काठमाडौं। संस्थागत लगानीकर्तालाई प्रोत्साहन गरेर माग बढाउने तथा पुँजीगत लाभकरमा हेरफेर गर्ने गरी सरकारले सेयर बजार सुधारको योजना ल्याउने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)को सुझावका आधारमा बजारमा सुधारका लागि एक दर्जन कार्यक्रम ल्याउन लागेका हुन्।
स्रोतका अनुसार सेबोन अध्यक्ष डा. गोपाल भट्टले संस्थागत लगानीकर्तालाई प्रोत्साहनका लागि गर्नुपर्ने सुधारका एक दर्जन बुँदा अर्थमन्त्री वाग्लेलाई बुझाइसकेका छन्।
ठूलो लगानी क्षमता भएका संस्थागत लगानीकर्तालाई करमा छुट तथा सहुलियत दिएर बजारमा लगानीका लागि प्रोत्साहन गर्न लागिएको छ।
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष र इन्स्योरेन्स कम्पनी जस्ता ठूला संस्थागत लगानीकर्ताको लगानी बढाउने गरी नीतिगत व्यवस्था गर्न लागिएको हो।
‘कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषसहित ठूलो लगानी क्षमता भएका इन्स्योरेन्स कम्पनी जस्ता संस्थागत लगानीकर्ताको पैसा बजारमा ल्याएर डिमाण्ड बढाउने गरी कर छुट दिने तयारी भएको छ,’ स्रोतले भन्यो, ‘सेबोनबाट प्राप्त सुझावलाई हामीले हेरिरहेका छौं। यसमा मन्त्रीज्यूले छलफल गरेर केही थपघटसहित ल्याउन लागिएको छ।’
बजारमा ठूलो संस्थागत लगानीकर्ताका रुपमा रहेका अवकाश कोष र इन्स्योरेन्स कम्पनीको पैसा थुप्रिएर बसेको छ। बैंकको मुद्दती निक्षेप घट्दा लगानीको नयाँ ठाउँ नपाएर संस्थागत लगानीकर्ता बसेका बेला अर्थमन्त्री वाग्लेले सेयर बजारमा सुधारको प्याकेजबाट लगानीका लागि प्रोत्साहन गर्न लागेका हुन्।
स्रोतका अनुसार बजार सुधारका लागि पुँजीगत लाभरमा पनि केही हेरफेर गर्न लागिएको छ। ‘संस्थागत लगानीकर्तालाई आकर्षित गर्न चाल्नुपर्ने कदमदेखि पुँजीगत लाभकरका विषयमा पनि सेबोनबाट सुझाव आएको छ। नेप्से निरन्तर ओरालो लागेर सेयर लगानीकर्ता प्यानिक बनेका कारण उनीहरुको मनोबल बढाउनुपर्ने अवस्था छ। त्यसैले सेबोनको सुझावमा टेकेर पुँजीगत लाभकरमा पनि हेरफेर गर्ने कुरा भइरहेको छ,’ स्रोतले भन्यो।
अर्थमन्त्री डा. वाग्लले चालु आर्थिक वर्षको बजेटमार्फत सेयर कारोबार बापत प्राप्त हुने पुँजीगत लाभकरको सीमा साढे दुई प्रतिशत विन्दुले बढाएका थिए। उनले लगानीकर्ताले १ वर्षभन्दा कम अवधिमा सेयर किनबेचबाट प्राप्त गर्ने नाफामा कर ७.५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याएका थिए।
त्यस्तै, एक वर्षभन्दा कम अवधिसम्म सेयर होल्ड गरेर नाफा आर्जन गर्दा तिर्नुपर्ने ५ प्रतिशत करलाई बढाएर साउनदेखि ७.५ प्रतिशत बनाइएको छ।
सरकारले सेयर कारोबारबाट हुने पुँजीगत लाभकर २.५ प्रतिशत विन्दुले बढाए पनि आम्दानी भने उल्लेख्य घटेको छ।
सरकारले यो वर्ष पहिलो महिना सेयर कारोबारबाट जम्मा ६२ करोड ४९ लाख रुपैयाँ पुँजीगत लाभकर पाएको छ। यो रकम पोहोर साउनको तुलनामा २४५ प्रतिशत कम हो। गत वर्ष साउनमा सेयर किनबेचबाट सरकारले २ अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुँजीगत लाभकर पाएको थियो।
बजार घटेर आम्दानीमा धक्का लागेपछि पुँजीगत लाभकरको व्यवस्थामा हेरफेर गर्ने तयारी भइरहेको स्रोतको दाबी छ।
नयाँ सरकार बनेयता सेयर बजार लगातार घट्नुका साथै पुँजीगत लाभकरबापत प्राप्त हुने आम्दानी पनि घटेपछि अर्थमन्त्री वाग्ले तनावमा छन्।
चैत दोस्रो साता बालेन्द्र शाहको नेतृत्वमा करिब दुई तिहाइको सरकार बनेयता सेयर बजार ३७६ अंकले ओरालो लागिसकेको छ। चैत ११ गते २९३५ अंकमा रहेको सेयर बजार निरन्तर घटेर अहिले २५५९ विन्दुमा छ।
बजार घट्दा यो अवधिमा लगानीकर्ताको सम्पत्ति ६ खर्ब रुपैयाँ घटेको छ। चैत दोस्रो साता ५० खर्ब रुपैयाँ पुगेको बजार पुँजीकरण अहिले ४४ खर्ब रुपैयाँमा झरेको छ।
त्यही कारण अर्थमन्त्री वाग्ले लगानीकर्ताको मनोबल बढाउने कार्यक्रम ल्याउनुपर्ने दबाबमा छन्। सेबोन अध्यक्ष डा. भट्टले यसअघि गत सोमबार १० बुँदे सुझाव पेस गरेकामा अर्थमन्त्री वाग्लेले कानुनी सुधारको विषय थपेर ल्याउन भनेका थिए। मन्त्री वाग्लेको निर्देशनपछि सेबोन अध्यक्ष भट्टले शुक्रबार एक दर्जन बुँदा बुझाइसकेका छन्।
सेबोन अध्यक्ष भट्टले बुझाएको बुँदामा टेकेर मन्त्री वाग्लेले सुधारको योजना ल्याउन लागेका हुन्। वाग्लेले शुक्रबार एक कार्यक्रममा सेयर बजार निरन्तर ओरालो लागेकाले दिगो रुपमा अगाडि लैजान एक साताभित्र सुधारको योजना ल्याउन लागेको बताएका थिए।
बजार सुधारका लागि सेबोनले इन्ट्रा डे, सर्टसेलिङ, सेक्युरिटी लेण्डिङ एण्ड बरोइङसहितका नयाँ उपकरण भित्र्याउन लागेको छ। सेबोनले सेयर निष्कासनमा सुधार गर्न विभिन्न नियमावली संशोधनका लागि पनि काम गरिरहेको छ।











