‘एनपीएलको सफलताले अर्थतन्त्रसम्मै प्रभाव पार्छ, बिडिङ पारदर्शी हुँदा कल्पनाभन्दा बढी रकम उठ्यो’

बिजमाण्डू
२०८३ असोज २७ गते १७:४५ | Oct 13, 2026
‘एनपीएलको सफलताले अर्थतन्त्रसम्मै प्रभाव पार्छ, बिडिङ पारदर्शी हुँदा कल्पनाभन्दा बढी रकम उठ्यो’


एनपीएलको तेस्रो संस्करणसँगै नेपाली क्रिकेटसामु लिग-२ को अन्तिम सिरिज, ओडीआई स्ट्याटसको संघर्ष, महिला अन्डर-१९ विश्वकपको आयोजना र सम्भावित प्लेअफजस्ता ठूला चुनौती र अवसर छन्। नेपाली क्रिकेट टोलीले हाल ओमनमा लिग-२ को अन्तिम सिरिज खेलिरहेको छ। सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई हराए पनि शीर्ष चारमा पर्ने सम्भावना छैन, तर एकदिवसीय मान्यता जोगाउनुपर्ने दबाब छ।

GBIME
Tata

व्यावसायिक विस्तारलाई दिगो विकासमा बदल्न क्यानले आम्दानी, पूर्वाधार र ग्रासरुट क्रिकेटबीच कस्तो सन्तुलन कायम गर्न सक्छ भन्ने प्रश्न अहिले महत्त्वपूर्ण बनेको छ। नेपाली क्रिकेटमा अब लिग-२, एनपीएल, यू-१९ विश्वकप र प्लेअफसँगै तेस्रो संस्करणसम्म आइपुग्दा एनपीएलले ह्वात्तै गति लिएको छ। नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सदस्य तथा एनपीएल मोनिटरिङ कमिटीका सदस्य प्रदीप मजगैयालाई बिजमाण्डूका मुकुन्द घिमिरेले सोधे- एनपीएलअघि राष्ट्रिय टोलीले लिग-२ को अन्तिम सिरिज खेलिरहेको छ। तत्कालै हेर्दा नेपाली क्रिकेटमा एनपीएल, अन्डर-१९ विश्वकप, लिग-२ को अन्तिम सिरिज, प्लेअफ गरी चारवटा प्रतियोगिता नजिकिँदै छन्। नेपालका लागि अहिले सबैभन्दा महत्त्वपूर्ण कुन हो?

वास्तवमा यी चारवटै प्रतियोगिता नेपालको सन्दर्भमा निकै महत्त्वपूर्ण छन्। तर, हाम्रो भविष्यसँग जोडिएको प्रतियोगिता चाहिँ लिग-२ नै हो। अहिले नेपाल टोलीको जुन किसिमको प्रदर्शन भएको छ, हामी विश्वकप क्वालिफायरका लागि मात्र होइन, आफ्नो स्ट्याटस जोगाउनैपर्छ भनेर गम्भीर हुनुपर्ने बेलामा पुगेका छौँ। त्यसैले लिग-२ मा राम्रो प्रदर्शन गर्नुपर्ने, त्यसैमा बढी फोकस हुनुपर्ने हो। नेपाल क्रिकेटको भविष्यसँग जोडिएको विषय म चाहिँ अहिले लिग-२ नै मान्छु।

तर हामीले त्यसलाई कति प्राथमिकता दिएका छौं भन्नेमा प्रश्न छ। लिग-२ लाई कति प्राथमिकता दिइएको छ? टोलीको म्यानेजर बन्न चर्को लबिङ चल्छ, अन्तिममा कोही जाँदैन भन्ने सुनिन्छ। यसको खराब नतिजासँग पनि सम्बन्ध छ? क्यानमा खासमा के हुन्छ?

नेपालका खेलकुद संघसंस्थामध्ये नेपाल क्रिकेट संघ सबैभन्दा बढी चर्चा बटुलेको, नेपाललाई विश्वमा चिनाउन सफल भएको र हामीलाई खुसी दिने माध्यम हो। यस्तो ठूलो संस्थाभित्र तपाईंले भनेजस्ता लबिङ र अवसरका कुरा आउनु स्वाभाविक हो। तर ती कुराले हाम्रो क्रिकेट र त्यसको प्रदर्शनमा फरक पार्छ भन्ने कुरा चाहिँ निकै अप्ठ्यारो कुरा हो। त्यसमा हामी सचेत छौँ। हामी पहिलेदेखि नै नेपाल क्रिकेट संघको एउटा म्यानेजर फिक्स हुनुपर्छ, पर्मानेन्ट म्यानेजर हुनुपर्छ भन्दै आएका छौँ।

एसिया कपमा जाँदा म त्यतिबेला बोर्डमा थिइनँ, तर एउटा जिम्मेवारीका हिसाबले जाँदा मैले आफ्नो रिपोर्टमा स्पष्टसँग भनेको थिएँ – म्यानेजर फिक्स हुनुपर्छ, कम्तीमा पर्मानेन्ट वा लजिस्टिक म्यानेजर टिमसँग स्थायी रूपमा चाहिन्छ। पछिसम्म पनि हामी त्यही लबिङमा छौँ। तपाईंले भनेजस्तो म्यानेजरको विषयमा बोर्डमा लडाइँ पर्‍यो भन्ने कुरा त्यति उपयुक्त पनि हुँदैन, त्यो होइन पनि। तर अवसर लिन खोज्ने, सिक्न जाउँ भन्ने चाहना अधिकांश साथीहरूमा चाहिँ छ।

यसमा मैले तुलना नै गरेँ। तीनपटक टी-२०मा विश्वकप खेल्यौं, एनपीएल तेस्रो संस्करण पुगिसकेका छौँ। तर ओडीआईमा संघर्ष गर्नुपरेको छ। खेलाडी र बोर्ड एउटै हुँदा यस्तो फरक किन?

