तनहुँ जलविद्युत् आयोजनाले गर्‍यो विपद् पूर्वतयारी, प्रतिकार्य क्षमता अभिवृद्धि गर्न अभ्यास

बिजमाण्डू
२०८३ असोज २५ गते १५:३५ | Oct 11, 2026
तनहुँ जलविद्युत् आयोजनाले गर्‍यो विपद् पूर्वतयारी,  प्रतिकार्य क्षमता अभिवृद्धि गर्न अभ्यास


काठमाडौं। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण, जनशक्तिको सुरक्षा तथा आपत्कालीन अवस्थामा प्रभावकारी उद्धार र प्रतिकार्य सुनिश्चित गर्न मुख्य बाँध निर्माणस्थलमा विपद् नमुना अभ्यास सम्पत्र गरेको छ।

GBIME
Tata

आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत आपत्कालीन प्रतिकार्य उपयोजनाबमोजिम संचालन गरिएको अभ्यासमा प्याकेज-१ (हेडवक्र्स) र प्याकेज-२ (मुख्य सुरुङ, विद्युतगृहलगायतका संरचना तथा सम्बन्धित उपकरणहरु)मा कार्यरत जनशक्तिलाई लक्षित गरिएको थियो।

अभ्यासमा क्रममा सम्भावित विपद्का बेला अपनाउनुपर्ने सुरक्षा सावधानी, तत्काल उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा आपत्कालीन अवस्थामा प्रभावकारी समन्वय गर्ने विधिबारे व्यवहारिक अभ्यास गरिएको थियो।

नमुना अभ्यासमा तनहुँ हाइड्रोपावर लिमिटेड (टिएचएल) का प्रबन्ध संचालक, आयोजना प्रबन्धक तथा अन्य पदाधिकारी, नेपाली सेनाको दमौलीस्थित कालिभञ्जन गणका अधिकारी, आयोजना सुपरीवेक्षण परामर्शदाता (पीएससी), वातावरण तथा सामाजिक व्यवस्थापन सेवा प्रदायक र निर्माण व्यवसायीका प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा टिएचएलका प्रबन्ध संचालक छविलाल गैह्रेले विपद् व्यस्थापनमा पूर्वतयारी, समयमै सूचना प्रवाह र प्रभावकारी उद्धार प्रणालीको महत्वमा जोड दिँदै आयोजनाले निर्माणस्थलमा कार्यरत जनशक्तिको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेको बताएका थिए। 

उनले यस्ता अभ्यास विपद्का बेला तत्काल निर्णय लिन, सम्बन्धित निकायबीच समन्वय गर्न तथा मानवीय क्षति न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने बताए। आयोजनाको प्रतिबद्धता निर्माणस्थलमा कार्यरत जनशक्तिको सुरक्षामा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले बाँधस्थलभन्दा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई सम्भावित बाढी तथा अन्य जोखिमबारे सचेत गराउन र आपत्कालीन अवस्थामा सुरक्षित रहन विभित्र कार्यक्रम संचालन भइरहेको जानकारी दिए।

आयोजनाले बाँधस्थलदेखि तल्लो तटीय क्षेत्र हुँदै सेती र त्रिशूली नदीको दोभानसम्म सम्भावित जोखिमबारे समयमै सूचना प्रवाह गर्न १७ वटा साइरन जडान गरेको छ। त्यसैगरी, नदीमा बाढी आएमा सुरक्षित स्थानमा जान तथा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिन १० स्थानमा सूचनामूलक होर्डिङ बोर्ड राखिएको छ।

आयोजनाले विपद् जोखिम न्यूनिकरणलाई निर्माण व्यवस्थापनको अभिन्न अंगका रूपमा अघि बढाउँदै आएको जनाएको छ। नियमित नमुना अभ्यास, आपत्कालीन प्रतिकार्यको तयारी, पूर्वसूचना प्रणालीको सुदृढीकरण र तल्लो तटीय क्षेत्रका समुदायमा जनचेतना अभिवृद्धिमार्फत निर्माणस्थलमा कार्यरत जनशक्ति तथा स्थानीय बासिन्दाको सुरक्षा सुनिश्चित गर्न आयोजना प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।