नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण सुरु नहुँदै पोखरा एभेन्जर्स चर्चामा आयो। तर, खेलाडी वा खेलसँग जोडिएको विषयले होइन। उसले जर्सीमा प्रायोजक राखेन, जनचेतना जगाउने शब्द राख्यो। त्यो शब्द थियो, ‘ग्लेसियर म्याटर्स (हिमाल नदीहरु महत्वपूर्ण छन्)।’ व्यवसायिक नाफाभन्दा वातावरण संरक्षणप्रति यो फ्रेन्चाइजीले देखाएको सक्रियताले सबैको ध्यान तान्यो। त्यो बेलामा सुन्दा सामान्य लाग्ने विषय।
यो पटकको भोटेकोशी बाढीले त्यही हिमनदीबाट हुन सक्ने सम्भावित खतराबारे सचेत गराएको छ। त्यही मुद्दा बोकेर एनपीएलको पहिलो संस्करणमा उत्रिएको थियो पोखरा। उसले त्यति बेलानै जलवायु परिवर्तनले हिउँ पग्लने, नयाँ हिमताल बन्ने, हिमताल फुटेर बाढी आउने जोखिमसमेत बढेको भन्दै त्यो मुद्दालाई उठाएको थियो।
पहिलो संस्करणमा कुनै व्यवसायिक प्रायोजनन नगरेको पोखरा एभेन्जर्सका संचालक सुवोध त्रिपाठीलाई बिजमाण्डूका मुकुन्द घिमिरेले सोधे एनपीएल नजिकिँदै छ, कस्तो लागिरहेको छ?
उत्साहित छौँ। ‘फेस्टिभल अफ हिमालयज’ भनेर चिनिने नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको पूर्वसन्ध्यामा हामी छौँ। यो हाम्रा लागि अझै विशेष फेस्टिभल हो। त्यसैसँग हाम्रा विशेष र महान् चाड दसैं-तिहार पनि आउँदै छन्। यी सबै कुराले हामीलाई उत्साहित बनाइरहेका छन्।
एनपीएलको पहिलो संस्करणमा स्पोन्सरसिप खोज्ने होड चलिरहेका बेला पोखरा टिमले ‘ग्लेसियर म्याटर्स’ अवधारणा अघि सारेको थियो। अहिले भोटेकोशीको घटनाले पनि हिमनदीबारे सचेत हुनुपर्छ भनेर देखाएको छ। त्यतिबेला यो अवधारणा ल्याउनुको सोच के थियो?
पोखरा एभेन्जर्स फ्रेन्चाइज टिम निर्माण गर्ने क्रममा हामीले विभिन्न खालका गतिविधि गरेका थियौँ। क्रिकेट खेल्ने त छँदै छ, त्यससँगै टिमको लक्ष्य, उद्देश्य, एजेन्डाबारे छलफल गर्दा दुई-तीनवटा कुरामा ध्यान दिएका थियौं।
पहिलो कुरा, हामी गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्छौं। त्यसमा पनि पोखरा, पर्यटकहरूको रोजाइमा पर्ने सहर हो। त्यसैले खेलमार्फत पर्यटन प्रवर्द्धन गर्नुपर्छ भन्ने हाम्रो सोच थियो। तर प्रवर्द्धन त गर्ने, त्यसका लागि सरकारी, अर्धसरकारी वा निजी क्षेत्रले पनि विभिन्न कार्यक्रम गरिरहेकै छन्। त्यसैले एउटा फ्रेन्चाइज टिमका रूपमा हामीले पर्यटनलाई दिगो रूपमा विकास गर्न के गर्न सकिन्छ भन्ने कुरा छलफल गर्दै टिमको दीर्घकालीन भिजनमा त्यसलाई समेट्ने काम गर्यौँ।
गण्डकी र पोखराको पर्यटनमा विशेषगरी हिमालको ठूलो भूमिका छ। हिमाल जोगियो भने पर्यटन दिगो रूपमा अघि बढ्न सक्छ। त्यसैले हिमालमा भइरहेका गतिविधिलाई कसरी अलि दिगो बाटोबाट अघि बढाउने, त्यसका लागि हाम्रो तर्फबाट कसरी चेतना जगाउने भन्नेबारे छलफल हुँदै गर्दा हामीले पहिचान गरेको सबैभन्दा ठूलो खतरा भनेको ग्लोबल वार्मिङलगायत विभिन्न कारणले हिमनदी (ग्लेसियर) पग्लिनु थियो।
