लस एन्जलस। अमेरिकाको लस एन्जलसमा समाचार संकलनका क्रममा रहेको टेलिभिजनको हेलिकोप्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। दुर्घटना मंगलबार साँझ सान फर्नान्डो भ्यालीको च्याट्सवर्थ क्षेत्रमा भएको हो। दुर्घटनामा एक जना घाइतेलाई अस्पताल लगिएको स्थानीय अग्निनियन्त्रण विभागले जनाएको छ।
लस एन्जलस फायर डिपार्टमेन्टका अनुसार हेलिकोप्टर साँझ ६:५७ बजे नर्थ मेसन एभिन्युको ९१०० ब्लकमा दुई व्यावसायिक भवनबीच खसेको थियो। खसेलगत्तै आगलागी हुँदा आसपास रहेका चारवटा सवारीसाधन र दुईवटा भण्डारण कन्टेनरमा समेत क्षति पुगेको थियो। आगो नियन्त्रणमा लिन ७० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको थियो।
दुर्घटनामा मृत्यु भएका तीनमध्ये दुई जना हेलिकोप्टरमै रहेको र एक जना जमिनमा रहेको पार्किङ क्षेत्रमा रहेको अधिकारीहरूले बताएका छन्। हेलिकोप्टरमा कति जना सवार थिए भन्ने प्रारम्भिक चरणमा स्पष्ट नभए पनि विमान पूर्ण रूपमा क्षतिग्रस्त भएकाले भग्नावशेष हटाएर थप विवरण पहिचान गर्ने काम भइरहेको थियो। दुर्घटनामा घाइते भएका एक जनालाई अस्पताल लगिएको छ।
दुर्घटनामा परेको हेलिकोप्टर एनबीसी४ लस एन्जलस र टेलेमुन्डो ५२ का लागि प्रयोग हुने ‘न्युज चोप्पर ४’ रहेको पुष्टि भएको छ। यसलाई एन्जल सिटी एयरले सञ्चालन गर्दै आएको थियो। हेलिकोप्टर दुर्घटना हुँदा टेलिभिजनका समाचार टोलीहरू नजिकै भएको अर्को सडक दुर्घटनाको प्रत्यक्ष रिपोर्टिङ गरिरहेका थिए।
त्यसअघि च्याट्सवर्थमै एउटा एसयूभी र सार्वजनिक यातायातको बस ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु र ६ जना घाइते भएका थिए। दुर्घटनास्थलमा रिपोर्टिङ गर्न पुगेका समाचार हेलिकोप्टरमध्ये न्युज चोप्पर४ पनि थियो। एसयूभीको ठूलो हिस्सा बसको छेउमा पसेको दृश्य सार्वजनिक भएका थिए।
एनबीसी४ की एंकर कोलिन विलियम्सले प्रत्यक्ष प्रसारणकै क्रममा आफ्नो समाचार हेलिकोप्टर दुर्घटनामा परेको र दुई जना मारिएको पुष्टि गरेकी थिइन्। त्यसपछि भावुक हुँदै प्रसारण केही समय रोकिएको थियो। घटनापछि लस एन्जलसकी मेयर करेन बाससहित स्थानीय अधिकारीहरूले शोक व्यक्त गरेका छन्। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले उद्धारमा खटिएका आपत्कालीन टोलीप्रति धन्यवाद दिँदै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
दुर्घटनाको कारण भने अझै खुलेको छैन। राष्ट्रिय यातायात सुरक्षा बोर्ड र संघीय उड्डयन प्रशासनले घटनाको अनुसन्धान गर्ने भएका छन्।
संघीय दुर्घटना अभिलेख र समाचार विवरणको समीक्षाअनुसार सन् २००० यता अमेरिकामा समाचार संकलनमा प्रयोग भएका हेलिकोप्टरका कम्तीमा आठवटा घातक दुर्घटना भएका छन्, जसमा १६ जनाको मृत्यु भएको छ। (एपी)