वास्तवमा हामी बढ्दो राष्ट्र हौं, क्रिकेटका लागि पनि र आर्थिक हिसाबले पनि संघर्ष गरिरहेको राष्ट्र हौं। सरकारले आर्थिक सहयोग गरिरहेको अवस्था पनि छैन। आर्थिक हिसाबले अहिले टी-ट्वेन्टी अलि सजिलो पनि छ, जिल्लाहरूमा खेलिँदा पनि सजिलो हुन्छ, र कमर्सियल क्रिकेटतर्फ पनि गयो।

एकातिर हामी आर्थिक रूपमा पैसाको जोहो गर्नुपर्ने अवस्थामा बोर्ड, खेलाडी, स्टेकहोल्डर र ग्रासरुटबाटै आएका क्लबहरू छौं। तपाईंले भनेजस्तै मल्टिडेज क्रिकेट हुनुपर्छ भनेर हामीले कार्यक्रम बनाउँछौँ, लबिङ गर्छौँ। तर टुर्नामेन्टहरू हुँदा ग्रासरुटमा पनि मल्टिडेजभन्दा टी-ट्वेन्टीकै बढी, अझ टी-टेन र सुपर सिक्सका कुरा बढी फोकस हुन थाल्यो। त्यसमा मनोरञ्जन छ, पैसाका कुरा पनि सजिलो छन्, खर्च कम हुन्छ, त्यसैले फोकस त्यतातिर भएको हो।

तर तपाईंले भनेका कुरा हामीले बारम्बार उठाइरहेका छौं र हामी सिरियस हुनुपर्ने कुरा मल्टिडेज क्रिकेट नै हो। टी-ट्वेन्टी वास्तवमै कमर्सियल क्रिकेट हो, यसले क्रेज र पैसा बटुल्ला। तर मल्टिडेज क्रिकेट र वान-डे स्ट्याटसका कुराहरू हाम्रो मुख्य लक्ष्य हुन्, हाम्रो गोल त अझ टेस्ट नेसनसम्म पुग्ने हो। त्यसमा हामी आफैं बोर्डका सदस्यका हिसाबले पनि चुकिरहेका छौं। हामी अलि सचेत साथीहरूले बारम्बार प्रश्न त उठाइरहेका छौँ, तर प्रश्न उठायौँ भनेर म पन्छिन खोजेको होइन। त्यसलाई कार्यान्वयन गर्न नसकिरहेको यथार्थ म पनि स्वीकार्छु, मेरो पनि गल्ती हुन सक्छ।

सारा बिडिङ प्रक्रिया गरिरहँदा कतैतिर विवादका कुरा सुन्न परेको छैन, टेन्डर नै नगरी कसैले काम पायो भन्ने कुरा आएको छैन। पैसा पनि त उठ्यो नि।

भारतमा आईपीएलसँगै रणजीको पनि उत्तिकै क्रेज छ। हामीले कर्पोरेट फोकसलाई मल्टिडे वा लामो फर्म्याटतिर सार्न सकेनौँ कि?

एक्ज्याक्टली। हाम्रो फोकस बाहिर गयौँ। मैले अघि भनेझैँ, हाम्रो फोकस टेस्ट नेसन हो भन्ने गोल सेट गरेर अघि बढेको भए तल्लो स्तरबाटै मल्टिडेज क्रिकेट जरुरी छ, जिल्ला, क्लब, प्रदेश स्तरमा ती टुर्नामेन्ट जरुरी छ भन्ने किसिमले बनाउनुपर्थ्यो, तर हामीले सकेनौँ। हामी कमर्सियलाइज र पैसा–ओरिएन्टेड कुरामा बढी फोकस भयौँ। यो क्रिकेट संघ मात्र होइन, क्लब र खेलाडी सबै त्यतातिर बढी फोकस हुँदा हामी ठूलो समस्यामा छौँ। हाम्रो उद्देश्यअनुसार टेस्ट नेसनमा पुग्ने बाटोको उल्टो दिशामा नेपाल क्रिकेट अहिले गइरहेको तितो यथार्थ हो।

एनपीएलले मात्र नेपाल क्रिकेटलाई चलाउँछ वा त्यसबाट जेनरेट हुने अर्थतन्त्रले मात्र क्रिकेट चल्छ भन्ने सोच हुन हामी बाध्य पनि भयौँ, किनकि हामी सानो अर्थतन्त्र र सानो इकोसिस्टममा काम गर्छौँ। इन्फ्रास्ट्रक्चरबाहेक नेपाल क्रिकेटलाई सरकारबाट सिधै फन्डिङको ठूलो सपोर्ट हुँदैन, त्यसैले हामी त्यतातिर बढी फोकस भएका हौँ। तर फोकस हुनुपर्ने चाहिँ मल्टिडेज क्रिकेटमा नै हो।

तपाईं एनपीएलको मोनिटरिङ कमिटीमा हुनुहुन्छ। यो कमिटीको काम के हो?

