विदेशी विनिमय सञ्चिति लगानी गर्ने उपकरण खोजी, किरण पण्डितको समितिले पहिचान गर्दैछ क्षेत्र

आकाश बोगटी
२०८३ असोज १९ गते ०६:५० | Oct 5, 2026
विदेशी विनिमय सञ्चिति लगानी गर्ने उपकरण खोजी, किरण पण्डितको समितिले पहिचान गर्दैछ क्षेत्र


काठमाडौं। सरकारले थुप्रिएको विदेशी विनिमय सञ्चिति उपयोग गरेर आम्दानी बढाउन लगानीको क्षेत्र विस्तार गर्ने तयारी गरेको छ।

Vigo
GBIME
Tata

विदेशी विनिमय सञ्चिति निरन्तर बढ्दै गइरहेकाले बढी आम्दानीका लागि दीर्घकालीन रूपमा लगानी गर्न लागिएको हो। यसका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको संयोजकत्वमा समिति गठन गरी अध्ययन भइरहेको छ।

विदेशी विनिमय सञ्चितिलाई बढी प्रतिफल आउने क्षेत्रमा कुन-कुन क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ भन्नेबारे डेपुटी गभर्नर किरण पण्डित संयोजक रहेको चार सदस्यीय समितिले अध्ययन गरिरहेको हो।  

समितिमा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. डिल्लीराम पोखरेल, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र राष्ट्र बैंकका निर्देशक ईश्वरीप्रसाद भट्टराई सदस्य छन्।

समितिले विदेशी विनिमय सञ्चितिबाट बढी आम्दानी बढाउन सकिने सम्भावित क्षेत्र, लगानीका उपकरण र अवधिबारे अध्ययन गरी दुई महिनाभित्र प्रतिवेदन पेस गर्नेछ। समितिले विभिन्न मुलुकको अभ्यास पनि अध्ययन गरिरहेको छ।

हाल राष्ट्र बैंकसँग ३९ खर्ब ५७ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति छ। विदेशी विनिमय सञ्चिति राष्ट्र बैंकले अहिले छिमेकी मुलुक भारतको सरकारी ऋणपत्र, अमेरिकी ट्रेजरी बिल्स र विदेशी बैंकका अल्पकालीन अवधिका मुद्दती निक्षेपमा लगानी गरिरहेको छ।

हालसम्म अल्पकालीन अवधिका लागि लगानी भइरहेकामा अब दीर्घकालीन लगानी गरेर आम्दानी बढाउनेतर्फ अध्ययन केन्द्रित रहेको समितिका एक सदस्यले बताए।

‘जोखिमयुक्त क्षेत्रमा जाने कुरा हुँदैन। तर डलरबाहेक अन्य विदेशी मुद्रामा लगानी गर्न सकिन्छ कि भन्ने विषयमा अध्ययन भइरहेको छ,’ ती सदस्यले भने।

विदेशी विनिमय सञ्चितिको सुरक्षा, तरलता र प्रतिफलबीच सन्तुलन कायम गर्नुपर्ने भएकाले अन्य देशको दोस्रो बजारमा ठूलो जोखिम लिएर लगानी गर्नेभन्दा सुरक्षित तर बढी आम्दानी हुनसक्ने उपकरणमा लगानी विस्तार गर्ने विषयमा अध्ययन भइरहेको छ।

आर्थिक अवस्था राम्रो भएका मुलुकका दीर्घकालीन सरकारी ऋणपत्रमा लगानी गर्ने विकल्पमा पनि समितिको ध्यान गएको छ।

‘अहिले हामीले ६ महिना र एक वर्ष अवधिका लागि लगानी गरिरहेका छौं। धेरैजसो अमेरिकी ट्रेजरी बिलमा लगानी भइरहेकामा अब अर्थतन्त्र राम्रो रहेका देशका ट्रेजरी बिल्समा दीर्घकालीन लगानी गर्ने विषयमा अध्ययन भइरहेको छ,’ ती सदस्यले भने।

विदेशी विनिमय सञ्चितिको मूल उद्देश्य बाह्य क्षेत्रको स्थायित्व र चाहिएका बेला तत्काल प्रयोग गर्न सकिने तरलता कायम गर्नु हो। लगानी गर्दा जोखिम, तरलता र आम्दानीलाई मुख्य आधार बनाइनेछ।

राष्ट्र बैंकले पछिल्लो समय विदेशी विनिमय सञ्चितिको रकम सुनमा लगानी गर्ने क्रम बढाएको छ। सुनमा गरिएको लगानी २०८२ साउनमा ४४ अर्ब रहेकामा अहिले बढेर अहिले ९१ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। ‘हो, हामीले पेपर गोल्डमा लगानी बढाइरहेका छौं,’ राष्ट्र बैंकका एक अधिकृतले भने।

कूल पोर्टफोलियोको करिब १० प्रतिशतसम्म सुनमा लगानी गर्न सकिने व्यवस्था छ।

विश्वका कतिपय केन्द्रीय बैंकले पनि पछिल्लो समय विदेशी मुद्रा सञ्चिति सुनमा प्रयोग गर्ने क्रम बढाएका छन्। केही मुलुकले सरकारी बन्ड र निक्षेपबाहेक घरजग्गा, पूर्वाधार र निजी इक्विटीसम्ममा लगानी गरिरहेका छन्।