त्यसले पर्यटनमाथि खतरा त थियो नै, तल्लो भेगका बस्तीहरूका लागि पनि ठूलो जोखिम सिर्जना गरेको थियो। त्यसैले हामीले सोच्यौँ, क्रिकेट त खेल्छौँ, क्रिकेटसम्बन्धी विभिन्न गतिविधि त गर्छौँ नै, तर यो ग्लेसियर पग्लिने विषयमा पनि हामीले चेतना फैलाउनुपर्छ। यो गर्न सकिन्छ, किनकि क्रिकेटको लोकप्रियता बढ्दै छ र नेपालको क्रिकेटलाई विश्वले नै हेरिरहेको अवस्था छ।
त्यहाँ हामीले ‘ग्लेसियर म्याटर्स’ लाई सामाजिक सन्देशका रूपमा बोक्यौँ भने मानिसहरूले यो पनि ध्यान दिनुपर्ने कुरा रहेछ, हामीले यसलाई नजरअन्दाज गरिरहेका छौँ, यसले भोलि कुनै दिन ठूलो विनाश र विपत्ति ल्याउन सक्छ, समयमै विचार गर्नुपर्छ भन्ने सन्देश जान सक्छ। त्यसका लागि क्रिकेट उपयुक्त प्लेटफर्म हो भन्ने सोचका साथ हामीले ‘ग्लेसियर म्याटर्स’ लाई हाम्रो टिमको एउटा पहिचानकै रूपमा विकास गर्ने हिसाबले ट्यागलाइन बनाएका हौँ।
यसपालि ती दुई संस्करणबाट हामीले सिकेका कुरालाई, त्यतिबेला भएका गल्तीलाई हटाउँदै, कार्यान्वयन गर्दै जाने हो। अर्को कुरा, मैदानमा खेल्ने त खेलाडीले नै हो। त्यसैले सकेसम्म बलियो स्क्वाड तयार गर्नमा हाम्रो काम हुन्छ।

यो हिमालसँग बढी नै ठोकियो जस्तो पनि लाग्छ। तपाईंको अर्को क्लब पनि थियो, अर्को खेलको कुरा गर्दा भलिबलमा अन्नपूर्णले पहिलो संस्करणमा च्याम्पियन बन्यो। क्रिकेटमा भने सोचेजस्तो नतिजा देखिएको छैन। कमब्याकको योजना के छ? कसरी सोच्नुभएको छ? के फरक गरिरहनुभएको छ? योजना के हो?
हरेक संस्करणमा जाँदा आठवटै फ्रान्चाइजले ट्रफी जित्ने, कमसेकम प्लेअफमा पुग्ने उद्देश्यले नै जाने हो। हामी अघिल्ला संस्करणहरूमा पनि सकेसम्म राम्रो तयारीका साथ राम्रो नतिजाका लागि नै गएका थियौँ। विभिन्न कारणले त्यो हुन सकेन। तर यसपालि ती दुई संस्करणबाट हामीले सिकेका कुरालाई, त्यतिबेला भएका गल्तीलाई हटाउँदै, कार्यान्वयन गर्दै जाने हो। अर्को कुरा, मैदानमा खेल्ने त खेलाडीले नै हो। त्यसैले सकेसम्म बलियो स्क्वाड तयार गर्नमा हाम्रो काम हुन्छ।
त्यो अक्सनदेखि, रिटेन-रिलिजदेखि नै सुरु हुन्छ, अक्सनपछि विदेशी खेलाडी ल्याउँदा सकेसम्म बलियो र सकेसम्म सन्तुलित टिम निर्माण गर्नमा हामी काम गरिरहेका हुन्छौँ। यो वर्ष पनि गरिरहेका छौँ, पहिलाभन्दा अझ बढी मेहनत गरेका छौँ, किनकि ‘नतिजा ल्याउनै पर्छ’ भन्ने भावना टिमभित्र हेड कोचलगायत सबैमा छ। खेलाडीहरू पनि सबै त्यही किसिमले यसपालिका लागि तयारी अवस्थामा हुनुहुन्छ।
पोखराको अघिल्ला दुई संस्करण हेर्दा नेपाली र विदेशी खेलाडीबीच तालमेल मिलाउन अलि गाह्रो भएको हो कि? विदेशी खेलाडी आफ्नै शैलीमा खेलिरहेका, नेपाली खेलाडी आफ्नै तरिकाले खेलिरहेका जस्तो देखिन्थ्यो। तपाईंले यसलाई कसरी विश्लेषण गर्नुभएको छ? त्यसलाई समाधान गर्न यसपटक के फरक हुन्छ?
