पृथ्वी राजमार्ग बन्द हुँदा हवाई यात्रा बुम, भरतपुर, पोखरा र भैरहवामा अकुपेन्सी ९० प्रतिशत



जनक वली
२०८३ भदौ २२ गते १५:११ | Sep 7, 2026
पृथ्वी राजमार्ग बन्द हुँदा हवाई यात्रा बुम, भरतपुर, पोखरा र भैरहवामा अकुपेन्सी ९० प्रतिशत


काठमाडौं। कृष्णभीरको सडक भासिएर पृथ्वी राजमार्ग हुँदै ओहोरदोहोर ठप्प भएपछि हवाई सेवा प्रदायक कम्पनीको व्यापार बुम भएको छ।

Vigo
GBIME
Tata

काठमाडौंको लाइफलाइन पृथ्वी राजमार्ग ठप्प भएपछि यात्रुले ओहोरदोहोरका लागि उडान सेवा रोजेपछि लामो समयदेखि व्यापार गुमाइरहेका वायु सेवा प्रदायक कम्पनीलाई भ्याइनभ्याइ भएको हो।

पृथ्वी राजमार्गको विकल्पमा विभिन्न रुट रहे पनि त्यहाँबाट आउजाउ गर्न सजिलो छैन। एक त लामो दूरी र अर्को ट्राफिक जामको समस्या छ। यही देखेर यात्रुहरु हवाई उडानतिर लागेका हुन्।

हवाई सेवा प्रदायक कम्पनीहरुका अनुसार कास्की, स्याङ्जा, चितवन, रुपन्देही, गुल्मी, पाल्पा, अर्घाखाँची लगायत जिल्लाबाट काठमाडौं आउजाउ गर्नेहरुले हवाई उडानलाई प्राथमिकता दिन थालेका छन्।

विशेषगरी भरतपुर, पोखरा र भैरहवामा यात्रुको चाप ह्वात्तै बढेको छ। यात्रु बढेपछि ती क्षेत्रमा हवाई कम्पनीले उडान थपिरहेका छन्।

पृथ्वी राजमार्ग ठप्प भएपछि अहिले जहाजबाट आवतजावत गर्ने यात्रुको संख्या दैनिक १५ हजार पुगेको छ। सडक अवरुद्ध हुनुअघि यो संख्या १० हजार हाराहारी थियो।

सुवास सापकोटा

यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत(सीइओ) सुवास सापकोटाका भरतपुर, भैरहवा र पोखरामा यात्रुको चाप बढेको छ।

उनले पोखरा र भैरहवामा करिब ३० प्रतिशतले अकुपेन्सी बढेको जानकारी दिए। भरतपुरमा यात्रु दोब्बर बढेका छन्। नेपालगंज, सुर्खेत र धनगढीमा पनि यात्रुको संख्या बढेको छ। सापकोटाले अकुपेन्सी औसतमा ८०/९० प्रतिशत रहेको जानकारी दिए।

‘भोटेकोशी बाढीसँगै यात्रुको संख्या बढेको छ। तर दुबैतर्फ त्यसरी यात्रु हुँदैनन्,’ उनले भने, ‘कुनै फ्लाइट काठमाडौं जाँदा मात्र फुल हुने, कुनै फ्लाइट फर्किंदा यात्रु धेरै हुने गरेका छन्।‘

सापकोटाका अनुसार विराटनगर र भद्रपुरमा भने यात्रु संख्या उस्तै छ।

बुद्ध एयरलाइन्सका अपरेसन डाइरेक्टर रुपेश जोशीका अनुसार बाढीपछि अकुपेन्सी १० प्रतिशत बढेको छ। ‘बाढी आउनुभन्दा अघिको तुलनामा अहिले करिब १० प्रतिशतले यात्रु संख्या बढेको छ,’ उनले बिजमाण्डूसँग भने, ‘भरतपुर, पोखरा र भैरहवामा ९० प्रतिशत अकुपेन्सी छ।’

फाइल तस्वीर

श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले पनि बाढी पछि यात्रु संख्या बढेको बताउँदै फ्लाइट संख्या समेत राम्रै रहेको जानकारी दिए। ‘बाढी अघि हाम्रो दैनिक १५ वटा फ्लाइट हुन्थ्यो। अहिले २५ वटासम्म भइरहेको छ,’ उनले भने, ‘अकुपेन्सी राम्रै छ।’

मानन्धरका अनुसार पूर्वतिरभन्दा पश्चिमतिर फ्लाइट मुभमेन्ट र चाप बढेको छ। ‘हाम्रो पूर्वतिरभन्दा पश्चिमतिरको फ्लाइटमा चाप बढेको छ,’ उनले भने, ‘२/४ दिन यताको तथ्यांक हेर्ने हो भने पनि भैरहवा र पोखरामा अकुपेन्सी धेरै नै राम्रो छ। हामीले फ्लाइट पनि यस क्षेत्रमा बढाएका छौं।’

टिकट भने ‘सस्तो फेयर’

भोटेकोशी बाढीसँगै हवाई कम्पनीहरुले सस्तो फेयर मात्रै लिने गरेका छन्। सामाजिक उत्तरदायित्व वहन गर्दै सस्तो टिकट मात्रै बेचिरहेको उनीहरुले बताएका छन्।

‘अहिलेको विषम परिस्थितिमा हामीले सस्तो फेयर मात्रै कार्यान्वयनमा ल्याएका हौं। सस्तो फेयरका कारण यात्रु बढे पनि त्यसले कम्पनीलाई नोक्सानी भइरहेको छ,’ कम्पनीका एक संचालकले भने, ‘हवाई इन्धनको भाउ आकास पुगेको छ। त्यो अनुसार सस्तो मूल्यको टिकट मात्रै बेच्दा हवाई कम्पनीले नोक्सानी ब्यहोरिरहेका छन्।’

उनका अनुसार अहिले मासिक ६० करोड नोक्सानी भइरहेको छ। ‘अहिले नाफा नोक्सान हेर्ने होइन भनेर उडान गरिरहेका छौं। देशलाई विपत्ति परेको बेला व्यवसायलाई हेरेर मात्रै भएन,’ ती संचालकले भने।