काठमाडौं। इ-बिडिङ (अनलाइन ठेक्का) प्रणाली ह्याकिङ प्रकरणमा प्रहरीले ८ जना निर्माण व्यवसायीलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले शुक्रबार पक्राउ गरेकाहरुमाथि थप अनुसन्धान र मुद्दाका लागि साइबर ब्युरो पठाएको छ। प्रहरीका अनुसार ठेकेदार हाइ हिमालयन हाइड्रो कन्स्ट्रक्टका अध्यक्ष किरण मल्ल, सुरेश पोख्रेल, नारायण प्रसाद सितुखे, भक्तबहादुर लामा, ऋृतुबहादुर कार्की, ध्रुब खनाल, गंगाबहादुर सिलवाल रहेका छन्।
यसअघि यही प्रकरणमा प्रहरीले २२ जनामाथि अदालतमा मुद्दा दायर गरेको थियो। १२ जना पक्राउ परे पनि १० जना फरार सूचीमा थिए। पक्राउ परेका केही भने उजुरीको आधारमा थपलाई नियन्त्रणमा लिइएको हो।
यद्यपी, ठेकेदार र ह्याकरसँग समन्वय गरेर ठेक्का दिलाउने भन्दै रकम बार्गेनिङ गर्ने व्यक्तिको पहिचान भने खुलेको छैन। ब्युरोको अनुसन्धान गरेपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत गत वैशाखमा अदालतमा मुद्दा लगेको थियो।
‘उजुरीको आधारमा थप लाई नियन्त्रणमा लिएका हौ। पुरानो मुद्दामा केही फरार रहेका थिए,’ साइबर ब्युरोका एसपी दिलिपकुमार गिरीले भने।
नक्कली पहिचान बनाएका जीवन लिम्बुको बारेमा विस्तृत विवरण नखुलेको प्रहरीको अनुसन्धानमा देखिएको छ। उनी ठेकेदारसँग सम्पर्क गरेर ह्वाट्सएप र इमेलमार्फत ठेक्का मिलाउने र रकम बार्गेनिङ गर्ने भूमिकामा देखिएका थिए। मोबाइल नम्बर ९८२८८६१५५६ को ह्वाट्सएप नम्बर र [email protected] मार्फत निर्माण व्यवसायी ठेकेदारहरूसँग ‘१३ लाखको अन्तर’ भनी प्राविधिक कार्यान्वयनकर्ताको समन्वय र टेन्डर बिडको रकमको आधारमा बार्गेनिङ गरी निर्माण व्यवसायीहरूबाट आपराधिक लाभ लिने गरेका थिए।
प्रतिवादी बनाइएकामध्ये दिवाकर देउजा भने सरकारी कर्मचारी रहेको खुलेको छ। उनले २०७६ सालदेखि सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटा शाखामा कम्प्युटर अपरेटरको रूपमा काम गरिरहेको पाइएको छ। कम्प्युटर अपरेटर देउजाले आइएमएस सर्भर ह्याक गर्ने र ‘ब्याकडोर’ सिर्जना गर्ने मुख्य कार्य गरेको खुलेको थियो।
२०७७ साउनमा देउजालाई सीआइबीको टोलीले पक्राउ गरेको थियो। नेपाल टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको थियो। यसपटक प्रहरीले देउजाको पोलिग्राफ टेस्ट समेत गरेको थियो। जसमा उनको जवाफ झुट भएको देखिएको थियो। रिपोर्टमा ‘डिसेप्सन इन्डिकेटेड’ लेखिएको छ। जिल्ला अदालत काठमाडौंले उनलाई थुनामा पठाएको थियो।











