रसुवा भोटेकोशी विनाशकारी बाढीको घटना हिमाली क्षेत्रमा प्राकृतिक प्रकोपहरू कसरी एकपछि अर्को जोडिँदै ठूलो विपद्मा परिणत हुन सक्छन् भन्ने गम्भीर उदाहरण हो। प्रारम्भिक जानकारी र उपलब्ध विश्लेषणअनुसार करिब ५ हजार मिटर उचाइबाट ३ हजार मिटर आसपाससम्म विशाल चट्टान र हिमनदी खसेपछि घटना सुरु भएको देखिन्छ। त्यसक्रममा उत्पन्न शक्तिशाली कम्पन, तीव्र भिरालो भूभागबाट तलतर्फ आएको चट्टान, बरफ, पानी, माटो र ठूला ढुंगाको मिश्रणले अत्यन्त तीव्र गतिमा बग्ने डेब्रिस फ्लोको रूप लिएको देखिन्छ।
भिरालो भूभाग हुँदै तल झरेको यो प्रवाहको गति ५० मिटर प्रतिसेकेन्डभन्दा बढी, अर्थात् करिब १८० किलोमिटर प्रतिघण्टासम्म पुगेको हुन सक्ने प्रारम्भिक अनुमान छ। यति तीव्र गतिमा आएको प्रवाहले नदी किनारको भूभागमा ठूलो कटान र स्काउरिङ गराउनुका साथै सडक, पुल र अन्य पूर्वाधारमा अत्यधिक दबाब पारेको हुन सक्छ। कतिपय स्थानमा डेब्रिस सर्जको उचाइ ५० मिटरभन्दा बढी पुगेको अनुमानले पनि घटनाको शक्ति र सम्भावित विनाशको स्तर देखाउँछ।
त्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा पर्ने टिमुरे र स्याफ्रुबेँसी आसपासका भागले मुख्यतः ढुवानी क्षेत्रको भूमिका खेलेको देखिन्छ। माथिबाट आएको चट्टान, बरफ, माटो र पानी यही क्षेत्र हुँदै तलतर्फ सर्दै गएको हुन सक्छ। त्यसपछि वेत्रावती र त्रिशूली बजार आसपास आइपुग्दा नदीको भिरालोपन क्रमशः घटेकाले प्रवाहको प्रकृति पनि परिवर्तन भएको देखिन्छ। यो भाग संक्रमण क्षेत्रका रूपमा रहेर कतै कटान र कतै निक्षेपणको प्रक्रिया भएको हुन सक्छ। अझ तल नदीको ढलान कम हुँदै जाँदा प्रवाहको गति घट्यो र ठूलो मात्रामा माटो, ढुंगा तथा डेब्रिस थुप्रिँदै गएपछि घटना ठूलो नदीजन्य बाढीमा परिणत भएको देखिन्छ।

यस घटनाको अर्को महत्त्वपूर्ण पक्ष जलविद्युत पूर्वाधारमा परेको प्रभाव हो। रसुवा र नुवाकोट क्षेत्रमा रहेका विभिन्न जलविद्युत तथा सौर्य आयोजनाका संरचना, प्रसारण लाइन र विद्युत् निकासी प्रणाली प्रभावित भएका छन्। चिलिमे, रसुवागढी, लाङटाङ, मैलुङ, अपर त्रिशूली–१, अपर त्रिशूली–३ ‘ए,’ अपर त्रिशूली–३ ‘बी,’ मध्य त्रिशूली गंगा, त्रिशूली र देवीघाटलगायत आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ। करिब ७५४ मेगावाटभन्दा बढी जडित क्षमताका आयोजनाहरू कुनै न कुनै रूपमा प्रभावित भएको देखिन्छ। २५ मेगावाटको सौर्य आयोजनासमेत प्रत्यक्ष प्रभावित भएको छ।
सान्जेन र अपर सान्जेन जलविद्युत आयोजनाका मुख्य भौतिक संरचनामा प्रत्यक्ष ठूलो क्षति नभए पनि त्रिशूली–३ ‘बी’ सबस्टेसन तथा प्रसारण पूर्वाधार क्षतिग्रस्त हुँदा विद्युत् निकासीमा असर परेको छ। यसले एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ, त्यो हो जलविद्युत आयोजनाको सुरक्षा केवल बाँध, सुरुङ, विद्युत्गृह वा उत्पादन संरचनाको सुरक्षाले मात्र सुनिश्चित हुँदैन। प्रसारण र विद्युत् निकासीको संरचना पनि उत्तिकै सुरक्षित र भरपर्दो हुनुपर्छ।
