काठमाडौं। तीन दिन लगातार बढेको सेयर बजार चौथो दिन दोहोरो अंकले घटेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनापछि मंगलबार ४८.५७ अंकले बढेको सेयर बजार बुधबार २१.१९ अंकले घटेको छ।
सेयर बजार सुधारका लागि मन्त्रीको २१ बुँदे कार्ययोजनाले उत्साहित बनेको बजार भोलिपल्ट घटेको हो।
सूचक २६१२.४२ विन्दुमा आएको छ। कारोबारमा आएका सबै उपसमूहले बजार घटाएका हुन। हाइड्रोपावरको सूचक सबैभन्दा धेरै १.०४ प्रतिशतले घटेको छ।
२२५ कम्पनीको सेयर मूल्य घटेको छ। रिजलाइन इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै ५.२१ प्रतिशतले घटेको छ। सूचकसँगै सेयर कारोबार पनि घटेको छ।
बुधबार ८ अर्ब २९ करोड रुपैयाँको सेयर किनबेच भएकामा बुधबार ५ अर्ब ३८ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। बजारमा हिमाल दोलखा हाइड्रोपावरको सबैभन्दा धेरै ३७ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २५ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको छ।
बजारमा ४२ कम्पनीका लगानीकर्ताले कमाएका छन्। नारायणी डेभलपमेन्टको सेयर मूल्य सबैभन्दा धेरै ६.३७ प्रतिशतले बढेको छ। १२ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।