ठ्याक्कै त्यो रूपमा हाम्रो अनुभव छैन। कतिपय कुरा हामीले चाहँदाचाहँदै पनि सबै एकदम मिलेको जस्तो नदेखिने सम्भावना पनि हुन्छ। अघिल्लो सिजनमा कतिपय खेलाडीलाई हामीले बीचमा ल्याएका थियौँ, कोही दुई-तीन म्याच खेलेर फर्कने अवस्था पनि भयो, कमसेकम चारवटा म्याच खेल्ने त थियो। कोही टुर्नामेन्टको बीचमै छोडेर जाने, कोही बीचमा आएर जोइन गर्ने हुँदा तारतम्य नमिलेको जस्तो देखिन्थ्यो होला। तर त्यस्तो हामीलाई महसुस भएन। तैपनि क्लोज क्याम्पदेखि नै सबैजना एकै ठाउँमा आएर अभ्यास गरेर टुर्नामेन्ट खेल्न जाने अवस्था हुन्थ्यो भने निकै राम्रो हुन्थ्यो।
तर तपाईंहरूलाई थाहै छ, संसारभर विभिन्न लिग छन्, त्यसैले उनीहरूले क्लोज क्याम्पदेखि नै सहभागिता जनाउन सम्भव हुँदैन। त्यो तारतम्य मिलाउने, सञ्चार स्थापित गर्ने कुरा हामीलाई मात्र होइन, सबै फ्रेन्चाइज टिमहरूका लागि चुनौतीपूर्ण गतिविधि हो। तर जुन कुरा हाम्रो नियन्त्रणमा छैन, त्यसमा पनि सकेसम्म काम गरेर विदेशी र स्वदेशी खेलाडीबीच सञ्चार स्थापित होस् भनेर हामी विभिन्न गतिविधि गर्छौँ।
यसपालि पनि कमसेकम उपलब्ध हुन सक्ने खेलाडीहरूलाई अलि अगाडि नै ल्याएर अभ्यास गर्ने वातावरण निर्माण गर्नमा हामी लागिरहेका छौँ।
बंगलादेशका पूर्व कप्तान, अलराउन्डर शाकिब अल हसन यसपालिको एनपीएलका हेभीवेट खेलाडीमध्येका एक हुनुहुन्छ। तपाईंहरूले भित्र्याइसक्नुभएको छ, अर्का खेलाडी पनि त्यति नै हेभिवेट भित्रिएका छन्। बाँकी खेलाडीको घोषणाका लागि के छ? कस्ता खेलाडी आउँदैछन्?
हजुर, हामी कुराकानी गरिरहेकै छौँ। केही प्रक्रियागत कुरा पनि छन्। अघिल्लो सिजनमा हामीसँग टेस्ट कोटा हुँदा हामीले यही समयतिर टेस्ट खेलाडी ल्याएर घोषणा गरिसकेका थियौँ। यसपाली हामीसँग टेस्ट कोटा छैन। तर क्यानबाट हामीले पाएको जानकारीअनुसार यसपाली आईसीसीको पूर्ण सस्पेन्सन हट्ने भएकाले, त्यो भएपछि टेस्ट खेल्ने राष्ट्रका खेलाडी, ६ जनामा पाँच जनासम्म (एक जना त एसोसिएट राष्ट्रबाट ल्याउनैपर्ने भएकाले) अरू पाँचै जना ल्याउन पाउने गरी भोलिको दिनमा खुल्ने कुरा आएको छ।
त्यसैले त्यसमा हामी पर्खिरहेको अवस्था छ। तर पर्खिरहे पनि ब्याक-एन्डमा हाम्रो तयारी छ, हामी कुराकानी गरिरहेका छौँ। सम्भवतः अबको केही दिनभित्र आईसीसीको औपचारिक जवाफ आउने जानकारी पनि हामीले पाएका छौँ। आईसीसीको जवाफ आउनेबित्तिकै भोलिपल्टै घोषणाका लागि हामी तयार अवस्थामा बसिरहेका छौँ।
तेस्रो सिजनसम्म आउँदा अघिल्ला सिजनभन्दा स्पोन्सरसिपमा कम्फर्ट लेभल बढ्दै गएको देखिरहेका छौँ। ब्रान्डहरूको चासो बढ्दै छ, ब्रान्डहरूमा विविधता पनि बढ्दै गएको छ, त्यो पनि अर्को राम्रो पक्ष हो।

पहिलो संस्करणदेखि नै टिममा ठूलो लगानी गर्नुभयो। सुरुमा स्पोन्सरसिपबिनै ‘ग्लेसियर म्याटर्स’ लिएर आउनुभयो। अहिले खेलाडीका ठूला नामसँगै एनपीएलको बजार पनि विस्तार भइरहेको छ। बजारको यो विस्तारसँगै विज्ञापन र स्पोन्सरसिपबाट अपेक्षित आम्दानी कत्तिको जुटिरहेको छ?
