चल्तीकै सपिङ मलमा घटे किनमेल गर्ने ग्राहक, छुटको अफर ल्याउँदा पनि छैन अपेक्षित व्यापार

सरला सुवेदी
२०८३ असोज २७ गते १९:५६ | Oct 13, 2026
चल्तीकै सपिङ मलमा घटे किनमेल गर्ने ग्राहक, छुटको अफर ल्याउँदा पनि छैन अपेक्षित व्यापार


काठमाडौं। कुनै समय चाडपर्व होस् वा सामान्य दिन, सपिङ मलमा किनमेल गर्ने ग्राहकको चहलपहल बाक्लै हुन्थ्यो। ब्रान्डेड सामान, एउटै छानामुनि विभिन्न पसल, रेस्टुरेन्ट र फिल्म हलको सुविधाले मललाई किनमेल र मनोरञ्जनको आकर्षक गन्तव्य बनाएको थियो। तर पछिल्लो समय मलमा मानिसको आउजाउ बाक्लै देखिए पनि सामान किनमेल गर्ने ग्राहक घट्दै गएको व्यवसायीहरुको अनुभव छ।

GBIME
Tata

काठमाडौंमा सिभिल मल, काठमाडौं मल, युनाइटेड वर्ल्ड ट्रेड सेन्टर, लबिम मल, सिटी सेन्टर र पिपुल्स प्लाजाजस्ता सपिङ मल कुनै समय ग्राहकको रोजाइमा पर्थे। अहिले उपत्यकाका विभिन्न ठाउँमा नयाँ मल र पसल विस्तार भएका छन्। ग्राहकलाई किनमेलका लागि टाढा पुग्नुपर्ने बाध्यता छैन। त्यसको असर पुराना मलको व्यापारमा देखिन थालेको व्यवसायीहरू बताउँछन्।

मलभित्रका फिल्म हल, रेस्टुरेन्ट र फुड स्टलमा ग्राहकको चहलपहल देखिए पनि कपडा तथा अन्य सामान बिक्री गर्ने पसलमा भने कारोबार अपेक्षाअनुसार हुन सकेको छैन। व्यापार सुस्ताएको स्वीकार गर्ने मल सञ्चालकहरू तत्कालै मल बन्द गर्नुपर्ने अवस्था भने आइनसकेको बताउँछन्।

सुन्धारास्थित सिभिल मलका महाप्रबन्धक विश्वप्रकाश मास्केका अनुसार मलको संख्या बढेसँगै ग्राहक विभिन्न ठाउँमा बाँडिएका छन्। पहिले उपत्यकामा सीमित मल हुँदा ग्राहकको आकर्षण निश्चित गन्तव्यमा केन्द्रित हुन्थ्यो। अहिले घरनजिकै किनमेल गर्न सकिने विकल्प बढेका छन्।

‘मलहरू संकटमा गइसकेका छैनन्। ग्राहक कम हुँदा कारोबार घटेको हो। तर व्यापार हुँदै भएन भनेर चित्त नबुझाउने अवस्था आइसकेको छैन,’ मास्केले भने। उनका अनुसार सिभिल मलमा भने गत वर्षको तुलनामा यस वर्ष व्यापार राम्रो भएको छ।

मास्केले मलको व्यापारमा युवा ग्राहकको कमीलाई पनि एउटा कारण मानेका छन्। मलमा किनमेल गर्ने प्रमुख समूहमा पर्ने युवापुस्ता विदेश पलायन हुँदा त्यसको असर कारोबारमा परेको उनको भनाइ छ। ब्रान्डेड सामानको मूल्य तुलनात्मक रूपमा महँगो हुने भएकाले पनि ग्राहकले खरिद गर्नुअघि मूल्यमा बढी ध्यान दिन थालेका छन्। पसलहरूले छुट र विशेष अफर ल्याउँदा भने ग्राहकको आकर्षण बढ्ने गरेको उनले बताए।

मलमा फिल्म हल सञ्चालन हुँदैमा त्यहाँका पसलको व्यापार बढ्छ भन्ने पनि छैन। अहिले विभिन्न मलमा क्युएफएक्स लगायतका फिल्म हल सञ्चालनमा छन्। दर्शक फिल्म हेर्न, रेस्टुरेन्टमा खान वा फुड स्टलमा जान मल पुग्छन्, तर सबैले सामान खरिद गर्दैनन्। त्यसैले मलको फुटफल र पसलको कारोबारबीच सधैं समानुपातिक सम्बन्ध नहुने व्यवसायीहरूको अनुभव छ।

बानेश्वरस्थित आइप्लेक्सका प्रमुख कार्यकारी अधिकृत दीपक थापा भने मलको व्यापारमा स्थानको महत्त्व बढी हुने बताउँछन्। उनका अनुसार राम्रो लोकेसनमा रहेका मलमा ग्राहकको आकर्षण कायम रहन सक्छ। तर मलको संख्या बढ्नु, आर्थिक समस्या र पछिल्लो समय बाढीपहिरो लगायतका घटनाले व्यापार व्यवसाय प्रभावित हुनुजस्ता कारणले ग्राहकको खर्च गर्ने क्षमतामा असर परेको छ।

