अमेरिकी कार निर्माता जनरल मोटर्स (जीएम) ले चालकले स्टेयरिङमा हात राख्न र सडकमा आँखा लगाइरहन नपर्ने ड्राइभिङमा उच्चतम सुविधायुक्त प्रविधि विकास गरिरहेको छ। कम्पनीले सन् २०२८ सम्ममा आफ्नो ‘सुपर क्रुज’ प्रणालीको नयाँ संस्करण सार्वजनिक गर्ने लक्ष्य राखेको छ। यो प्रविधि क्याडिल्याक एस्केलेड आईक्यू विद्युतीय एसयूभीमा उपलब्ध गराउने कम्पनीको योजना छ।
यसका लागि जीएमले अमेरिकाको डेट्रोइटनजिकै रहेको मिसिगनस्थित वारेनको ग्लोबल टेक्निकल सेन्टरमा सवारी चालकलाई विभिन्न काल्पनिक सडक परिस्थितिमा राखेर परीक्षण गरिरहेको छ। परीक्षणमा सहभागीले क्याडिल्याक लिरिकसहित विभिन्न मोडलका गाडी चलाउँछन्। तर उनीहरू वास्तविक सडकमा नभई चारैतिर देखिने दृश्यसहितको सिमुलेटरमा हुन्छन्।
त्यहाँ सडक, उकालो-ओरालो, वर्षा, निर्माणाधीन क्षेत्र र आसपासका सवारीसाधनको कृत्रिम दृश्य तयार गरिन्छ।
परीक्षणका क्रममा चालकको आँखाको चाल, मुटुको धड्कन, तनाव, पसिना र सडकमा ध्यान केन्द्रित गर्ने तरिकासमेत मापन गरिन्छ। यसबाट चालकले आकस्मिक परिस्थितिमा कसरी प्रतिक्रिया दिन्छन् र आवश्यक पर्दा गाडीको नियन्त्रण कति छिटो सम्हाल्न सक्छन् भन्ने अध्ययन गरिन्छ।
जीएमको यो परीक्षण उन्नत चालक सहायता प्रणाली (एडास) विकास गर्ने प्रयासको हिस्सा हो। अहिले यस्ता प्रणालीले स्वचालित आपत्कालीन ब्रेक, ब्लाइन्ड स्पट चेतावनी, लेन छाड्ने संकेत, लेनभित्र गाडी कायम राख्ने सुविधा र चालकको ध्यान निगरानी गर्ने काम गर्छन्।
जीएमको ‘सुपर क्रुज’ सन् २०१७ देखि बजारमा छ। यसले चालकलाई निश्चित सडकमा स्टेयरिङमा हात नराखी गाडी चलाउन दिन्छ। तर चालकले सडकमा ध्यान दिइरहनुपर्छ। कम्पनीका चार ब्रान्ड क्याडिल्याक, जीएमसी, बुइक र सेभ्रोलेटका २० भन्दा बढी मोडलमा यो प्रविधि उपलब्ध छ। अमेरिका र क्यानडाका ६ लाख ३० हजारभन्दा बढी सडकमा यसको प्रयोग गर्न सकिन्छ।
अबको लक्ष्य भने चालकलाई सडकबाट आँखा हटाएर पनि गाडी चलाउन सक्ने बनाउनु हो। जीएमका अनुसार नयाँ प्रणाली सक्रिय हुँदा चालकले मोबाइल चलाउन, ल्यापटपमा काम गर्न, बैठकमा सहभागी हुन वा भिडियो हेर्न सक्नेछन्। तर यसका लागि प्रणालीले सडकमा अचानक देखिने बालबालिका, जनावर, अप्रत्याशित अवरोध र निर्माण कार्यजस्ता परिस्थितिलाई सुरक्षित रूपमा सम्हाल्न सक्नुपर्छ।

जीएमसँगै अन्य सवारी निर्माता पनि यो प्रविधिको विकासमा प्रतिस्पर्धा गरिरहेका छन्। फोर्डको ‘ब्लुक्रुज’ ले पनि निश्चित उत्तर अमेरिकी सडकमा हात नलगाई गाडी चलाउन दिन्छ। टेस्लाले ‘फुल सेल्फ ड्राइभिङ’ नाम दिएको प्रणालीमा समेत चालकको निगरानी आवश्यक हुन्छ। हाल भने यात्रुवाहक सवारीसाधनमा चालकले सडकमा आँखा लगाउनै नपर्ने प्रणाली व्यावसायिक रूपमा उपलब्ध छैन।
प्रविधिको विकाससँगै कानुनी चुनौती पनि छन्। बजार अनुसन्धान संस्था टेलिमेट्रीका उपाध्यक्ष साम अबुएल्सामिडका अनुसार यस्ता प्रणाली सञ्चालन गर्न आवश्यक स्वीकृति विभिन्न राज्यअनुसार फरक पर्न सक्छ।
सवारी निर्माताका लागि यो प्रविधि सुरक्षासँगै आम्दानीको नयाँ माध्यम पनि हो। चालकले समय बचत गर्न सक्ने सुविधा उपलब्ध गराएर कम्पनीहरूले सदस्यता शुल्कमार्फत नियमित आम्दानी बढाउने अपेक्षा गरेका छन्।









