काठमाडौं। नेपाली कांग्रेसले समुन्नत नेपालको आर्थिक मार्गचित्र अगाडि सारेको छ।
कांग्रेस सभापति गगन थापाले जारी १५औं महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्ने क्रममा निजी क्षेत्रलाई समुन्नतिको मुख्य इन्जिन मानेर अर्थतन्त्रलाई तीन स्तम्भ अगाडि सारेका छन्।
निजी क्षेत्रलाई समृद्धिको प्रमुख संवाहकका रूपमा स्थापित गरी नीतिगत स्थिरता, स्वस्थ प्रतिस्पर्धा र लगानीमैत्री वातावरण निर्माण गर्ने गगनको मार्गचित्र छ। उनले यस प्रक्रियामा सरकार स्वयम् व्यापारी वा नियन्त्रक नबनी बजारको निष्पक्षता, स्वच्छता र स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्ने एक कुशल र पारदर्शी नियामकको भूमिकामा रहने बताएका छन्।
उनले उच्च, दिगो, समावेशी र आन्तरिक उत्पादनमा आधारित आर्थिक वृद्धि हासिल गर्न ‘प्रो-ग्रोथ’ नीति अवलम्बन गर्ने उल्लेख गरेका छन्। युवाहरूलाई केवल श्रम बजारका कामदारका रूपमा होइन, नवप्रवर्तन, उद्यमशीलता र सम्पत्ति सिर्जनाका वास्तविक साझेदार बनाउने गगनको रोडम्याप छ।
समुन्नत नेपालको आर्थिक मार्गचित्र
नेपाली कांग्रेसको आर्थिक दृष्टिकोणको मूल आधार राष्ट्रियता, लोकतन्त्र र समाजवाद हो। पार्टीका संस्थापक जननायक बीपी कोइरालाले प्रतिपादन गर्नुभएको लोकतान्त्रिक समाजवादले विकासको केन्द्रमा केवल तथ्याङ्कीय आर्थिक वृद्धिलाई होइन, साधारण नागरिकको जीवन, मानवीय गरिमा, सहभागिता र अवसरलाई केन्द्रमा राखेको थियो।
हामी बीपीको ‘हलो जोतिरहेको किसान’को ऐतिहासिक प्रतीकलाई आत्मसात् गर्दै आज ‘हातमा पासपोर्ट बोकेर उभिएको वा देशभित्रै अवसर खोजिरहेको युवा’को यथार्थलाई आर्थिक विकास नीतिको केन्द्रविन्दुमा राखेका छौं।

बीपीको समयकालमा मुख्य चुनौती भूमिसुधार, निरक्षरता उन्मूलन र ग्रामीण पछौटेपनसँग जुध्नु थियो भने आज वैदेशिक पलायन, कमजोर उत्पादकत्व, आयात निर्भरता, प्रविधि र सीपबीचको खाडल तथा सामाजिक सुरक्षाको दायित्वजस्ता नयाँ संरचनात्मक मुद्दाहरू प्रमुख बनेका छन्।
यस्ता चुनौतीहरूलाई परम्परागत समाजवादका राज्य-नियन्त्रित साधनमार्फत मात्र समाधान गर्न आजको विश्वव्यापीकृत र प्रविधिमैत्री अर्थतन्त्रमा सम्भव छैन।
यसका लागि नेपाली कांग्रेस बजार र राज्यलाई परस्पर विरोधी ध्रुवका रूपमा हेर्दैन। गतिशील बजारले उत्पादन, सम्पत्ति र रोजगारी सिर्जना गर्छ भने सक्षम राज्यले नागरिकको क्षमता अभिवृद्धि, समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्छ भन्ने अवधारणालाई कांग्रेसको समकालीन वैचारिक पहिचानका रूपमा लिएको छ।
बीपी स्वयं विचारलाई समय र परिस्थितिसँग संवाद गराउँदै अघि बढाउने गतिशील चिन्तक हुनुहुन्थ्यो। त्यसैले कांग्रेसको आर्थिक दर्शनको मूल मर्म ‘सैद्धान्तिक मूल्यमा निरन्तरता र साधनमा समयानुकूलता’ हो।
उदार, उत्पादनमुखी र न्यायमूलक अर्थतन्त्रका तीन स्तम्भ
नेपाली कांग्रेसका लागि आर्थिक नीतिको अन्तिम मापदण्ड केवल कुल गार्हस्थ्य उत्पादन को अङ्कगणितीय वृद्धि मात्र होइन, नागरिकको जीवनस्तरमा आएको रूपान्तरण, सिर्जित मर्यादित रोजगारी र देशभित्रै निर्मित फराकिलो आर्थिक अवसर हो।
हामी युवालाई उद्यमशीलताको साझेदार, निजी क्षेत्रलाई समुन्नतिको मुख्य इन्जिन र पिंधमा रहेका विपन्न नागरिकलाई विकासको मूल प्रवाहमा ल्याएर ‘सम्पत्तिको मालिक’ बनाउने उदार, उत्पादनमुखी र न्यायमूलक अर्थतन्त्र निर्माण गछौँ। यसका लागि नेपाली कांग्रेस ‘निजी क्षेत्र-मैत्री’, ‘फराकिलो आर्थिक वृद्धि – उन्मुख’ र ‘सामाजिक न्याय – केन्द्रित’ तीन स्तम्भमा आधारित अर्थतन्त्रको पक्षमा छ।

उदार अर्थतन्त्र (प्रो-प्राइभेट) : निजी क्षेत्रलाई समृद्धिको प्रमुख संवाहकका रूपमा स्थापित गर्दै नीतिगत स्थिरता, स्वस्थ प्रतिस्पर्धा र लगानी मैत्री वातावरण निर्माण गरिनेछ। यस प्रक्रियामा सरकार स्वयम् व्यापारी वा नियन्त्रक नबनी बजारको निष्पक्षता, स्वच्छता र स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्ने एक कुशल र पारदर्शी नियामकको भूमिकामा रहनेछ।
उत्पादनमुखी अर्थतन्त्र (प्रो-ग्रोथ) : उच्च, दिगो, समावेशी र आन्तरिक उत्पादनमा आधारित आर्थिक वृद्धि हासिल गर्न ‘प्रो-ग्रोथ’ नीति अवलम्बन गरिनेछ । युवाहरूलाई केवल श्रम बजारका कामदारका रूपमा होइन, नवप्रवर्तन, उद्यमशीलता र सम्पत्ति सिर्जनाका वास्तविक साझेदार रहनेछन्।
न्यायमूलक अर्थतन्त्र (प्रो-सोसल जस्टिस) : न्यून आय भएका र सीमान्तकृत समुदायलाई आर्थिक विकासको प्रतिफल मात्र होइन, सम्पत्ति सिर्जनाको सक्रिय साझेदार बनाइनेछ। उनीहरूलाई उत्पादक र सम्पत्तिको मालिक बनाउन विशेष आर्थिक अवसर, क्षमता विकास, ‘Protect + Enable + Employ’ (संरक्षण, क्षमता अभिवृद्धि र रोजगारी) को ढाँचा र लक्षित संरक्षणको पूर्ण ग्यारेन्टी हुनेछ। तीन स्तम्भ नै समुन्नत नेपाल बनाउने आर्थिक मार्ग चित्र हो।











