तातोपानी नाका खुलाउन चीनको सर्त, दुई देशको संयुक्त टोली स्थलगत अवलोकनमा

सरला सुवेदी
२०८३ असोज १३ गते १२:३५ | Sep 29, 2026
तातोपानी नाका खुलाउन चीनको सर्त, दुई देशको संयुक्त टोली स्थलगत अवलोकनमा


काठमाडौं। दसैंको पूर्वसन्ध्यामा चीनतर्फका तीनवटै नाका बन्द भएपछि दबाबमा परेको सरकारले तातोपानी नाका खोल्न पहल थालेको छ। सरकारले नेपालस्थित चिनियाँ दूतावासका अधिकारीलाई बोलाएर नाका खोल्न आग्रह गरेको छ।

Vigo
GBIME
Tata

भोटेकोशी बाढीका कारण चीनसँगको मुख्य नाका रसुवा भदौ १० देखि बन्द रहेकामा असोज ८-११ को अविरल वर्षाले मुस्ताङ जोड्ने पुल नै बगाएपछि तातोपानी नाका खुलाउनुको विकल्प नभएपछि सरकारले चिनियाँ दूतावासका अधिकारीलाई बोलाएर सहयोग गर्न आग्रह गरेको हो।

तातोपानी नाका खुलाउने विषयमा सोमबार परराष्ट्र मन्त्रालयमा अर्थ र पूर्वाधार विकास मन्त्रालय तथा चिनियाँ दूतावासका अधिकारीसहित छलफल भएको छ।

छलफलमा दूतावासका अधिकारीले नेपालतर्फको बाटो हेरेर मात्रै नाका खुलाउने निर्णय गर्ने सर्त राखेका छन्। उनीहरुले नेपालको बाटो राम्रो नहुँदा नाका खोलेर मात्रै सामान आयात/निर्यात सम्भव नहुने जिकिर गरेका छन्।

त्यो सर्तपछि मंगलबार नै परराष्ट्र, अर्थ र पूर्वाधार विकास मन्त्रालय तथा चिनियाँ दूतावासका काउन्सिलरसहितको टोली तातोपानीको बाटो हेर्न गएको छ।

परराष्ट्र मन्त्रालयका सहसचिव मनोहरि डंगोलले बाटोको स्थलगत अध्ययन गरेपछि तातोपानी नाका खोल्ने बारेमा निर्णय हुने जानकारी दिए। ‘चीनले राखेको कन्सर्नलाई सम्बोधन गर्नका लागि बाटो हेर्न टोली निस्किएको छ। बाटो राम्रो भए तातोपानी नाका तत्कालै खोल्ने सकारात्मक जवाफ चिनियाँ पक्षबाट आएको छ,’ उनले बिजमाण्डूसँग।

चीनले गत भदौ १४ गते अकस्मात तातोपानी नाका बन्द गरेको थियो। उसले त्यतिखेर तातोपानी भन्सार कार्यालयलाई इमेल पठाएर अर्को निर्णय नभएसम्म नाका बन्द गर्ने बताएको थियो। त्यसपछि नाका चीनले नयाँ निर्णय गरेको छैन।

सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले संयुक्त टोली तातोपानी नाकाको अवलोकनमा रहेको जानकारी दिए।

‘बाटोको कारण देखाएर बन्द भएको नाका आज अवलोकन गरेपछि खोल्ने कुरा छ। बाटोमा अहिलेसम्म कुनै समस्या छैन। पहिरो गएको स्थानमा हामीले सफा गरिसकेका छौं,’ उनले भने।

स्रोतका अनुसार मुस्ताङ जोड्ने पुल भत्किएपछि नेपालमा गाडी आयात गर्दै आएका अधिकृत बिक्रेताले उत्पादक कम्पनीलाई तातोपानी नाका खोल्नका लागि पहल गरिदिन आग्रह गरेका थिए।

कतिपय बिक्रेताले नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक काउन्सिलर लगायतलाई पनि नाका खोलेर सहयोग आग्रह गरेका थिए। उत्पादक कम्पनी, दूतावाससँग गरिएको बारम्बारको आग्रहपछि तातोपानी नाका खोल्न चीन लचिलो भएको हो।

अटो व्यवसायीले चीनबाट मगाएका करिब १५०० गाडी मुस्ताङसँगको सडक सम्पर्क टुटेका कारण कोरला भन्सार र त्यसयताको सडकमा रोकिएका छन्। व्यवसायीले दसैंका लागि मगाएका गाडी चीनतर्फ पनि अड्किएका छन्।

स्रोतका अनुसार दूतावासका अधिकारीले नाका खोल्न तयार रहेको तर नेपालतर्फको बाटोका कारण सामान ढुवानीमा समस्या हुन सक्ने बताएका थिए। त्यही भएर समस्या रहेका स्थानमा उपकरण राख्ने सरकारको तयारी छ। तातोपानी नाकाबाट आउँदा इको र लिपिङ क्षेत्रमा सबैभन्दा बढी समस्या हुने गर्छ।

व्यवसायीका अनुसार कोरलामा अड्किएका सामान दुई दिनभित्र तातोपानी नाकामा ल्याउन सकिन्छ। ‘तातोपानी नाका खोलेमा कोरलाबाट सामान र गाडी ल्याउन समस्या छैन। हामीले नाइमा र नाडामा बुकिङ गरेका गाडी जसरी पनि दिनुपर्ने अवस्था छ,’ एक व्यवसायीले भने, ‘तातोपानी नाका खुलेमा ग्राहकको दबाब कम गर्न सक्छौं।’

शारडा समूहका गौरव शारडाले दसैंकालागि मगाएका सामान बाटोमा अड्किएको अवस्थामा तातोपानी नाका तत्कालै खोले धेरै ठूलो राहत मिल्ने बताए।

‘दसैंका सामान बाटोमा रोकिएको छ। एउटा नाका मात्रै खुल्यो भने पनि समस्या धेरै हदसम्म समाधान छ। राज्यले पनि आफ्नो ढुकुटीमा पैसा पाउने वातावरण बन्थ्यो,’ उनले बिजमाण्डूसँग भने।

अर्थ मन्त्रालयले तातोपानी नाका खोल्नका लागि पहल भइरहेको र दसैंका लागि मगाइएका लत्ताकपडादेखि इलेक्ट्रोनिक्स सामान ल्याउने वातावरण तयार गर्न खोजिरहेको बताएको छ।