समग्रमा भन्दा, एनपीएलको जुन वृद्धि हामीले देखिरहेका छौँ, त्यो तपाईंको सोचेभन्दा राम्रो गएको पाउँछौँ, विभिन्न चुनौतीका बाबजुद। त्यो वृद्धि आउटस्ट्यान्डिङ छ। तपाईंहरूले पनि हेरिरहनुभएकै छ, ब्रोडकास्ट राइट्स जुन रेकर्ड मूल्यमा बिक्री भइरहेको छ, त्यसले देखाउँछ कि एनपीएल एउटा ग्रोथ ट्राजेक्टरीमै छ। अर्को कुरा, तपाईंले भन्नुभयो, खेलाडी ल्याउने अथवा हाम्रो खर्चसँग त्यो अलाइन भइरहेको छ कि छैन भन्ने कुरामा म के भन्छु भने, कुनै पनि फ्रेन्चाइज लिगमा स्पोन्सरसिप र बिग प्लेयर साइनिङबीच प्रत्यक्ष सम्बन्ध हुन्छ।
स्पोन्सरसिपबाट फ्रेन्चाइजले खासै ठूलो नाफा कमाउँदैन। उसले के गर्छ भने, यता स्पोन्सरसिप राम्रो देखियो भने ‘ल, म अलि ठूलो खेलाडी ल्याउँछु’ भन्छ र त्यतातिर बढी खर्च गर्छ। अथवा ठूलो खेलाडी साइन गर्दा अलि खर्च गरेँ भने स्पोन्सर पनि मकहाँ आउँछ कि भनेर ब्रान्ड इच्छुक हुन्छन्। यो एकदम प्रत्यक्ष सम्बन्धित कुरा हो।
त्यसैले ठूला खेलाडीको साइनिङ देखिरहँदा स्पोन्सरसिप रकमहरू पनि टिमहरूको बढ्दै गएको रहेछ भनेर बुझ्न सकिन्छ। तेस्रो सिजनसम्म आउँदा अघिल्ला सिजनभन्दा स्पोन्सरसिपमा कम्फर्ट लेभल बढ्दै गएको देखिरहेका छौँ। ब्रान्डहरूको चासो बढ्दै छ, ब्रान्डहरूमा विविधता पनि बढ्दै गएको छ, त्यो पनि अर्को राम्रो पक्ष हो।
नेपालभित्रका र बाहिरका ब्रान्डहरू पनि आइरहेका छन्, त्यो पनि अर्को राम्रो पक्ष हो। यसरी स्पोन्सरसिपको दायरा र रकम पनि बढ्दै गइरहेको छ। त्यसैगरी साइनिङहरू पनि ठूला-ठूला खेलाडी ल्याउन अघि बढिरहेका छन्। आईसीसीको पूर्ण सस्पेन्सन हटेपछि म अझै अर्का चार-पाँच जना एकदमै ठूला खेलाडीको घोषणा हुन्छ भन्ने ठान्छु।
तेस्रो संस्करण हुँदैछ। एउटा सिजनको एउटा फ्रेन्चाइजलाई कति खर्च पर्न आउँछ?
हाराहारी आठदेखि १० करोड रुपैयाँ।
फ्रेन्चाइजलाई जति आक्रामक ब्रान्ड आए, उहाँहरूले त्यही अनुसार खर्च गर्ने हो। त्यसले हामीलाई सहयोग नै गर्छ। अघि मैले भनेझैँ, सिजन वनदेखि स्पोन्सरसिपको दायरा केही बढ्दै गएको मैले देख्छु, त्यो सकारात्मक पक्ष पनि हामीले हेर्नुपर्छ।

त्यो हिसाबले त क्यानबाट पहिलो सिजन, दोस्रो सिजनमा आइरहेको रकम, पछि आउने रकम त निकै सानो भयो होइन र?
हजुर। बाँकी रकम हामीले प्रायोजकबाटै कभर गर्नुपर्ने हुन्छ।
तयारीमै म अलि जोड गर्न चाहन्छु। क्याम्प बस्नका लागि बीचमा दसैं भयो। तयारी कसरी हुन्छ? विदेशी खेलाडीसँग तालमेल मिलाउन कसरी? राष्ट्रिय टोली पनि अहिले बाहिर हुनुहुन्छ।
उपलब्ध खेलाडीलाई हामी क्याम्पमा राखिहाल्छौँ। हाम्रो क्याम्प पोखरामा हिजोबाट सुरु भइसकेको छ। उपलब्ध खेलाडी र टिम अफिसियलहरूलाई राखेर हामीले क्याम्प सुरु गरिसकेका छौँ। जो जुन समयमा उपलब्ध हुनुहुन्छ, उहाँहरू जोइन गर्दै जाने अवस्था हो। यसपाली हामीले नयाँ हेड कोच ल्याएका छौँ, अजन्था मेन्डिस आउनुभएको छ। उहाँले कमसेकम हाम्रा जो-जो स्थानीय खेलाडी उपलब्ध हुनुहुन्छ, उहाँहरूसँग एउटै क्याम्पमा बसेर उहाँहरूको स्किल सेट थाहा पाउने र त्यही अनुसार रणनीति बनाउन सहज होस् भनेर हेड कोच, एनालिस्ट र स्ट्रेन्थनिङ एन्ड कन्डिसनिङ कोच गरी तीन जना र हाम्रा जति पनि नेपाली खेलाडी छन्, सबै अहिले यहीँ हुनुहुन्छ।