वास्तवमा नेपाल क्रिकेट संघको बोर्डले तीन जनाको मोनिटरिङ कमिटी बनाएको छ। त्योभन्दा पहिले गभर्निङ काउन्सिल पनि छ। ओभरअल गभर्निङ काउन्सिलले योजनादेखि सम्पूर्ण कार्यान्वयनसम्मको काम गरिरहनुभएको छ। विगतमा केही तिता–मीठा अनुभव पनि रहे, केही रिजर्भेसन हामीले पनि राख्यौँ। त्यो कुनै व्यक्तिविरुद्ध थिएन र छैन पनि।

हामीले प्रक्रियाका कुरामा, कुनै पनि संस्था त्यसको विधान, बाइलज र नियम-विनियमले चल्नुपर्छ भन्ने सन्दर्भमा पहिलेदेखि केही इस्यु उठाइरहेका छौँ, तपाईंहरू सबैलाई थाहा छ। केही सानातिना प्राविधिक समस्या पनि आए, जुन व्यक्तिको नियतभन्दा पनि प्रक्रिया र नियम फलो नगर्दा सुशासनको पाटोबाट कमजोरी देखिए। ती कमजोरी कसरी हटाउन सकिन्छ भन्ने सन्दर्भमा अहिले हामी त्यो कमिटीलाई मोनिटर गर्ने र ती प्रक्रियामा उहाँहरूलाई कसरी सघाउन सकिन्छ भन्नेमा काम गर्दैछौँ।

हामी कसैलाई डन्डा लगाउनुभन्दा पनि पुराना अनुभवहरू, जुन कुरामा हामी प्रक्रियामा चुकेका थियौँ, त्यसलाई कसरी समाधान गर्न सकिन्छ र समग्रमा एनपीएललाई कसरी विवादरहित, सुशासनको आँखाबाट हेर्न सकिन्छ भन्नेमा हामी काम गरिरहेका छौँ।

पहिलो संस्करणमा प्रक्रिया र पारदर्शितालाई लिएर आलोचना निकै भयो। तेस्रोमा सबै कुरा खुलेको छ। यसमा तपाईंहरूको मोनिटरिङको प्रभाव परेको हो?

एक्ज्याक्टली, त्यही नै हामीले भन्न खोजेको। त्यो हामीले मात्र गर्‍यौँ भन्दिनँ। पहिलेका साथीहरूले पनि काम नगरेको, मेहनत नगरेको वा बिगार्न खोजेको होइन। तर काम गर्ने क्रममा उहाँहरूले पनि धेरै अनुभव बटुल्नुभयो र हामीले देखेका कमजोरी वा ग्याप छन् भने त्यसलाई कसरी फुलफिल गर्नुपर्छ भनेर दिएका सुझावलाई उहाँहरूले सहर्ष स्वीकारेर अघि बढ्दा, साँच्चै भन्नुपर्दा, सारा बिडिङ प्रक्रिया गरिरहँदा कतैतिर विवादका कुरा सुन्न परेको छैन, टेन्डर नै नगरी कसैले काम पायो भन्ने कुरा आएको छैन। पैसा पनि त उठ्यो नि।

तपाईंको ओपन प्रक्रियामा जाँदा हामीले सोचेभन्दा बाहिरको पैसा उठ्यो। पैसा मात्र उठेको होइन, बिडिङ गर्दा कल्पनाभन्दा बाहिरको रकम हुँदोरहेछ भन्ने कुरा सबैलाई अनुभूति भएको छ। त्यो हामी आएर मात्र भयो भन्नुभन्दा पनि हामीले पनि गर्‍यौँ, उहाँहरूले पनि सहर्ष स्वीकार गर्नुभयो र सिक्दै जाँदा अहिलेसम्मको प्रक्रिया अत्यन्त राम्रो तरिकाले गएको अनुभूति मोनिटरिङ कमिटीका हिसाबले हामीलाई भएको छ। पहिलाका इस्युमा केही रिजर्भेसन हामी केही साथीहरूको छ।

हामी अहिले एनपीएल तेस्रोको महत्त्वपूर्ण सिजनअघि छौँ। अहिले हाम्रो सम्पूर्ण फोकस यसलाई कसरी राम्रो गर्न सकिन्छ, कसरी अझ आकर्षक र रेभेन्यु जेनेरेट हुने बनाउन सकिन्छ, अन्तर्राष्ट्रिय स्तरमा कसरी प्रचार गर्न सकिन्छ भन्नेमा छ। यद्यपि एनपीएल वन र टुका केही विषयमा हामी साथीहरूको रिजर्भेसन स्टिल छ।

तर रिजर्भेसन छ भन्दैमा कुनै पनि संस्थालाई सधैं एउटा अनिर्णयको बन्धक बनाएर त्यसैमा झगडा गरिरहने, त्यसलाई इस्यु बनाइरहने र संस्थालाई अप्ठ्यारो बनाइरहने कुरामा म विश्वास गर्दिनँ। म त्यतिबेला एउटा बोर्ड सदस्यका हिसाबले मात्र कुरा उठाउने कुरामा थिएँ, कुनै संस्था वा व्यक्तिविरुद्ध थिइनँ। प्रक्रिया मिल्नुपर्छ, संस्थागत हुनुपर्छ, सुशासनका कुरा हुनुपर्छ।

