काठमाडौं। माउन्टेन इनर्जी नेपालले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ १.०५ प्रतिशत नदग लाभांश दिने निर्णय गरेको हो।
विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी १३औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।
कम्पनीले कात्तिक २० गते साधारण सभा बोलाएको छ। साधारण सभा प्रयोजनका लागि कात्तिक १० गते बुक क्लोज मिति तोकिएको छ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा समान १५ प्रतिशत तथा आर्थिक वर्ष २०८१/८२ मा २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको कम्पनीले सहायक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनीमार्फत मनाङमा ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजना बनाउन थालेको छ। आयोजनाका लागि गत साउनमा वित्तीय व्यवस्थापन भइसकेको छ।