एक जना अर्जुन कुमाल बाहिर हुनुहुन्छ। बाँकी सबै जना पोखराको क्याम्पमा हुनुहुन्छ। अरू डोमेस्टिक खेलाडी अर्जुन कुमाल फर्किएपछि जोइन गर्नेछन्, अरू विदेशी खेलाडी पनि कोही अलि अगाडि जोइन गर्दै छन्, कोही टुर्नामेन्टको दुई-तीन दिनअघिसम्म आइपुग्ने गरी हाम्रो योजना बनेको छ।
मैदानभित्र एउटा खेल चलिरहेको छ, प्रायोजनमा कर्पोरेटको अर्कै खेल चलिरहेको छ। बैंकहरू प्रतिस्पर्धामा छन्, कुनै अटोमोबाइलहरू भिडिरहेका छन्, अनि अहिले आइपुग्दा एनर्जी ड्रिंकसम्म भिडिरहेको छ। यो सिनारियोले फ्रेन्चाइजलाई कतिको फाइदा भइरहेको छ? बजारमा कतिको सजिलो भएको छ? किनकि प्रतिस्पर्धा त मैदानमा मात्र होइन, प्रायोजनमा पनि चलिरहेको छ।
फ्रेन्चाइजलाई जति आक्रामक ब्रान्ड आए, उहाँहरूले त्यही अनुसार खर्च गर्ने हो। त्यसले हामीलाई सहयोग नै गर्छ। अघि मैले भनेझैँ, सिजन वनदेखि स्पोन्सरसिपको दायरा केही बढ्दै गएको मैले देख्छु, त्यो सकारात्मक पक्ष पनि हामीले हेर्नुपर्छ।
कुनै बेला गाडीहरूको बढी संलग्नता थियो भने अहिले आएर एनर्जी ड्रिंक देख्दै छौँ, भोलि अर्को सिजनमा अर्को देखिएला। तर यसले सबैले के बताउँछ भने, एनपीएलमा ब्रान्डहरूको चासो छ। आजको दिनमा हेर्दा नेपाल प्रिमियर लिग नेपालको सबैभन्दा ठूलो इभेन्ट र आजको दिनको सबैभन्दा ठूलो ब्रान्ड हो। त्यसो भएपछि त्यो ब्रान्डसँग, त्यो इभेन्टमा आफ्नो उपस्थिति देखाउन ब्रान्ड र कर्पोरेटहरूको चासो रहन्छ नै। यो एकदमै सामान्य कुरा हो। तपाईंहरूलाई अहिले जुन कर्पोरेटहरूको आक्रामकता लागिरहेको छ, त्यो बढ्दै जाने हो, किनकि मैले भनेझैँ नेपालको सबैभन्दा ठूलो इभेन्ट, सबैभन्दा ठूलो ब्रान्डसँग जोडिन खोज्नु स्वाभाविकै हो।
अर्को कुरा, नेपालभित्रका स्वदेशी ब्रान्डसँगै बाहिरका बहुराष्ट्रिय (मल्टिनेसनल) कम्पनी पनि आउनु, उहाँहरू पनि उत्तिकै आक्रामक भएर आउनुको मतलब उहाँहरूलाई अब विश्वास भइसकेको छ कि एनपीएल एउटा वेल-इस्टाब्लिस्ड इभेन्ट हो, जहाँ हाम्रो ब्रान्डलाई आबद्ध गर्दा फरक पर्दैन। यसले लिगको दिगोपनमा पनि उहाँहरू कन्भिन्स भएको जस्तो देखिन्छ, त्यो पनि अर्को राम्रो पक्ष हो।
यसले अरू बहुराष्ट्रिय कम्पनीलाई आउन प्रेरित गर्छ। एउटै क्याटेगोरीको भयो भने ‘मेरो प्रतिस्पर्धी गयो’ भनेर आउने अवस्था पनि होला, होइन भने पनि एउटा बहुराष्ट्रिय कम्पनी यस्तो ब्रान्ड गएर जोडिएको छ भने ‘त्यसो भए हामी पनि एनपीएलमा आबद्ध हुन सकिन्छ’ भन्ने कन्फिडेन्स बन्दै गएको हामीले पाइरहेका छौँ। ठूला नामका कर्पोरेटहरूको यस्तो प्रतिस्पर्धा र एमएनसीहरू पनि इच्छुक भएको यस्तो स्थिति अहिले देखिएको छ।
मनी बर्निङ भने पनि भयो, त्यतिबेलासम्म लगानी गरिरहनुपर्ने भने पनि भयो। कुनै पनि उद्योग लगाउँदा हामी जति धैर्य राख्छौँ, त्यो धैर्य यसमा पनि राख्नुपर्छ भन्ने कुरामा हामी पहिलो दिनदेखि नै स्पष्ट छौँ।

यो सबै स्थिति हेर्दा फ्रेन्चाइजहरू चाँडै ब्रेक इभनमा पुग्छन् कि जस्तो पो सुनियो। ब्रेक इभनबाट हामी कति टाढा छौँ? ब्रेक इभन कहिले, कुन सिजनसम्ममा हुन सक्ला?