‘ठाउँअनुसार मलमा व्यापार हुने गरेको छ। पछिल्लो समय विभिन्न ठाउँमा राम्रा पसलहरू खुलिरहेका छन्। मलको संख्या पनि बढ्दै गएको छ,’ थापाले भने। उनका अनुसार समग्र आर्थिक गतिविधि सुस्त हुँदा सपिङ मलमा हुने खर्च पनि प्रभावित हुन सक्छ।

सिटी सेन्टरका लिज म्यानेजर कृष्ण भट्टराईका अनुसार मलमा किनमेल गर्न जाने ग्राहकको आर्थिक हैसियत र सामानप्रतिको रुचि फरक हुन्छ। ब्रान्डेड सामान खोज्ने र त्यसका लागि बढी मूल्य तिर्न तयार हुने ग्राहक मलमा जाने गर्छन्। तर आयस्रोत कमजोर हुँदा यस्ता सामानमा खर्च गर्ने ग्राहकको संख्या घट्न सक्छ।

‘मलमा जाने ग्राहक फरक हुन्छन्। आयस्रोत राम्रो हुँदा मलमा सपिङ गर्न जाने हो,’ भट्टराईले भने, ‘पहिलेदेखि सामान किनिरहेका ग्राहकले त्यहीँ किन्छन्। मलमा कम मूल्यको सामान पाइन्छ भनेर जाने होइन, ब्रान्डका सामानको मूल्य महँगो हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि खरिद गर्ने ग्राहक हुन्छन्।’

उनका अनुसार ग्राहकलाई पायक पर्ने ठाउँमा नयाँ मल र पसल खुल्दा पुराना मलमा आउने ग्राहकको संख्या घटेको हो। मलमा समयअनुसार छुट र सेल चलिरहने भएकाले केही ग्राहक यस्ता अफरको प्रतीक्षामा पनि हुन्छन्। व्यापार सुस्त भए पनि व्यवसायीले भाडा तिरेर पसल सञ्चालन गरिरहेकाले मल नै बन्द गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरे पनि मलमा व्यापार सोचेजस्तो हुन नसकेको बताउँछन्। उनका अनुसार बजार विस्तारसँगै प्रतिस्पर्धा बढेको छ। बस्ती विस्तार भएका टोलटोलमा पसल खुल्दा ग्राहकलाई किनमेलका लागि ठूला मलसम्म पुग्नुपर्ने आवश्यकता घटेको छ। अर्कोतर्फ, आयस्रोत कमजोर हुँदा ब्रान्डेड सामानमा खर्च गर्ने ग्राहक पनि सीमित हुँदै गएका छन्।

‘मलमा आएर खर्च गर्ने वर्ग, विशेषगरी युवा, पहिले जस्तो छैनन्। आयस्रोत राम्रो नहुँदा मलमा खर्च गर्न आउने जमात घटिरहेको छ,’ घिमिरेले भने। यद्यपि व्यापार घटेकै कारण मल बन्द गर्नुपर्ने अवस्था भने नरहेको उनको भनाइ छ। पसलमा व्यवसायी आउनेजाने क्रम चलिरहे पनि मलमा पसल सञ्चालन गर्न व्यवसायी नै नपाउने अवस्था नरहेको उनले बताए।

अहिले ग्राहकको रोजाइमा मूल्यले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ। महँगो ब्रान्डेड सामानभन्दा सस्तो विकल्प खोज्ने प्रवृत्ति बढ्दा मलका पसलले ग्राहक आकर्षित गर्न छुट र सेलमा निर्भर हुनुपरेको छ। तर ५० प्रतिशत छुट दिँदा पनि सबै मध्यमवर्गीय ग्राहकले सामान किन्न सक्ने अवस्था छैन। त्यसैले केही व्यवसायीले पसलमा राखिएका सामानका तस्बिर र भिडियो अनलाइनमार्फत सार्वजनिक गरेर बिक्री गर्ने गरेका छन्।

मलमा मानिसको चहलपहल कायम रहनु र पसलको कारोबार बढ्नु एउटै कुरा होइन। ग्राहकका लागि विकल्प बढ्नु, खर्च गर्ने क्षमतामा दबाब पर्नु र मूल्यप्रतिको संवेदनशीलता बढ्नुले मलको पुरानो व्यापार शैलीलाई चुनौती दिएको छ। मलहरू तत्काल बन्द हुने अवस्थामा नपुगे पनि ग्राहकलाई भित्र्याउने मात्र होइन, सामान किनमेलका लागि प्रोत्साहित गर्न पनि चुनौती बढेको व्यवसायीहरुको अनुभव छ।