घरजग्गा मेलामा बैंकको अफर : ५.९९ प्रतिशत स्थिर ब्याजदरमै कर्जा, कुनको स्किम कस्तो?

आकाश बोगटी
२०८३ असोज १ गते १५:१३ | Sep 17, 2026
घरजग्गा मेलामा बैंकको अफर : ५.९९ प्रतिशत स्थिर ब्याजदरमै कर्जा, कुनको स्किम कस्तो?


काठमाडौं। सुस्त रहेको घरजग्गा बजारलाई चलायमान बनाउन बैंक तथा वित्तीय संस्थाले पनि व्यवसायीलाई साथ दिएका छन्।

Vigo
GBIME
Tata

नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास संघले गरेको घरजग्गा मेलालाई लक्षित गरी न्युन र स्थिर ब्याजदरका कर्जा स्किम ल्याएर बैंक तथा वित्तीय संस्थाले साथ दिएका हुन्।

घरजग्गा जोड्न चाहने तर पर्याप्त पुँजी नभएकाहरुलाई बैंक तथा वित्तीय संस्थाले ५.४४ प्रतिशत ब्याजदरमै कर्जा दिंदैछन्।

घरजग्गा मेलालाई लक्षित गर्दै ९ वटा बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजदरका स्किम सार्वजनिक गरेका छन्।

काठमाडौंको भृकुटीमण्डपमा बिहीबार सुरु भएको घरजग्गा मेलालाई लक्षित गर्दै विभिन्न ५ वटा वाणिज्य बैंक, ३ विकास बैंक र एउटा फाइनान्स कम्पनीले आकर्षक स्किम ल्याएका हुन्। उनीहरुले मेलामा आफ्नो स्टल नै राखेका छन्।

सिटिजन्स, प्रभु, स्टान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज र सिद्धार्थ बैंक, महालक्ष्मी, मुक्तिनाथ र गरिमा विकास बैंक तथा गोर्खाज फाइनान्सले न्यून ब्याजदरमा कर्जाको स्किम ल्याएका छन्।

प्रभु बैंकले ५.४४ प्रतिशतमा घर कर्जाको स्किम ल्याएको छ। घरजग्गा किन्न स्टान्डर्ड चार्टर्ड, सिटिजन्स र सिद्धार्थ बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ऋण दिंदैछन्।

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गणेशराज पोखरेलले ग्राहकलाई निश्चिन्त तुल्याउन स्थिर ब्याजदरको स्किम ल्याएको बताए। ‘ग्राहकलाई ऋण लिएपछि ब्याजदर बढ्ने चिन्ता हुन्छ। त्यसैले हामीले सस्तो र स्थिर ब्याजदरको स्किम ल्याएका हौं,’ उनले भने।

सिटिजन्सले ल्याएको स्किममा ५ वर्ष अवधिसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदर बाँकी अवधिका लागि परिवर्तिमा गर्न पनि सकिन्छ।

स्टान्डर्ड चार्टर्ड बैंकले स्थिर ब्याजदरसहितको घर कर्जाको स्किम ७ वर्ष अवधिका लागि ल्याएको हो। लगानीयोग्य रकम पर्याप्त रहेका कारण बैंकहरूले ग्राहक आकर्षित गर्न न्यून र स्थिर ब्याजदरका अफर ल्याएका हुन्।

बैंकिङ प्रणालीमा हाल करिब १६ खर्ब रुपैयाँ तरलता छ। तरलता अधिक भए पनि कर्जाको माग सुस्त रहेका कारण हाल वाणिज्य बैंकहरुको औसत बेसरेट जम्मा ४.८३ प्रतिशत छ। परिवर्तित ब्याजदरको हकमा बैंकहरुले बेसरेटमा ०.२५ प्रतिशत प्रिमियम जोडर घरजग्गा किन्न कर्जा दिइरहेका छन्।

नियामकीय प्रावधान अनुसार पहिलो पटक घर खरिद गर्ने ग्राहकले कुल मूल्यांकनको ८० प्रतिशतसम्म (लोन टू भ्यालु रेसियो) कर्जा सुविधा पाउनेछन्।

प्रभु बैंकले बेसरेटमा प्रिमियम ०.५० प्रतिशत मात्र जोडेर घरजग्गा किन्न कर्जाको दिइरहेको छ। बैंकको बेसरेट ४.९४ प्रतिशत छ। प्रभुले २५ वर्ष अवधिका लागि घर कर्जा दिइरहेको छ। स्थिर ब्याजदरमा कर्जा लिने ऋणीका लागि बैंकले २५ वर्षमा चुक्ता गरे हुने योजना ल्याएको छ। यसमा ब्याजदर भने साढे ८ प्रतिशत छ।

लक्ष्मी सनराइज बैंकको २० वर्ष अवधिको घर कर्जा दिइरहेको छ। यो बैंकले घरजग्गा मेलालाई लक्षित गरी ब्याजदर जम्मा ५.४९ प्रतिशत तोकेको छ। यो योजना अन्तर्गत ग्राहकले ८० प्रतिशतसम्म फाइनान्स सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

घरजग्गा किन्न चाहने ग्राहकले सिद्धार्थ बैंकबाट ७ वर्ष अवधिका लागि ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ऋण लिन सक्छन्। सिद्धार्थले ग्राहकको समयसीमा अनुसार ७ देखि १० वर्ष अवधिका लागि ८.४९ प्रतिशत र १० वर्षभन्दा बढी अवधिका लागि ९ प्रतिशत स्थिर ब्याजदरको स्किम पनि ल्याएको छ।

गरिमा विकास बैंकले घरजग्गा किन्न ६.२३ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ। मुक्तिनाथ विकास बैंकले बेसरेटमा जम्मा ०.२५ प्रतिशत प्रिमियम थप गरी घरजग्गा कर्जा दिने अफर ल्याएको छ।

महालक्ष्मी विकास बैंकले साधारण घरजग्गा कर्जाका लागि ७ वर्ष अवधिसम्म ६.९९ प्रतिशत स्थिर ब्याजदर तोकेको छ। पर्यावरणमैत्री घर निर्माण वा खरिद गर्न चाहनेका लागि बैंकले ‘ग्रीन होम लोन’अन्तर्गत ६.४९ प्रतिशत स्थिर ब्याजदरको विशेष सुविधा ल्याएको छ। कर्जाको अवधि बढाउन चाहे बेसरेटमा २ प्रतिशत प्रिमियम कायम गरिने बैंकले बताएको छ।

गोर्खाज फाइनान्सले बेसरेटमा ०.५० प्रतिशत प्रिमियम थपेर कर्जा दिनेछ। कम्पनीको बेसरेट हाल ६.२१ प्रतिशत छ।