णालीका विद्यार्थी कर्णालीमै बसेर अन्तर्राष्ट्रिय कम्पनीका लागि काम गर्न सकोस्। युवाले स्वदेशमै बसेर नयाँनयाँ क्षेत्रमा लगानी गर्ने वातावरण बन्नुपर्छ,’ उनी भन्छिन्।

सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै शिक्षा प्रणालीलाई समयसापेक्ष बनाउन सकिने उनको विश्वास छ। निजी क्षेत्रलाई शंकाको दृष्टिले हेर्नुभन्दा रोजगारी सिर्जना र अर्थतन्त्रमा योगदान गर्न सक्ने साझेदारका रूपमा प्रोत्साहन गर्नुपर्ने उनी बताउँछिन्।

बजार पर्खिने होइन, बजार बनाउने

शैलजाको उद्यमशील यात्राको मुख्य विशेषता नयाँ आवश्यकता पहिचान गरेर त्यसलाई व्यवसायमा रूपान्तरण गर्नु हो। फेसन डिजाइनिङको सम्भावना स्थापित नभएको समयमा कलेज खोल्नु होस् वा कामकाजी अभिभावकका लागि व्यवस्थित प्रारम्भिक बालशिक्षा सेवा विकास गर्नु, उनले प्रचलित बजारको सीमाभन्दा बाहिर सम्भावना खोजिन्।

उनको अनुभवमा व्यवसाय सुरु गर्न ठूलो पुँजी वा तयार बजार नै चाहिन्छ भन्ने छैन। आवश्यकता पहिचान गर्ने दृष्टि, जोखिम लिन सक्ने आँट र निरन्तर मेहनतले पनि नयाँ बजार निर्माण गर्न सकिन्छ। तर, सम्भावना देख्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई स्थापित गर्न धैर्य र निरन्तरता पनि आवश्यक हुन्छ।

सुरुवाती वर्षको संघर्ष सम्झँदै उनी भन्छिन्, ‘मैले कम्पनीलाई लयमा लैजान आठ–नौ वर्ष लाग्यो। अहिले उद्यमीका लागि प्रशस्त सम्भावना र अवसर छन्। अरूको नक्कल गर्नुभन्दा नयाँ माग सिर्जना गरेर ट्रेन्ड सेट गर्न सक्नेहरूका लागि बजारमा धेरै अवसर छन्। बजार पर्खने होइन, बजारमा माग आफैं सिर्जना गर्ने हो।’