काठमाडौं। गैरकानुनी प्रक्रिया प्रयोग गरी हिमालयन रि-इन्स्योरेन्समार्फत रि-इन्स्योरेन्स ब्रोकरेज लिएर सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दीपक भट्टमाथि थप अर्को मुद्दा दायर भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्ध बीमातर्फ २३ करोड ९२ लाख र सम्पत्ति शुद्धीकरणतर्फ २१ करोड १५ लाख रुपैयाँ बिगो कायम गरी बिहीबार जिल्ला अदालत काठमाडौंमा अर्को मुद्दा दायर गरेको हो।
यो मुद्दामा भट्टसँगै हिमालयन रि-इन्स्योरेन्सका तत्कालीन सञ्चालक समिति, तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखरन रामामूर्ति, निलम्बित प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, तत्कालीन कार्यकारी प्रमुख मनिष कुमारलाई प्रतिवादी बनाइएको छ। चन्द्रशेखरन, उपासना र मनिष कुमारविरुद्ध २३ करोड ९२ लाख रुपैयाँ बिगो कायम गरिएको छ।
विभागले एलियन्ट रिइन्स्योरेन्स ब्रोकरेज, त्यसको अध्यक्षका रुपमा कार्यरत भट्टकी सासुआमा अञ्जना नेपाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधिरकुमार मल्लिक, बैंकिङ कारोबारमा सहभागी भट्टकी श्रीमती आयुष्मा नेपाल भट्ट र नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालसम्मलाई प्रतिवादी बनाएको छ।
भट्टविरुद्ध यो चौथो मुद्दा हो। उनीविरुद्ध धितोपत्र कसुरमा जिल्ला अदालतमा, बैंकिङ कसुरमा उच्च अदालत पाटनमा र सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतमा मुद्दा विचाराधीन छन्। भट्ट हाल पुर्पक्षका लागि कारागारमा छन्।
के हो यो मुद्दा?
हिमालय रि-इन्स्योरेन्सले २०८० असार ४ गतेदेखि कात्तिक २० गतेसम्म एलियन्ट रि-इन्स्योरेन्स ब्रोकरलाई पाँच पटकमा २८ करोड रुपैयाँ ‘एडभान्स’मा भुक्तानी दिएको थियो।
योमध्ये एलियन्टले ४ करोड रुपैयाँ फिर्ता गर्यो भने बाँकी २३ करोड ९२ लाख पाँच हजार ६४ रुपैयाँ रि-इन्स्योरेन्स ब्रोकर आम्दानीका रुपमा खर्च लेख्यो।
यसरी हिमालयन रि-इन्स्योरेन्सबाट एलियन्ट ब्रोकरलाई भएको भुक्तानी गैरकानुनी भन्दै विभागले भुक्तानी गर्ने, भुक्तानी लैजाने र प्राप्त रकमलाई प्रयोग गर्ने व्यक्ति तथा कम्पनी गरी २० विरुद्ध मुद्दा दायर गरेको हो।
हिमालय रि-इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखरन रामामूर्तिले यो रकम एलियन्टको खातामा पेश्की रकम पठाउन स्वीकृति दिएका थिए।
यसरी पठाएको रकममध्ये २०८० असार ३१ गते १३ करोड ३४ लाख ६२ हजार ६८१ रुपैयाँ र २०८२ असार ३१ गते १० करोड ५७ लाख ४२ हजार ३८२ रुपैयाँ हिमालय रि-इन्स्योरेन्सले खर्च लेखेको थियो।
कम्पनीले यो रकमलाई खर्च लेख्दा आफूकहाँ आएको स्वदेशी जीवन बीमा कम्पनीको व्यापारको ब्रोकरेज कमिसनका नाममा भौचर प्रविष्ट गरेको थियो।
