मुक्तिनाथले एक्वायर गर्ने सिन्धु विकास बैंक र जानकी फाइनान्सको वित्तीय अवस्था कस्तो छ?



आकाश बोगटी
२०८३ भदौ २२ गते २०:२० | Sep 7, 2026
मुक्तिनाथले एक्वायर गर्ने सिन्धु विकास बैंक र जानकी फाइनान्सको वित्तीय अवस्था कस्तो छ?


काठमाडौं। चुक्ता पुँजीका आधारमा सबैभन्दा ठूलो विकास बैंक मुक्तिनाथले थप दुई वटा संस्थालाई प्राप्ति (एक्वायर) गर्ने प्रक्रिया अगाडि बढाएपछि बैंकिङ क्षेत्रमा नयाँ बहस सुरु भएको छ।

Vigo
GBIME
Tata

चुक्ता पुँजी पर्याप्त हुँदा हुँदै वित्तीय रुपमा कमजोर सिन्धु विकास बैंक र खराब अवस्थाको जानकी फाइनान्सलाई एक्वायरका लागि सम्झौता गरेपछि बैंकिङ क्षेत्रमा बहस सुरु भएको हो।

मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी हाल ८ अर्ब ४ लाख रुपैयाँ छ। दोस्रो स्थानको गरिमा विकास बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड रुपैयाँ छ।

वित्तीय रुपमा बलियो हुन र व्यावसायिक दायरा विस्तार गर्न दुई संस्थालाई एक्वायर गर्ने सम्झौता गरेको मुक्तिनाथ विकास बैंकका एक कर्मचारीले बताए।

‘अहिले नै हाम्रो पुँजी ८ अर्बभन्दा बढी छ। संस्था प्राप्ति गर्दा थप हामी बलियो हुनेछौं,’ स्रोतले भन्यो, ‘अन्य संस्था प्राप्तिपछि लगानीको दायरा विस्तार हुन्छ।’

मुक्तिनाथले प्राप्तिका लागि सम्झौता गरेको सिन्धु विकास बैंक क्षेत्रियस्तरको बैंक हो। बैंकको चुक्ता पुँजी हाल ५५ करोड ७४ लाख रुपैयाँ छ।

स्थानीयस्तरमा उद्यमशीलता विकास गर्न भन्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको पहलमा स्थापना भएको यो बैंकले २६ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

यस्तै जनकपुरधाममा केन्द्रीय कार्यालय रहेको जानकी फाइनान्सको चुक्ता पुँजी ६९ करोड ४ लाख रुपैयाँ छ।

वित्तीय हिसाबबाट दुवै संस्थाको अवस्था सन्तोषजनक देखिंदैन। सिन्धु विकास बैंकको नाफा गत आर्थिक वर्ष १० लाख रुपैयाँमा सीमित छ। अघिल्लो वर्ष १७ करोड ७० लाख नाफा गरेको थियो। पुँजीकोष अनुपात १० प्रतिशत माथि भए पनि खराब कर्जा ५.९२ प्रतिशत देखिन्छ। वितरणयोग्य मुनाफा २३ करोड ६६ लाख रुपैयाँ ऋणात्मक छ।

जानकी फाइनान्स वित्तीयरुपमा धेरै नाजुक अवस्थामा छ। गत असारसम्म यसको खराब कर्जा ६१.५५ छ। पुँजीकोष अनुपात ६.१४ प्रतिशतले ऋणात्मक छ। नाफा ९३ लाख कमाएको छ।

फाइनान्सका कम्पनी सचिव रोशन कापरले वित्तीय अवस्था बिग्रिएका कारण मर्जर वा एक्विजिसनको विकल्प नरहेका कारण मुक्तिनाथ विकास बैंकसँग सम्झौता गरेको बताए।

‘फाइनान्सियली हाम्रो अवस्था त्यति राम्रो छैन। पछिल्ला वर्षमा अवस्था बिग्रिंदै जाँदा हामीले मर्जर वा एक्विजिसनका लागि राम्रो पार्टनर खोजिरहेका थियौं,’ उनले भने, ‘अहिले मुक्तिनाथ विकास बैंकसँग एक्वायरको सम्झौता भएको छ।’

खराब कर्जाका कारण कर्जा नोक्सानी बढेर पुँजीकोष ऋणात्मक हुँदै शीघ्र सुधारात्मक कारबाही भोगिरहेको कम्पनीलाई मर्जरका लागि राष्ट्र बैंकले पनि दबाब दिंदै आएको थियो।

‘शीघ्र सुधारात्मक कारबाहीपछि अवस्था नसुध्रिए चरणवद्ध रुपमा थप कारबाही हुन्छ। बिजनेस गर्न नपाउनेदेखि सर्वसाधारणको निक्षेप लिन रोक लाग्नेसम्म हुन्छ,’ राष्ट्र बैंकका एक अधिकृतले बिजमाण्डूसँग भने, ‘जानकी फाइनान्सको अवस्था सुधारिएको थिएन। त्यसैले हामीले मर्जर वा एक्विजिसनमा जान भनिरहेका थियौं।’

मुक्तिनाथले प्राप्ति गर्ने भएपछि ती दुवै कम्पनीको सेयरमा सोमबार पहिरो गएको छ। सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो।

एक्वायरपछि सिन्धु विकास बैंक र जानकी फाइनान्सको अस्वित्व मुक्तिनाथमा बिलय हुनेछ।

प्रारम्भिक सम्झौता अनुसार प्राप्ति सम्बन्धी आवश्यक विस्तृत अध्ययन, मूल्यांकन, सम्पत्ति तथा दायित्वको यथार्थ, सेयर आदान प्रदान सम्बन्धी व्यवस्था तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइने छ। मर्जर कमिटी तयार पारेको रिपोर्ट अनुसार स्वाप रेसियो कायम गरी मुक्तिनाथले दुवै संस्थालाई प्राप्ति गर्नेछ।

मुक्तिनाथले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई एक्वायर गर्ने प्रारम्भिक सम्झौता गरेसँगै तीनवटै संस्थाको आधारभूत सेयरधनीको सेयर कारोबार सोमबार रोक्का भएको छ।