काठमाडौं। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण जलविद्युत् क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार बाढीमा परेका ९३६ जनाभन्दा बढी अझै सम्पर्कविहीन छन्।
बाढी प्रभावित क्षेत्रमा रहेका १२ मध्ये ११ आयोजना प्रभावित भएका छन्। बाढी आएको १० दिन बितिसक्दा पनि निरन्तरको वर्षा, नदीको उच्च बहाव र अप्ठ्यारो भूगोलका कारण खोजी तथा उद्धार कार्यमा तीव्र चुनौती थपिएको छ।
माथिल्लो त्रिशूली १: ५५१ जना बेपत्ता, ११५ जना सुरुङमै फसेको आशंका
२१६ मेगावाट क्षमताको निर्माणाधीन माथिल्लो त्रिशूली–१ मा सबैभन्दा ठूलो क्षति पुगेको छ। बाढी आउनुअघि एक हजार ४३३ जना कार्यरत रहेको यस आयोजनाबाट ५५१ जना अझै सम्पर्कविहीन छन्। जसमध्ये ११५ जना मुख्य सुरुङ र हेडवर्क्स (बाँधस्थल) भित्रै फसेको आशंका गरिएको छ।
आयोजनामा ६ जनाको शव फेला परेको छ। बेपत्ता हुनेहरूमा प्रवर्द्धक कम्पनी एनडब्लुइडिसीका १५ जना, जेड कन्सल्टेन्ट ७ जना, ठेकेदार कम्पनी डुसानका ५६ जना, सिभिल ठेकेदार पावर चाइनाका ३८५ जना र इलेक्ट्रो-मेकानिकल ठेकेदार एन्ड्रिजका ९४ जना रहेका छन्।
शुक्रबार उद्धार टोलीले फेला पारेका ६ वटा शव नेपाली सेनाको हेलिकप्टरमार्फत बट्टार ल्याएको छ। शवहरू चिन्न नसकिने अवस्थाका छन्। उद्धारका लागि कोरियाली टोली, शेर्पा, सर्च टिम, ड्रोन, तालिमप्राप्त कुकुर र १५ वटा ठूला मेसिन परिचालन गरिएको छ। प्रवर्द्धक कम्पनीले गृह सचिवलाई भेट गरी उद्धार कार्यलाई तीव्र बनाउन थप मेसिन लैजाने व्यवस्था मिलाइदिन आग्रह गरेको छ।
२१६ घण्टापछि २ जना मजदुरको जीवितै उद्धार
६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली-३ ‘ए’ को भूमिगत विद्युत् गृहमा फसेका २ जना मजदुरको १० दिन (२१६ घण्टा) पछि शुक्रबार बिहान सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा सप्तरीका सञ्जय साह र काठमाडौँका कबिर महर्जन रहेका छन्। उनीहरूलाई उपचारका लागि छाउनीस्थित सैन्य अस्पताल ल्याइएको छ र स्वास्थ्य अवस्था सामान्य रहेको छ। सो आयोजनाबाट अझै ३९ जना बेपत्ता छन्।
माथिल्लो त्रिशूली ३ ‘बी’मा १९१ जना बेपत्ता
३७ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली ३ ‘बी’ बाट फेवा कन्स्ट्रक्सनका १४१ जना, प्रवर्द्धक कम्पनीका २१ जना, कर्मचारीका परिवार ७ जना, चिलिमे इन्जिनियरिङका १२ जना, १ जना सुरक्षा गार्ड र काठमाडौँ विश्वविद्यालयका ३ जना इन्टर्न विद्यार्थीसहित १९१ जना बेपत्ता छन्। नदीको सतहभन्दा २ मिटर तलसम्म खन्दा पनि विद्युत् गृह नभेटिएपछि अब १२ मिटरसम्म खन्ने तयारी भइरहेको छ। सुरुङभित्र काम गरिरहेका २३ जना भने बाढीका बेला सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए।
रसुवागढी र अन्य आयोजनाको अवस्था
१११ मेगावाट क्षमताका ९३ जना सम्पर्कविहीन छन्। धुन्चेसम्म उद्धारका मेसिन पुर्याइए पनि आयोजनास्थलसम्म लैजान नसकिएकाले खोजी टोलीले अग्लो स्थानमा क्याम्प बनाएर उद्धार प्रयास जारी राखेको छ। यस्तै २० मेगावाट क्षमताको लाङटाङ खोला ३९ जना सम्पर्कविहीन छन्, १९ जनाको उद्धार भएको छ भने २ जनाको शव फेला परेको छ।
चिलिमे जलविद्युत आयोजनाका ६ जना र मैलुङ खोलामा कार्यरत ७ जना कर्मचारी अझै पनि सम्पर्कविहीन छन्। १५.६ मेगावाट क्षमताको त्रिशुली जलविद्युत जलविद्युत केन्द्र, १४.१ मेगावाटको देवीघाट, १५.६ मेगावाट क्षमताको मिडल त्रिशुली गंगा र २५ मेगावाट क्षमताको नुवाकोट सौर्य विद्युत् आयोजना बाढीले ठूलो क्षति पुर्याएको छ।










