बुद्धको जहाज ‘क्याबिन क्रु’को लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’

जनक वली
२०८३ भदौ २५ गते २०:२७ | Sep 10, 2026
बुद्धको जहाज ‘क्याबिन क्रु’को लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’


काठमाडौं। बुद्ध एयरको नाइन एन-एएमए कलसाइनको एटीआर-७२-५०० जहाज चालक दलका सदस्यको लापर्बाहीले दुर्घटना भएको देखिएको छ।

Vigo
GBIME
Tata

पर्यटन मन्त्रालय तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेकको जाँचबुझ आयोगले आफ्नो अन्तिम प्रतिवेदनमा चालक दलका सदस्यको लापर्बाहीले जहाज दुर्घटना भएको उल्लेख गरेको हो।

‘ककपिटभित्रका अनावश्यक क्रियाकलाप/तनाव, रात्रिकालीन समयमा धावनमार्गको कमजोर भिजिबिलिटी र टेलविन्डका कारण जहाज दुर्घटना भएको देखिन्छ,’ आयोगले हालै बुझाएको अन्तिम प्रतिवेदनमा भनिएको छ।

आयोगले जहाजमा कुनै पनि प्राविधिक कमजोरी नदेखिएको तर उडानका क्रममा ककपिटभित्र रहेका चालक दलका सदस्यको लापरबाही देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ। ककपिट भ्वाइस रेकर्डर (सीभीआर) रेकर्डिङ अनुसार उडानका क्रममा ककपिटमा गीत बजेको आयोगको प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रतिवेदन अनुसार उडानका क्रममा क्रु मेम्बरहरु उडानसँग असम्बन्धित गफमा व्यस्त थिए। गफमा व्यस्त भएकै कारण १० हजार फिटभन्दा मुनि लागू हुने ‘स्टेराइल ककपिट रुल्स’ क्याबिन क्रु मेम्बरले पालना नगरेको पाइएको आयोगले ‍औंल्याएको छ।

पाइलट मिनिटरिङ(पीएम)ले ककपिटमा रहेका क्याबिन क्रु रेडियो सुन्नुका साथै केही समय निदाएको (डोज/माइक्रोस्लिप) देखिएको प्रतिवेदनमा उल्लेख छ। यही कारण पाइलटले अवतरण गर्ने प्रक्रियामा प्रभावकारी अनुगमन नगरेको आयोगले बताएको छ।

धावनमार्गमा पाइलटले ‘के हामी अवतरण गर्न सक्छौँ?’ भनेर सोध्दा पनि क्याप्टेनले ‘सक्छौँ’ भन्दै अवतरण जारी राख्न निर्देशन दिएका थिए। जमिनमा टेकिसकेपछि मात्र ‘गो-अराउन्ड’को प्रयास गरिएको थियो। आयोगको प्रतिवेदन अनुसार त्यति बेला ‘गो-अराउन्ड’को प्रयास गर्दा निकै ढिला भइसकेको थियो।

‘फ्लाइट गरिरहेका पाइलटलाई विमानस्थलमा रात्रिकालीन अवतरण र ‘गो-अराउन्ड’को वास्तविक उडान अनुभव नभएको देखियो,’ आयोगका एक सदस्यले भने, ‘साइडमा बसेको पाइलट मनिटरले उसलाई गाइड गर्नु पर्ने थियो। तर उ आफैं एकदम थकित रहेको देखियो। जसले गर्दा फ्लाइट गरिरहेको पाइलटलाई राम्रोसँग गाइड गर्न सकेको देखिएन। फ्लाइट गरिरहेको पाइलटले पनि अवतरण गर्ने बेलामा थ्रेस होल्डभन्दा अगाडि हाइ एप्रोच गरेको देखिन्छ।’

जहाज नियन्त्रित गतिभन्दा करिब २० नट बढीको गतिमा धावनमार्गको थ्रेसहोल्डमा प्रवेश गरेको थियो। धावनमार्ग जम्मा १५०० मिटर लम्बाइको रहेकामा १०८० मिटर पार गरेपछि मात्रै जहाजले धावनमार्ग छोएको थियो। अवतरणका बेला २ देखि ९ नटसम्मको टेलविन्ड रहेकाले जहाज रोक्न थप दूरी आवश्यक परेको आयोगले उल्लेख गरेको छ।

गत पुस १८ गते काठमाडौंबाट भद्रपुर लागि उडेको बुद्ध एयरको नाइन एन-एएमए कलसाइनको जहाज राति ९:०५ बजे दुर्घटना भएको थियो। जहाज भद्रपुर विमानस्थलको धावनमार्गमा अवतरण गर्दा निर्धारित ‘टचडाउन’ क्षेत्रभन्दा १०८० मिटर पछाडि अवतरण गरेको थियो।

धावनमार्गमा रोक्न पर्याप्त दूरी नपुगेपछि जहाज रनवेको थ्रेसहोल्ड पार गरी करिब १८३ मिटर अगाडि पुगेर विमानस्थलको भित्री बार भत्काउँदै खोल्सामा गएर अड्किएको थियो। जहाजमा ५२ जना यात्रु र चालक दलका ४ जना सदस्य थिए। को-पाइलट र ४ यात्रु सामान्य घाइते भएका थिए।

जहाजमा अघिल्लो ल्यान्डिङ गियर (नोज गियर) भाँचिनुका साथै दुवै प्रोपेलर र केही भाग मर्मत गर्न सम्भव नहुने गरी क्षतिग्रस्त भएको थियो।

कन्डिसन लिभर’ थिचिएर भएको थियो जाम

दुर्घटनापछि पाइलटले बन्द गर्न खोज्दा ‘कन्डिसन लिभर’ थिचिएर इन्जिन जाम भएका थिए। ‘फायर ह्यान्डल’ तान्दा पनि प्राविधिक/इलेक्ट्रिकल सर्ट-सर्किट र एलपी भल्भ जाम भएकाले दाहिने इन्जिन (इन्जिन २) करिब १० मिनेटसम्म निरन्तर चलिरहेको थियो।

‘इमरजेन्सी लाइट’ को स्विच ‘डीआइएसएआरएम’ पोजिसनमा राखिएकाले दुर्घटनापछि ककपिट र यात्रु क्याबिन पूर्णरूपमा अध्याँरो बनेको प्रतिवेदनमा उल्लेख गरिएको छ। जसले गर्दा उद्धारमा कठिनाइ भएको थियो।

विमानस्थल पूर्वाधारको कमजोरी

जहाज विमानस्थलमा अवतरण गर्न धावनमार्गमा ‘इन्ड लाइट’ नै नदेखिने अवस्थामा रहेको पनि प्रतिवेदनमा उल्लेख छ। ‘सेन्टरलाइन लाइट पनि थिएन। लाइटहरू सही रूपमा ‘अलाइन’ नगरिएकाले उडान टोलीलाई उचाइ र दूरीको सही अनुमान लगाउन गाह्रो भएको पाइयो,’ ती सदस्यले भने।