यसमा म के भन्छु भने, हाम्रो टिमको ओनरसिप खुलासा भएपछि एक-दुई ठाउँमा अन्तर्वार्ता दिँदा पनि त्यतिबेला ‘यत्रो धेरै पैसा हाल्नुभएको छ’ भन्ने प्रश्न आएको थियो। विशेषगरी पोखरालाई त झन् अझ सबैभन्दा उच्च बिड गरेर लिएको भन्ने हिसाबले पनि। सबै प्रश्न के थिए भने, यसको रोडम्याप तपाईंहरूले के देख्नुभएको छ, यो भोलि दिगो हुन्छ कि हुँदैन। यस्ता प्रश्न आउँदा मैले त्यतिबेला भनेको थिएँ कि हाम्रो पोखरा एभेन्जर्सको फ्रेन्चाइज क्रिकेटमा लगानी भनेको हामीले कुनै उद्योगमा गरेको जस्तै हो। कुनै उद्योग लगाउँदा पनि सुरुका केही वर्ष सेटअप गर्नुपर्छ। त्यसलाई ब्रेक इभनसम्म पुर्याुउन लाग्ने समय तीनदेखि पाँच वर्ष जस्तो न्यूनतम समय लाग्छ।
मनी बर्निङ भने पनि भयो, त्यतिबेलासम्म लगानी गरिरहनुपर्ने भने पनि भयो। कुनै पनि उद्योग लगाउँदा हामी जति धैर्य राख्छौँ, त्यो धैर्य यसमा पनि राख्नुपर्छ भन्ने कुरामा हामी पहिलो दिनदेखि नै स्पष्ट छौँ। हामीले स्पोर्ट्स इन्डस्ट्रीमा लगानी गरेका हौँ। कुनै स्पोर्ट्सको एउटा वर्ष, एउटा इभेन्टमा गरेका होइनौँ, यो इन्डस्ट्री हो। यसलाई त्यही रूपमा लगानी गर्दै विकास गर्दै लानुपर्छ भनेर गरेको हो। त्यतिबेला तपाईंहरूले हेर्नुभयो भने मैले के भविष्यवाणी गरेको थिएँ भने, सुरुका तीन वर्ष हाम्रो लगानी हुन्छ, चौथो वर्षतिर हामी अपरेसनल ब्रेक इभनमा पुग्छौँ भन्ने त्यतिबेलाको हामीले एक किसिमको आकलन गरेका थियौँ।
मैले अघि भनेझैँ, एनपीएलले सोचेभन्दा राम्रो वृद्धि गरेको छ। यही कारणले हामी पनि यसपालि ब्रेक इभनमा पुग्न नसके पनि नजिक पुग्छौँ भन्ने अपेक्षा गरिरहेका छौँ। कतिपय टिमहरू ब्रेक इभनमा निश्चित रूपमा पुग्नुहुन्छ, त्यो हामी देखिरहेका छौँ। अर्को वर्ष त आठमा आठै ब्रेक इभनमा पुग्लान् भन्ने एउटा सोच हो।
तर त्यसका लागि हामीले जुन खालको प्रतिबद्धता गरिरहेका छौँ, एनपीएल यस्तो हुन्छ, एनपीएलमा हामी यस्ता खेलाडी ल्याउँछौँ, यस्ता प्रविधि प्रयोग गर्छौँ भन्ने कुरा हामीले इमानदारीपूर्वक पूरा गर्नुपर्छ, किनकि ब्रान्डहरूले हेर्ने त्यही नै हो। विशेषगरी एमएनसी ब्रान्ड हामीसँग जोडिन आए भने उहाँहरूले हेर्ने त्यही नै हो। त्यसैले प्रतिबद्धता पूरा गर्ने कुरामा यो अझै कति अघि बढ्छ, यसको स्पोन्सरसिप रकम कसरी बढ्दै जान्छ भन्ने कुरा भर पर्छ।
यो एउटा पाटो भयो। अर्को प्रमुख पाटो के छ भने, कुनै पनि फ्रेन्चाइज लिगको एउटा प्रमुख रेभेन्यु स्रोत ब्रोडकास्ट हो। जुन किसिमले ब्रोडकास्ट राइट्समा प्रतिस्पर्धा हुँदै यसपाली एउटा फिगर छोएको छ, त्यो वर्षौँसम्म बढ्दै जाने हो, किनकि ग्लोबली आजको दिनमा ओटीटी प्लेटफर्ममार्फत सबैले हेर्न मिल्छ।
नेपाली डायस्पोरा, नेपाली समुदायले पहिलेदेखि हेरेर साथ दिनुभएकै हो, तर अब हामीले ल्याइरहेका ठूला नाम र शाकिब अल हसन हामीसँग जोडिएपछि हाम्रो सोसल मिडियामा पनि फ्यान बेस देखिरहेका छौँ। हाम्रो स्ट्याट्स हेर्दा एउटा ठूलो बंगलादेशी समुदायले फलो गरिरहेको देख्छौँ। त्यसपछि हाम्रो ब्रोडकास्टिङको टार्गेट अडियन्स नेपाली मात्र होइन भनिसकेपछि, खेलाडीहरूले ल्याउने अर्को ठूलो दर्शक संख्या पनि छ, त्यसले गर्दा रेभेन्यु पनि बढ्दै जाने हो। त्यसैले यी सबै कुरा हामीले भने अनुसार फ्रेन्चाइज टिमहरूले इमानदारीपूर्वक आफ्ना प्रतिबद्धता डेलिभर गर्यौँ भने, आउँदो समयमा आठवटै टिम ब्रेक इभनमा पुग्छन् जस्तो मलाई लाग्छ।
पोखराको त अस्ति भुटान टुर अफ नेपालमा हामीले देखिहाल्यौँ, पोखराको ग्राउन्ड छ, कमसेकम एउटा इन्फ्रास्ट्रक्चर छ, जहाँ हामीले विदेशी टिमलाई बोलाएर अस्ति टुर्नामेन्ट गरेका छौँ।

ठूला ब्रान्ड, चर्चित खेलाडी र डीआरएसजस्ता प्रविधि भित्र्याउँदै एनपीएल अघि बढिरहेको छ। तर एउटै मैदानमा लगातार खेल्दा पिचको अवस्था बिग्रिने र फाइनलमै प्रश्न उठ्ने गरेको छ। फुटबल र क्रिकेटमा ‘होम एन्ड अवे’ ले फ्यान बेस बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ। एउटै मैदानमा खेलाएर एनपीएललाई दीर्घकालीन रूपमा विस्तार गर्न सकिन्छ?