सुशासनलाई हामीले कसरी हेर्छौँ भने, सुशासन भनेको फाइनान्सियल स्टेटमेन्ट मात्र होइन। काम गरिसकेर फाइनान्सियल स्टेटमेन्ट र अडिट रिपोर्ट टेबलमा राख्ने मात्र सुशासन होइन। निर्णय प्रक्रियामा हामी सबै सहभागी छौँ कि छैनौँ, स्टेकहोल्डरहरू निर्णय गर्न र निर्णयपछिका प्रक्रियामा छौँ कि छैनौँ, टेन्डर गरिएको छ भने टेन्डर गर्ने प्रक्रिया के हो, टेन्डर खोल्ने बेला सम्बन्धित व्यक्तिहरू छन् कि छैनन्, त्यसबाट आएको बेनिफिट इकोसिस्टममा गएको छ कि छैन भन्ने कुरासम्मलाई मैले गुड गभर्नेन्सका रूपमा हेर्छु।

एनपीएलको इकोसिस्टममा गएका केही उदाहरण म तपाईंसँग सेयर गर्न चाहन्छु। हामीले प्रदेशको कुरा गर्‍यौँ, त्यसबाट आएको बेनिफिट के? अल्टिमेटली हाम्रो उद्देश्य त यसबाट जेनरेट भएको रेभेन्युलाई ग्रासरुटमा पुर्‍याएर क्रिकेटलाई बलियो बनाउने हो। अघि हजुरले भन्नुभएझैँ मल्टिडेज क्रिकेटमा पैसा खर्च गर्न सक्ने ताकत हामीले निर्माण गर्न खोजिरहेका हौँ। अहिले जिल्लाले थोरै–थोरै भए पनि पैसा पाइरहनुभएको छ, प्रदेशले पाइरहनुभएको छ। त्यसले सारा इकोसिस्टममा अलिकति पुग्न खोजिरहेको हुनाले अहिले हामी विगतका कुरालाई त्यति धेरै नलिई अझ राम्रो सुधार के गर्न सकिन्छ भन्नेमा बढी फोकस गरिरहेका छौँ।

ब्रोडकास्टिङमा लिनियर र स्टार स्पोर्ट्स गरी दुई टीभीसँग डिल हुँदा एउटाबाट पैसा आउने, अर्कोलाई दिनुपर्ने स्थिति पनि हुन्छ?

अब यो मोर टेक्निकल कुरा हो, हेर्नुस्। स्टार स्पोर्ट्स आउँछ भन्ने बेलामा तपाईं–हामी सबै सुरुको चरणमा जति खुसी र उत्साहित थियौँ, आम पब्लिक र फ्यान्सहरू जति उत्साहित हुनुहुन्थ्यो, त्यसले सबै कुरा बिर्सायो। तपाईंले संकेत गर्न खोज्नुभएका केही कुरा मोर टेक्निकल विषयमा पर्छन्। प्रुभन नभएका कुरालाई म त्यति धेरै डिस्कस गरिहालौँ भन्ने पक्षमा अहिले छैन। तर तपाईंले भनेजस्तै ती सम्भावना आउने वर्षहरूमा रहन सक्छन्, त्यसबाट पनि हामीले ठूलो रेभेन्यु कमाउन सक्ने ठाउँ मैले पनि देखेको छु।

ब्रोडकास्टिङदेखि अपरेसनका कुरासम्म बढेर जाने खर्चलाई जबसम्म हाम्रो स्रोतले, हामीले कमाएको पैसाले चलायमान बनाउन सक्दैनौँ, कार्यान्वयन गर्न सक्ने रिसोर्स हामीसँग हुँदैन।

सबै खेल टीयू मैदानमा हुँदा फाइनलसम्म पिच ध्वस्त हुन्छ। एउटै मैदानमा खेलेर एनपीएल ठूलो हुन सक्छ? ‘होम एण्ड अवे‘ क्यानलाई आवश्यक लागेको छैन?

यसको उत्तर तपाईं–म जस्ता व्यक्ति वा क्रिकेट संघले मात्र दिने होइन। यो समग्र राष्ट्रसँग जोडिएको विषय हो। खेलकुद मन्त्रालयदेखि नेपाल सरकारले पनि गम्भीर ध्यानाकर्षण गर्न जरुरी छ। तपाईंले भनेजस्तै साँच्चिकै यो क्रिकेट हामीले होम एन्ड अवेको सिस्टममा अघि बढाउनुपर्छ भन्ने सन्दर्भमा हामी स्पष्ट छौँ। हाम्रो दीर्घकालीन योजनामा त्यो फर्म्याटमा जाने तयारी, प्राविधिक सम्भावनाको अध्ययन अहिले पनि नगरेको होइन, हामी गर्न सक्ने सम्भावना बोकेर अघि बढेका छौँ।

तर पछाडिबाट हेर्नुभयो भने सिजन वनलाई सम्झिनुस्, कुन अवस्थाबाट हामीले सुरु गर्‍यौँ, पारापिटलाई सम्झिनुस्, अहिले सिजन थ्रीमा टेक्नोलोजी र ग्राउन्डको अवस्थालाई सम्झिनुस्। हामी त्यो बाटोमा छौँ, तर राज्यले सहयोग नगरेसम्म, इन्फ्रास्ट्रक्चरमा राज्यले लगानी नगरेसम्म तपाईंले भनेजस्तो हामीले गर्न सक्ने अवस्था छैन।