तर, नेपाल बीमा प्राधिकरणले हिमालयन रि-इन्स्योरेन्स र एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिबीच भएको यो कारोबारलाई पेश्कीको दुरुपयोग तथा व्यवसायसँग असम्बन्धित अन्य कारोबार भन्दै बीमा ऐन २०७९ को दफा १४० अन्तर्गतको कसूरजन्य कार्यका रुपमा प्रतिवेदन दिएको छ।
यही प्रतिवेदनका आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यो कारोबारको छानबिन सुरु गरेको थियो। छानबिनका क्रममा विभागले देशका सबै जीवन बीमा कम्पनीका व्यवस्थापन प्रमुखलाई विभागले बयानका लागि बोलाएको थियो।
सबै बीमा कम्पनीका व्यवस्थापन प्रमुखले एलियन्ट इन्स्योरेन्स ब्रोकर्ससँग कुनै सम्झौता वा कारोबार नगरेको, जीवन बीमाको व्यवसायको रिइन्स्योरेन्स गर्न कुनै पनि ब्रोकरेजको आवश्यकता नपर्ने बयान दिएका थिए।
प्राधिकरणको प्रतिवेदन र बीमा कम्पनीका प्रमुखले रिइन्स्योरेन्स ब्रोकरेजका लागि सम्झौता र कारोबार नगरेको बयान दिएपछि हिमालय रि-इन्स्योरेन्स र एलियन्टबीचको कारोबार फर्जी र गैरकानुनी भएको दाबी विभागको छ।
विभागले वास्तविक सेवा लिए/दिएको वा कुनै आर्थिक कारोबार नै नभएको अवस्थामा फर्जी ब्रोकरेज आम्दानी सिर्जना गरी रकमलाई कम्पनीको वैध आम्दानी दाबी गरी कसूर गरेको र त्यो कसूरबाट प्राप्त रकमलाई वैध देखाउने कार्य गरेको आरोप प्रतिवादी भट्टमाथि लगाएको छ।
यो कारोबारलाई सम्पन्न गर्न अग्रिम कर कट्टा गरि सरकारी खातामा राजस्व समेत दाखिला गरिए पनि कसूरबाट प्राप्त सम्पत्ति कर तिरेपश्चात वैध सम्पत्तिमा रुपान्तरण नहुने दाबी समेत विभागले लिएको छ।
भट्ट कसरी जोडिए?
हिमालय रिइन्स्योरेन्ससँग मात्र कारोबार हुने एलियन्ट इन्स्योरेन्स ब्रोकर्स कम्पनी भट्टले आफ्नी सासुआमा अञ्जना नेपालको स्वामित्वमा स्थापित गरेका थिए। हिमालय रि-इन्स्योरेन्सले यसरी ब्रोकरेज भुक्तानी दिएपछि त्यो कम्पनीको आम्दानी हुन्थ्यो।
नगण्य खर्चमात्र हुने यो कम्पनीमा ब्रोकरेजबाट आउने ठूलो आम्दानीलाई मुनाफाका रुपमा देखाउने गरिएको थियो। यसरी भएको मुनाफालाई कम्पनीले लाभांशका रुपमा वितरण गर्दै आएको थियो।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा १८ करोड ५५ लाख ९९ हजार रुपैयाँ तथा आर्थिक वर्ष २०८१/८२ मा १६ करोड २४ लाख ३७ हजार रुपैयाँ लाभांश घोषणा गरेको थियो।
एलियन्टले बाँडेको लाभांश रकममध्ये दुई जना सेयरधनी भट्टकी सासुआमा अञ्जना नेपाल र अर्का सेयरधनी निता अग्रवालको खातामा ट्रान्सफर हुने गरेको थियो।
आर्थिक वर्ष २०८०/८१ मा अञ्जना नेपालको खातामा आएको १७ करोड ८१ लाख ५५ हजार र आर्थिक वर्ष २०८१/८२ मा आएको १५ करोड ६४ लाख २८ हजार सासुआमाले छोरी आयुष्मा नेपाल भट्टको खातामा ट्रान्सफर गरेको अनुसन्धानको मनी ट्रेलमा भेटिएको छ।
आयुष्माले आफ्नो खातामा आएको रकम श्रीमान दीपक भट्टको खातामा ट्रान्सफर गर्ने गरेकी थिइन्। यसरी आएको रकमलाई भट्टले शंकरलाल अग्रवाल, जगदम्बा स्टीललगायतलाई भुक्तानी गरेका थिए।







