काठमाडौं। बाढीग्रस्त रसुवामा हैजाको जोखिम बढेपछि हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।
रसुवाका टिमुरे, स्याफ्रुबेसी र बेत्रावतीका वस्ती भदौ १० गतेको बाढीले क्षतविक्षत भएकामा करिब ५ हजार मानिस अझै बेपत्ता छन्।
स्वास्थ्यमन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य अन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छन्।
मन्त्रीको निर्देशनमा प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको उनको सचिवालयले जनाएको छ।