यद्यपि हामीसँग सम्भावना छन्। लुम्बिनी प्रदेशको कुरा गर्ने हो भने हाम्रो भैरहवामा ग्राउन्ड छ, दाङमा सरकारले अलिकति सहयोग गरे खेलाउन सकिने ग्राउन्ड लगभग तयार भइसकेका छन्। यस्तै विभिन्न अन्य प्रदेशमा पनि ‘होम एन्ड अवे’को सिस्टममा गेम गराउन सकिन्छ। तर त्यो गराउँदा आर्थिक रूपमा ठूलो खर्च बढ्छ। ब्रोडकास्टिङदेखि अपरेसनका कुरासम्म बढेर जाने खर्चलाई जबसम्म हाम्रो स्रोतले, हामीले कमाएको पैसाले चलायमान बनाउन सक्दैनौँ, कार्यान्वयन गर्न सक्ने रिसोर्स हामीसँग हुँदैन। हामी सानो लिमिटेसनमा बसेर काम गरिरहेका छौँ। जानुपर्ने बाटो त्यही हो, तर केही लिमिटेसनले हामीलाई रोकेको मात्र हो।

पहिलो, दोस्रो र तेस्रो सिजनमा एनपीएलको विज्ञापन र क्लबको भ्यालुएसनमा कति बढोत्तरी भयो?

साँच्चिकै भन्ने हो भने हामी क्रिकेटमा त्यति ठूलो नेसन पनि होइनौँ र लगानीको हिसाबले हेर्ने हो भने हामी आईसीसीको पैसाले मात्र चलिरहेको क्रिकेट हौँ। नेपाल सरकार वा अन्य कतैबाट हामीलाई पैसा आउने होइन, हामी एसीसी र आईसीसीको पैसामा चलेका छौँ, त्यो पनि इन्फ्रास्ट्रक्चरमा लगानी गर्न मिल्दैन, उहाँहरूले खालि प्लेयर डेभलपमेन्ट र क्रिकेट संघका लागि दिने रिसोर्समा हामी चलिरहेका छौँ।

तपाईंले भनेकै लाइनमा हामीले एनपीएललाई त्यही स्ट्राटेजी अन्तर्गत सिजन वनदेखि इन्डोर्स गरेका हौँ। इन्टरनेसनल लेभलमा पुग्न स्टार स्पोर्ट्सजस्तो टिभी चाहिन्छ, त्यही किसिमका कमेन्टेटरदेखि प्रेजेन्टरसम्म चाहिन्छ, त्यही किसिमका प्लेयर चाहिन्छन् भनेर हामी तेस्रो सिजनसम्म आइपुग्दा तपाईंले भनेका सम्भावनालाई अलिकति भए पनि स्पार्क गर्दैछौँ, सम्भावनालाई ठूलो बनाउने प्रयास गर्दैछौँ।

जुन दिन तपाईंले भनेका सम्भावना जोडिन्छन्, नेपाल क्रिकेट यो लिग मात्र होइन, नेपाल क्रिकेट नै नेक्स्ट लेभलमा जान्छ र समग्र नेपालकै अर्थतन्त्रमा समेत हस्तक्षेपकारी असर पर्ने किसिमले अघि बढ्छ भन्ने कुरामा हामी दीर्घकालीन भिजन बनाएर अघि बढिरहेका छौँ।

एनपीएलसँग जोडिएर जति ठूला प्लेयर आइरहेका छन्, कानुनी जटिलताका पनि धेरै कुरा आइरहेका हुन्छन्। विदेशी प्लेयर ल्याउनेमा इस्यु भइरहेको छ, श्रम स्वीकृतिको कुरामा पहिलेदेखिकै ठूलो समस्या छ। खासमा नीतिमा के समस्या छ र हामीले यसका लागि पोलिसी लबिङ के गरिरहेका छौँ?

साँच्चै भन्ने हो भने नेपालका कानुन एकदम पुराना छन्, र हाम्रो सिस्टम पनि फास्ट ट्र्याकमा होइन, अप्ठ्यारो पारेर लाभ लिने खालका सिस्टम पहिलेदेखि क्रिएट गरिएका छन्। हामीले कस्तो लबिङ गरिरहेका छौँ भने, बाहिरबाट आउने प्लेयरलाई किन ट्याक्स लगाउने, सिधै श्रम स्वीकृति गरेर उहाँहरूलाई दुई–तीन महिना खेल्ने वातावरण बनाउने। ठूला–ठूला प्लेयर, जसले अन्य राष्ट्रका लागि खेलिसकेका छन्, उहाँहरूको पैसामा ट्याक्स लगाउनु पनि हुँदैन। उहाँहरूका लागि छुट्टै स्पेसल डेस्क बनाएर सहयोग गर्नुपर्छ। सबैलाई एउटै कानुनको एउटै घानमा हालेर अघि बढ्यौँ भने राम्रो हुँदैन भन्ने किसिमको लबिङ हामी गरिरहेका छौँ।

यद्यपि हामी र हाम्रो क्रिकेटको इकोसिस्टममा भएका टिम ओनरहरू सबै जिम्मेवार हुनुपर्ने छ। वास्तवमा अकाउन्टेबिलिटीसँगै रेस्पोन्सिबिलिटीमा पनि ध्यान दिनु जरुरी छ। हामीले हाम्रो सिस्टम बलियो बनाइरहेका छौँ भने हामीसँग रहेका टिम ओनरहरूभित्रको सिस्टम पनि बलियो हुनुपर्छ। सरकारसँग पनि निरन्तर गभर्निङ काउन्सिल र नेपाल क्रिकेट संघ टचमा रहेर यी विषयमा लबिङ गरिरहेको अवस्था हो, र यो सिजनबाट केही सहज होला भन्ने हामीले विश्वास लिएका छौँ।

हामी ब्रेक इभनमा छौँ, सोसल रेस्पोन्सिबिलिटी पनि पूरा गरेका छौँ, विश्वमै रिकग्नाइज भएका छौँ भन्ने अवस्था हो।

फ्रेन्चाइजले गरेको लगानीको तुलनामा क्यानले दिइरहेको रिटर्न नगण्य छ। ब्रेक इभनमा क्लबहरु कहिलेसम्म पुग्छन्?