त्यही त, त्यो कुरा तपाईंले जुन भन्नुभयो, मैले अघि नै एउटा कुरा भनेको छु नि, हामीले जे प्रतिबद्धता गरिरहेका छौँ त्यो डेलिभर गर्नुपर्छ। हिजोको जस्तो चौरमै बसेर हेर्दा पनि त भरिएकै थियो। बरु अहिले सिटिङ क्यापासिटी घटेको छ। त्यतिबेला त चौरभरि बस्ने, रुखमाथि पनि चढ्ने गरेर दर्शक हुन्थे, दर्शक संख्या त्यतिबेला अहिलेको कुनै म्याचभन्दा बढी पनि हुन्थ्यो। तर हामी अर्गनाइज फ्रेन्चाइज लिग गर्न खोजिरहेका छौँ, यसलाई प्रोफेसनल्ली-ड्रिभन स्पोर्टिङ इभेन्टका रूपमा लैजान खोजिरहेका छौँ भने केही कुरामा काम गर्नैपर्छ, इन्फ्रास्ट्रक्चरसहित।
प्रविधिको कुरा अघि हामीले अलिकति गरिहाल्यौँ। त्यसबारे क्यानबाट आधिकारिक रूपमा केही सुखद खबर आउँछ भन्ने कुरा नै छ। प्रविधिको कुरा पनि गएर होम एन्ड अवे र इन्फ्रास्ट्रक्चरसँग जोडिन्छ।
तर पहिलो कुरा भनेको, स्टेडियम पुगेन भन्ने कुरा त हामीले दोस्रो सिजन सकिने बित्तिकै, जब पिच टर्न भएर गयो, तब उठाएका थियौँ। सिजन टु सकेलगत्तै सुरुकै दिनहरूमा हामी क्यानसँग बसेर छलफल पनि गर्यौँ । ‘अवे’ त भोलि जाने नै हो, तर होम एन्ड अवे भन्दा अगाडि एउटा चरण ‘मल्टिपल भेन्यू’ लिग गर्नुपर्यो। अर्थात् कमसेकम पनि टीयू र मुलपानीमा गर्न सकिन्छ कि भन्ने खालको छलफल हामीले चलाएका थियौँ। तर सरकारको तर्फबाट बजेटिङका प्रक्रियालगायत कुराले गर्दा यसपाली फेरि एउटै सिंगल भेन्यूमा जानुपर्योि, तर पिचमा हामी राम्ररी काम गर्छौँ भन्नुभएको छ।
मेरो विचारमा चाहिँ होम एन्ड अवे जानैपर्छ। कुनै पनि फ्रेन्चाइज लिगको एडभान्स लेभल गोल भनेको त्यही नै हो। त्यसले दिगोपनमा ठूलो योगदान गर्छ। तर त्योभन्दा अगाडिको स्टेप भनेको एनपीएललाई मल्टिपल भेन्यू बनाउनु हो। त्यसका लागि कमसेकम अर्को वर्ष, सिजन फोर, कम्तीमा पनि दुईवटा भेन्यूमा आयोजना हुनुपर्छ, त्यसका लागि सायद हामी तयार पनि हुन्छौँ होला।
पोखराको त अस्ति भुटान टुर अफ नेपालमा हामीले देखिहाल्यौँ, पोखराको ग्राउन्ड छ, कमसेकम एउटा इन्फ्रास्ट्रक्चर छ, जहाँ हामीले विदेशी टिमलाई बोलाएर अस्ति टुर्नामेन्ट गरेका छौँ। यसपालि पनि सम्बन्धित निकायले केही काम गर्दै हुनुहुँदो रहेछ। त्यसलाई जतिसक्दो चाँडो हामीले पोखराको होम ग्राउन्ड, होम स्टेडियमका रूपमा विकास गर्नुपर्छ भनेर हामीले जहाँ-जहाँ भन्न सकिने ठाउँहरूमा सबैतिर भनेका छौँ।
एनपीएलको भोलिको होम एन्ड अवेमा जानका लागि, नेपालको सबैभन्दा ठूलो इभेन्टका लागि, सबैभन्दा ठूलो ब्रान्डका लागि सरकारको साइडबाट एउटा योगदानका रूपमा त्यो आउने हो। त्यसैगरी चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम अझ अगाडि नै तयार हुन्छ कि भन्ने सोचिरहेका छौँ। विभिन्न इनिसिएटिभ सबैतिर भइरहेका छन्। त्यसले आठवटा टिमका लागि आठवटा होम ग्राउन्ड स्टेडियम तयार गर्नुपर्ने छ।
