काठमाडौं। दुई दिन घटेको नेप्से सूचक सेयर बजार सुधारको योजना ल्याउने सरकारको तयारीसँगै तेस्रो दिन बढेको छ। नेप्से परिसूचक शुक्रबार २७.९४ अंक बढेर २५५९.४९ विन्दुमा पुगेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सेयर बजार सुधारको १०/१२ बुँदे योजना आगामी साता ल्याउन लागेको बताएका थिए। बजार सुधारका लागि वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग कानुनी सुधारको योजना मागेका छन्।
सेबोन अध्यक्ष डा. गोपाल भट्टले यसअघि पेस गरेको १० बुँदे सुझावमा वाग्लेले कानुनी सुधारको योजना मागेका हुन्। शुक्रबार कारोबारमा आएका सबै उपसमूहले नेप्से बढाएका हुन्।
हाइड्रोपावरको सूचक सबैभन्दा धेरै १.८३ प्रतिशतले बढेको छ। भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि ओरालो लागेको हाइड्रोपावरको सूचक शुक्रबार सर्वाधिक बढेको हो।
बजारमा २३७ कम्पनीको सेयर मूल्य बढेको छ। उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १०.५३ प्रतिशतले बढेको छ। सूचकसँगै कारोबार रकम पनि बढेको छ।
बिहीबार ४ अर्ब ९ करोड रुपैयाँको सेयर किनबेच भएकामा शुक्रबार ४ अर्ब ३६ करोड १ लाख रुपैयाँको कारोबार भएको छ।
लिबर्टी इनर्जीको सबैभन्दा धेरै ३६ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड ५१ लाख र रिलायन्स स्पिनिङ मिल्सको १४ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
बजारमा ३१ कम्पनीको सेयर मूल्य घटेको छ। मल्टिपर्पोज फाइनान्सको सबैभन्दा धेरै ५.७१ प्रतिशतले सेयर मूल्य घटेको छ।