यो निकै महत्त्वपूर्ण प्रश्न हो, किनकि लिगसँग जोडिएको कुरा र यसलाई सस्टेन बनाउन हामीसँग जोडिएका टिम ओनरहरूलाई ब्रेक इभनमा मात्र होइन, फाइदामा पुर्‍याउनु नेपाल क्रिकेट संघको पनि दायित्व हो। उहाँहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा हामी अघि बढिरहेका छौँ। यो इकोसिस्टममा सबै मिलेर काम गरेर जब एनपीएल एकदमै फाइदामा जान्छ, धेरै रेभेन्यु जेनरेट गर्छ, त्यही चिज उहाँहरूलाई सेयर गर्ने हो, या यसको जति प्रचार हुन्छ, जति ब्रान्ड भ्यालु बढ्दै जान्छ, इन्डिभिजुअल टिमले पनि ठूला स्पोन्सर पाउने हो।

अहिले भर्खरै उहाँहरू ब्रेक इभनमा गइहाल्नुहुन्छ, यही पटक गइहाल्नुभयो भन्ने सन्दर्भमा हामी छैनौँ। केही टिम मलाई लाग्छ एक–दुई सिजनपछि ब्रेक इभनमा जान सक्ने सम्भावना मैले देखेको छु। तर हामी इन्डियासँग नजिक छौँ, हरेक कुरामा इन्डियालाई तुलना पनि गर्छौँ। आईपीएलकै कुरा गर्ने हो भने धेरै वर्ष लागेको हेर्नुस्, धेरै वर्षपछि त्यहाँका टिम ओनरहरूले राम्रो फाइदा लिन सक्नुभएको हो। ती अनुभव सिक्दै जाँदा उहाँहरूभन्दा अलि चाँडै हाम्रा टिम ओनरहरूले यो बिजनेस मोडलमा सन्तुष्ट हुने अवस्था आउँछ।

हामी ब्रेक इभनमा छौँ, सोसल रेस्पोन्सिबिलिटी पनि पूरा गरेका छौँ, विश्वमै रिकग्नाइज भएका छौँ भन्ने अवस्था हो। अहिलेका टिम ओनरहरू त साँच्चै भन्नुपर्दा उता–उताका प्लेयरहरूलाई ल्याइरहनुभएको छ, उहाँहरू विश्वमै एउटा प्रतिष्ठित व्यक्तिका रूपमा रिकग्नाइज हुनुभएको छ। त्यो पनि उहाँहरूका लागि ठूलो एक्जिट, ठूलो सम्पत्ति हो, त्यो किसिमले उहाँहरू सन्तुष्ट नै हुनुहुन्छ होला।

पहिलो संस्करणदेखि तेस्रोसम्म ब्रान्डिङको लागत कति बढ्यो? इन्टरनेसनल अडियन्सले एनपीएल स्टार स्पोर्ट्समा कहिलेबाट हेर्न पाउँछन्?

त्यो त बढिरहेको अवस्था छ। तपाईंले अघि आफैँ भन्नुभयो, टेन्डर प्रक्रियामा आउँदा ठूलो पैसा हामीले त्यहीबाट उठाइसकेको अवस्था हो। त्यसैसँग धेरै ब्रान्डहरू इच्छुक हुनुहुन्छ, जसले हामीलाई अझै पनि स्पोन्सर गर्न रुचाइरहनुभएको छ, इच्छा देखाइरहनुभएको छ। जोडिनका लागि यति धेरै व्यक्ति, यति धेरै ब्रान्ड लालायित हुनुहुन्छ भने त्यो किसिमले ठ्याक्कै कति पाइरहनुभएको छ भन्ने महत्त्व राख्दैन। त्यो एउटा नम्बर मात्र भयो।

तर त्यसबाट उहाँहरूले जुन किसिमको रेस्पोन्स पाइरहनुभएको छ, हामीले पाइरहेका छौँ, त्यो ब्रान्ड भ्यालु एकदमै बढिरहेको छ। ठ्याक्कै अंकमा त धेरैले भनिदिनुभएको छ, तर म अंकमा भन्न रुचाउँदिनँ।

प्रतिशतमा भन्दा हुन्छ कि?

यसमा, मैले भने नि, जबसम्म उहाँहरू ब्रेक इभनमा पुग्नुहुन्न, क्रिकेट संघले मात्र होइन उहाँहरूले पनि कमाउने बाटोमा जबसम्म पुग्नुहुन्न, त्यो बेलासम्म यति भयो, उति भयो, यति करोड भयो भन्नुको खासै अर्थ हुँदैन। तर तपाईंले भनेजस्तै फर्स्ट सिजन, सेकेन्ड सिजन, थर्ड सिजन हुँदै जाँदा त्यो घटेको चाहिँ छैन, बढेकै छ।

केही फ्रेन्चाइजमा स्वामित्व परिवर्तन भएको देखिन्छ, सुनिन्छ। यसको नियम के छ र खासमा के भइरहेको हो?

