बालेनको कार्यशैलीविरुद्ध उत्रिने शीर्ष नेताको सन्देश, सरकारको बचाउमा रविको प्रष्टीकरण

प्रकाश भण्डारी
२०८३ असोज १८ गते २१:४० | Oct 4, 2026
बालेनको कार्यशैलीविरुद्ध उत्रिने शीर्ष नेताको सन्देश, सरकारको बचाउमा रविको प्रष्टीकरण


काठमाडौं। शीर्ष नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको शैलीलाई लिएर टिप्पणी गरेका छन्। नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटनमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगै प्रतिपक्षी दलका नेताहरूले सरकारको बचाउ र विरोधमा घोचपेच गरे।

Vigo
GBIME
Tata

लामिछानेले शाह नेतृत्वको सरकारको बचाउ गरेका छन्। उनले सरकार तत्काल ढल्ने सम्भावना नै नभएको बताए। प्रतिपक्षी दलले सरकारको रवाफविरुद्ध प्रतिरोध गर्ने चेतावनी दिएको भन्दै लामिछानेले चुनावबाट मात्रै शाह नेतृत्वको सरकार विस्थापित हुने दाबी गरे। पुराना दलहरू सरकारविरुद्ध आन्दोलनमा गए जनमतका हिसाबले थप क्षति हुने बताए।

‘आन्दोलनबाट सरकार ढाल्नतिर नलागौं। चुनावबाट मात्रै सरकार फेरौं,’ उनले भने।

कांग्रेसकै कार्यकर्ताले रास्वपाका भोट हालेर अहिलेको सरकार बनाएको भन्दै उनले पाँच वर्षमा वालेनले काम गर्न नसके रास्वपाको सदस्यता त्याग्नुपर्ने बताए। सत्तारुढ दलको सभापतिको हिसाबले कार्यक्रममा सहभागी भएका लामिछानेले सरकारप्रति नेताहरूले गरेको आलोचनाको प्रष्टीकरणमा बोलेका थिए।

उनले पुराना दलप्रति लोकतन्त्रको ठेक्का नलिन भन्दै कडा शब्दमा टिप्पणी गरे। कांग्रेस आफ्नो नीति अनुसार नचलेका कारण रास्वपा जन्मिएको र आफूले मधेसी मुलको व्यक्तिलाई प्रधानमन्त्री बनाएको भन्दै सरकारबारे लामिछानेले बचाउ गरे। उनले शाहको आलोचनामा एक शब्द पनि बोलेनन्। सरकारको कार्यशैलीप्रति भने लामिछाने पनि ढुक्क देखिएनन्।

‘म त गर्वका साथ मधेसको छोरालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अगाडि आएको हुनाले अधिकार के हो? पहिचान के हो? कागज के हो र व्यवहार के हो भन्ने कुराको आज वकालत गर्न सक्छु कि भन्ने दाबी गर्दै यहाँ प्रस्तुत भएको छु,’ लामिछानेले भने।

सत्तारुढ दलको सभापतिको हैसियतले लामिछानेले सरकारको बचाउ मात्रै गरे पनि अरू नेताहरू भने सरकारको शैलीप्रति आक्रामक बने। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको शैलीले मुलुक अराजकतातिर जान सक्ने सम्भावना औँल्याए।

‘अहिलेको सरकारको कैयौं अभिव्यक्ति, क्रियाकलाप र गतिविधिले यो स्वेच्छाचारितातिर, अराजकतातिर देश जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको छ,’ उनले भने।

शेरबहादुर देउवालाई कांग्रेस सभापतिबाट हटाएर गगनले क्रमभंगता गरेको भन्दै लामिछानेलाई पनि क्रमभंताको सुझाव प्रचण्डले दिएका छन्। उनले सरकारको शैलीसँग जोडेर क्रमभंग गर्न लामिछानेलाई सुझाव दिए।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन्। महासचिव शंकर पोखरेल शुभकामना दिन पुगे। उनले पनि सरकारको शैलीले संकट उत्पन्न हुन थालेको बताए।

‘भूराजनीतिक द्वन्द्व र खिचातानीका कारण नेपालको भविष्य र राजनीतिक वातावरण कता जाँदैछ’ भन्ने गम्भीर प्रश्न खडा भएको पोखरेलको टिप्पणी छ।

नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरीले शाह नेतृत्वको सरकार असफल हुन थालिसकेको भन्दै अरू दललाई एक जुट हुन आग्रह गरेका छन्।

उनले वालेनबाट देश नचल्ने भन्दै कांग्रेस सभापति गगन थापालाई अघि सर्न सुझाव समेत दिए। ‘गगनजी तपाईं आज संयोगले अगाडि हुनुहुन्छ । म त तपाईंलाई विश्वास गर्ने मान्छे, दुःख माने मान्नुस्, नमाने नमान्नुस्, हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे। अहिले कैला जुंगा भएका, पूरै कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएका छैनन्,’ उनले भने।

जनता समाजवादी पार्टी नेपालका नेता शरतसिंह भण्डारीले अहिले नियन्त्रित लोकतन्त्र भएको टिप्पणी गर्दै सरकारको आलोचना गरे। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि रास्वपाको सरकार टिक्नेमा आफू त्यति विश्वस्त नभएको बताए। ‘उहाँहरूले टिकाउनुहोस्, त्यसलाई हामी शुभकामना दिनुपर्छ। तर हाम्रो जुन प्रवृत्ति छ, त्यसले के हुन्छ म भन्न सक्ने अवस्थामा छैन। यही चुनावी प्रणाली रहिरह्यो भने भन्न सकिँदैन,’ भट्टराईले भने।

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनी पक्षका नेता भने महाधिवेशनमा सहभागी भएनन्। सभापति थापाले देउवालाई निम्तो पठाएको भए पनि नआएको बताएका छन्। थापाले पनि बालेनले विपक्षीलाई संसद्मा हेपिरहेको भन्दै खुल्ला मञ्चको महत्वबारे व्याख्या गरे।