त्यसमा सरकारसँग कुराकानी भइरहेको छ, योजनामा परिरहेको छ भन्ने कुरा हामी सुनिरहेका छौँ, खबरहरूमा पनि आइरहेको छ। भर्खर कुनै सम्झौता भएको छ। त्यसले गर्दा आशा छ, अर्को सिजन हामी मल्टिपल भेन्यूमा र त्यसपछिको सिजनमा होम एन्ड अवे फर्म्याटमा जान सक्ने अवस्थामा पुग्छौँ होला।
लगातार दुई सिजन नतिजा नआउँदा एक किसिमको निराशा आउनु स्वाभाविक हो, तर खेलमा जाँदा खेलाडीका रूपमा, सपोर्टरका रूपमा हामी जहिले पनि फाइट नै गर्ने हो, हामी संघर्ष गर्छौँ।

खेलमा फ्यान्सहरूको भूमिका निकै ठूलो हुन्छ। तपाईंहरू प्लेअफ पुगेर फाइनलमा पुग्नुभएको भए अझै सजिलो हुन्थ्यो होला। त्यसको बाबजुद पनि फ्यानहरू तपाईंहरूका निकै राम्रो छ। यो हिसाबले हेर्दा यसपाली फ्यानहरूलाई के भन्न चाहनुहुन्छ? यसपालिको सपना के छ?
फ्यानहरूलाई विशेषगरी, पहिलो कुरा त विभिन्न चुनौती र विषम परिस्थितिका बाबजुद पनि उहाँहरूले पोखरा एभेन्जर्सलाई अझै विश्वास गरिरहनुभएको छ, सपोर्ट गरिरहनुभएको छ। त्यसका लागि सर्वप्रथम पोखरा एभेन्जर्सको तर्फबाट धन्यवाद भन्न चाहन्छु, हार्दिक कृतज्ञता ज्ञापन गर्छौँ। अर्को कुरा, फ्रेन्चाइज लिगको इतिहास हेर्यौँ भने कुनै पनि टिमले सधैं जित्ने, सधैं राम्रो प्रदर्शन गर्ने भन्ने पनि सम्भव हुँदैन।
विभिन्न कारण हुन्छन्, ती कारण पत्ता लगाउँदै आफ्ना कमजोरी सुधार्दै नतिजा ल्याउने प्रयास गर्ने हो। हामी त्यही प्रयासमा छौँ। यसपाली त हामीले धेरै कुरा रीवर्क गरिरहेका छौँ। नयाँ हेड कोच ल्याएका छौँ, अफिसियल्स टिममा पनि व्यापक परिवर्तन भएको छ। विदेशी खेलाडीमा अक्सनमा हाम्रो कति नियन्त्रण भयो नभयो त्यो छुट्टै कुरा, तर विदेशी खेलाडीमा पनि राम्ररी नै हामी काम गरिरहेका छौँ। क्याम्प सुरु गरिसकेका छौँ। दसैंकै बीचमा भए पनि यो यात्रालाई निरन्तरता दिँदै टुर्नामेन्टसम्म तयार हुने गरी हामी काम गरिरहेका छौँ। त्यसैले सुखद नतिजाको अपेक्षा गर्न म अनुरोध गर्छु।
लगातार दुई सिजन नतिजा नआउँदा एक किसिमको निराशा आउनु स्वाभाविक हो, तर खेलमा जाँदा खेलाडीका रूपमा, सपोर्टरका रूपमा हामी जहिले पनि फाइट नै गर्ने हो, हामी संघर्ष गर्छौँ। यसपाली हामी नतिजा ल्याउने गरी तयारी गरिरहेका छौँ। त्यसैले तपाईंहरूको साथ, सहयोग र समर्थन पहिलाभन्दा अझ बढी होस्, हामी जसरी पनि तपाईंहरूलाई सुखद नतिजा दिएर देखाउँछौँ।