केही टिममा त्यस्ता कुरा बाहिर आइरहेका छन्। स्वाभाविक हिसाबले यति ठूलो लिग हो, यति ठूलो लगानी छ, त्यसभित्र एक जना व्यक्ति मात्र हुनुहुन्न। हजुरकै मिडियामा पनि एक जनाले मात्र लगानी गर्नुभएको छैन। कहिले एक जना अध्यक्ष बन्नुहुन्छ, कहिले अर्को अध्यक्ष बन्नुहुन्छ, कसैले लगानी अलि कम गर्छु, कसैले धेरै गर्छु भन्ने स्वाभाविक कुरा हुन्। यसमा प्राविधिक हिसाबले ठ्याक्कै केही बिग्रिहाल्यो वा भत्किहाल्यो वा नराम्रो भइहाल्यो भन्ने प्रुभन ट्रुथ मसँग छैन। त्यो किसिमले प्रुभन विवादका कुरा केही पनि छैनन्।

आन्तरिक टिमभित्रका कुरामा स्वाभाविक रूपमा आफ्नो अस्तित्व जोगाउने कुरा होलान्, साथीहरूका कतिपय कुरा, म लगानी अलि धेरै गर्छु, अलि धेरै बेनिफिट लिन्छु भन्ने कुरा होला। कतिपयका आफ्ना फाइनान्सियल कुराले म यो टिमबाट बाहिर रहेर मेरो सेयर निकालेर जान्छु भन्ने कुरा होलान्। तर टिमै छोडेर नयाँ टिमै बन्ने अवस्थामा चाहिँ कुनै टिम पनि पुगेको छैन।

प्रदर्शन नगरेर हामीसँग उपाय पनि छैन। यो हाम्रो अस्तित्वका लागि पनि, खेलाडीहरूको अस्तित्वका लागि पनि यो टुर्नामेन्टले ठूलो महत्त्व राख्छ।

अब महिला अन्डर-१९ विश्वकपतिर अलिकति चर्चा गरौँ। आईसीसीबाट प्रतिनिधिहरू पनि आउनुभएको थियो। यसमा हाम्रो प्रोग्रेस के भइरहेको छ? आईसीसीबाट के रेस्पोन्स आयो र टुर्नामेन्ट हामी कस्तो गर्दैछौँ?

यो टुर्नामेन्ट नेपाल क्रिकेट संघले व्यवस्थापन गर्ने गरी नेपालमा भएकाले हामी व्यवस्थापन गर्दैछौँ। यो आईसीसीकै टुर्नामेन्ट हो, ओभरअल म्यानेजमेन्टको जिम्मा पनि आईसीसीले नै हेर्ने हो। यो नेपालमा अहिलेसम्म खेलिएको सबैभन्दा ठूलो टुर्नामेन्ट हामी आयोजना गर्दैछौँ। हामीजस्ता नेपालीका लागि यो गर्वको विषय पनि हो।

नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहको संयोजकत्वमा यसको सम्पूर्ण व्यवस्थापनका लागि बोर्डले तयारी समिति गठन गरेको छ। उहाँ हरेक दिन मैदानमै व्यवस्थापन र प्राविधिक कुरामा खटिरहनुभएको छ र आईसीसीले पनि क्लोज मोनिटरिङ गरेर कसरी काम गर्ने, के गर्ने भनेर उहाँहरूले पनि काम गरिरहनुभएको छ।

हाम्रो अफिस लेभलबाट पनि डकुमेन्टेसनका सबै काम र तयारी भइरहेका छन्। फाइनल्ली यसको सम्पूर्ण तयारीबारे हामी प्रेस मिटमार्फत नजिकै सबै जानकारी गराउँछौँ। हामी तयारीको हिसाबले पनि उत्साहित छौँ, प्रतियोगिताको हिसाबले पनि उत्साहित छौँ र यति ठूलो टुर्नामेन्ट होस्ट गर्ने जिम्मेवारी आईसीसीले हामीलाई दिँदा हामी उत्साहित र खुसी भएर लागेका छौँ।

यस्तो विश्वकप आयोजना गर्ने मापदण्ड के–के छन्? हामीले के–के पुर्‍याएका छौँ, कुनमा समस्या छ?

यो भन्दा पहिले पनि हामीले आईसीसी र एसीसीका केही टुर्नामेन्ट होस्ट गरिसकेका छौँ। त्यसको व्यवस्थापन उहाँहरूले हेर्नुभयो। नेपाल क्रिकेटले त्यो व्यवस्थापन धान्न सक्छ भन्ने कुरा एउटा एकदम महत्त्वपूर्ण कुरा रह्यो। त्यसैसँग हाम्रो इन्फ्रास्ट्रक्चरका कुरामा त्यो लेभलको टुर्नामेन्ट हामी होस्ट गर्न सक्छौँ भन्ने सन्दर्भमा, हाम्रा मैदान, हाम्रो सरकारले दिने सुरक्षादेखि उहाँहरूका एस्योरेन्सका सम्बन्धमा पनि उहाँहरू एस्योर हुनुभयो।

हामीसँगको सम्बन्धको हिसाबले पनि नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द एक किसिमले आईसीसी र एसीसीमा राम्रो पहुँच र राम्रो अवस्थामा पुगेका हिसाबले पनि त्यो सम्बन्धले टुर्नामेन्ट ल्याउन महत्त्वपूर्ण भूमिका खेल्यो। हामी त्यसलाई व्यवस्थापन गर्न पनि सक्छौँ, प्राविधिक रूपले पनि काम गर्न सक्छौँ र सरकारको पनि यसमा सहयोग रहन्छ भन्ने सन्दर्भमा यो टुर्नामेन्ट गर्ने अवसर हामीले पायौँ।

राष्ट्रिय टोली लिग–२ को अन्तिम सिरिज खेल्दै छ। होममा राम्रो, अवेमा खराब भन्ने प्याटर्न यसपालि चिरिएला भनेर तपाईंहरू कतिको आशावादी हुनुहुन्छ?

हामी उत्साहित छौँ। वास्तवमा अहिलेको टिममा जुन एउटा बन्डिङ देखिएको छ र एउटा सिरियसनेस, सिरियस त पहिले पनि हुनुहुन्थ्यो, तर अब ‘डु अर डाई’ को अवस्थामा हामी जित्नैपर्ने, राम्रो प्रदर्शन गर्नैपर्ने अवस्थामा पुगेका बेला खेलाडीहरूको माइन्डसेट मैले पढिरहेको छु, उहाँहरू अभ्यासमा जुन लेभलमा अघि देखिनुभएको छ, हामीले अवश्य पनि राम्रो प्रदर्शन गर्छौँ। प्रदर्शन नगरेर हामीसँग उपाय पनि छैन। यो हाम्रो अस्तित्वका लागि पनि, खेलाडीहरूको अस्तित्वका लागि पनि यो टुर्नामेन्टले ठूलो महत्त्व राख्छ।

अहिले हामी सबैको फोकस, तपाईंले भनेजस्तै, धेरै ठूला टुर्नामेन्ट हाम्रो अगाडि छन्, व्यवस्थापकीय हिसाबले धेरै महत्त्वपूर्ण समय यता खर्चिनुपर्ने बेला छ। तर हाम्रो सम्पूर्ण ध्यान, तपाईं–हामी जस्ता मिडियादेखि फ्यानहरूको ध्यान अहिले लिग–२ मै अडिएको अवस्था छ। मलाई जहाँसम्म लाग्छ, अहिले लिग–२ मा राम्रो प्रदर्शन गर्नुहुन्छ। यद्यपि केही त्यस्तो भइहाले पनि पछि पनि हामीसँग केही अवसरका कुरा छन्, त्यति आत्तिनुपर्ने अवस्था म देख्दिनँ।

अहिले हामी आईसीसीका केही कुरा, निर्णयहरू कुरिरहेका छौँ। फुल सस्पेन्सन यदि हट्यो भने अझ ठूला प्लेयर ल्याउन सक्ने सम्भावना एकदम खुलेर जान्छ।

लिग–२ सकिएपछि हुने प्लेअफको होस्टिङका लागि नेपालले के पहल गर्दैछ?

एकदमै, हामी नेपालमै यसको होस्ट गर्ने सम्भावना बढेर गएको छ। नेपालमै होस्ट गर्ने भन्ने लगभग तयारी अवस्थामा हामी छौँ। फाइनल कल चाहिँ आईसीसीले फाइनलै भनेर पठाएको अवस्था होइन, तर एउटा अन्डरस्ट्यान्डिङमा हामीले यसको तयारी पनि गर्नुपर्ने अवस्था आउन सक्छ।

पहिलोमा शिखर धवन र ब्रायन लारा, दोस्रोमा फ्लडलाइट थियो। तेस्रो संस्करणमा के नयाँ हुन्छ?

अहिले वास्तवमा केही ठूला प्लेयरको नाम तपाईंले सुनिसक्नुभएको छ। अहिले हामी आईसीसीका केही कुरा, निर्णयहरू कुरिरहेका छौँ। फुल सस्पेन्सन यदि हट्यो भने अझ ठूला प्लेयर ल्याउन सक्ने सम्भावना एकदम खुलेर जान्छ। सँगसँगै टेक्नोलोजीका कुरामा हामीले केही फरक र यो टुर्नामेन्टलाई इन्टरनेसनल लेभलको टुर्नामेन्ट हो भन्ने बनाउन केही नयाँ टेक्नोलोजी पनि इन्ट्रोड्युस गर्ने तयारीमा छौँ।

डीआरएसको ल्याउन केही तयारी भइरहेको हो?

एकदमै, डीआरएसको हामीले टेस्टिङ लगभग गरिसकेका छौँ। टेस्टिङ गरिसकेपछि स्टार स्पोर्ट्ससँग उहाँहरूले त्यो कतिको एक्युरेसी दिन्छ भन्ने कुरामा हामी लगभग फाइनल अवस्थामा छौँ। सम्भवतः डीआरएस पनि हामी इन्ट्रोड्युस गर्ने एकदमै तयारीमा छौँ। केही प्राविधिक कुरा एकदमै समस्या नआएपछि डीआरएस रहने सम्भावनाको एकदम नजिक छौँ हामी। यस्ता टेक्नोलोजी र ब्रान्ड नामहरूलाई भित्र्याएर यसलाई इन्टरनेसनल लेभलमा अझै मार्केटिङ गर्न सक्ने खालको एनपीएल बनाउने तयारीमा छौँ।