जल तथा मौसम विज्ञान विभागका अभिलेखअनुसार गल्छीमा बाढीको बहाव करिब ९ हजार १५० घनमिटर प्रतिसेकेन्ड पुगेको उल्लेख छ। सुपर त्रिशूली क्षेत्रमा अनुमान गरिएको १:५०० वर्ष पुनरावृत्ति अवधिको बाढी करिब ९ हजार ८८२ घनमिटर प्रतिसेकेन्ड रहेको अवस्थामा यस घटनाको परिमाण असाधारण ठूलो रहेको देखिन्छ। विस्तृत हाइड्रोलोजिकल अध्ययनबाट अन्तिम पुष्टि हुन बाँकी रहे पनि यी तथ्यले घटना अत्यन्त ठूलो बाढीको तहमा पुगेको संकेत गर्छन्।

विपद्बाट सिक्नुपर्ने प्रमुख पाठहरू
आपतकालीन उद्धार तथा सुरक्षित निकास व्यवस्था : यो घटनाबाट पहिलो र सबैभन्दा महत्त्वपूर्ण पाठ आपत्कालीन उद्धार र सुरक्षित निकास व्यवस्थासँग सम्बन्धित छ। धेरै आयोजनामा काम गर्ने प्राविधिक तथा कर्मचारीहरू सडक र पहुँच सुरुङ डेब्रिसले थुनिएपछि जोखिममा परे। विशेषगरी भूमिगत विद्युत्गृह र सुरुङ भएका आयोजनाले आपत्कालीन अवस्थामा बाहिर निस्कने स्पष्ट र भरपर्दो व्यवस्था गर्नुपर्ने देखिएको छ। एउटा मात्र बाटोमा निर्भर रहने अवस्था अब पर्याप्त हुँदैन।
वैकल्पिक निकास, नियमित उद्धार अभ्यास र विपद्को समयमा कसले के गर्ने भन्ने स्पष्ट योजना आयोजनाको सामान्य सञ्चालन योजनाजत्तिकै महत्त्वपूर्ण विषय बन्नुपर्छ।
प्रभावकारी पूर्वसूचना प्रणाली : बाढी वा डेब्रिस फ्लो आउनुअघि केही मिनेटको सूचना पनि धेरै मानिसको जीवन जोगाउन निर्णायक हुन सक्छ। त्यसैले मोबाइल सन्देश, साइरन, स्थानीय सञ्चार प्रणाली, रेडियो र अन्य माध्यमबाट सर्वसाधारणलाई सरल र तत्काल बुझिने सूचना पुर्याउने व्यवस्था आवश्यक छ। सुरक्षाकर्मी र उद्धारमा खटिने टोलीले पनि बाढीको सम्भावित परिमाण, आगमन समय र जोखिमको स्तरबारे समयमै विश्वसनीय सूचना पाउनुपर्छ। यस घटनामा जोखिमको वास्तविक स्वरूपबारे पर्याप्त जानकारी नहुँदा उद्धार र सुरक्षामा खटिएका मानिससमेत जोखिममा परेको देखिन्छ।
नदी क्षेत्रअनुसार फरक डिजाइन मापदण्ड : तेस्रो पाठ नदी क्षेत्रअनुसार पूर्वाधारको डिजाइन र योजना बनाउनुपर्ने हो। नदीको प्रत्येक भागमा बाढीको व्यवहार एउटै हुँदैन। माथिल्लो भागमा डेब्रिस तीव्र गतिमा बग्ने ढुवानी क्षेत्र हुन सक्छ भने तलतिर कटान र निक्षेपण हुने संक्रमण क्षेत्र तथा अझ तल ठूलो मात्रामा माटो र ढुंगा थुप्रिने निक्षेपण क्षेत्र बन्न सक्छ। त्यसैले सडक, पुल, जलविद्युत आयोजना, प्रसारण लाइन र बस्तीको योजना बनाउँदा केवल पानीको सतह कति माथि पुग्छ भन्ने आधारमा जोखिम मूल्याङ्कन गर्नु पर्याप्त हुँदैन। नदीसँगै आउने चट्टान, माटो, बरफ र डेब्रिसको प्रभावलाई पनि डिजाइनमा समेट्नुपर्छ।
वैकल्पिक तथा दोहोरो जल–मौसम अनुगमन प्रणाली : चौथो पाठ जल तथा मौसम अनुगमन प्रणालीलाई थप भरपर्दो बनाउनुपर्ने हो। विपद्का बेला अनुगमन केन्द्र नै बग्ने वा सञ्चार सम्पर्क टुट्ने अवस्था आउन सक्छ। त्यसैले महत्त्वपूर्ण नदी प्रणालीमा एउटा मात्र मापन केन्द्रमा निर्भर रहने व्यवस्था जोखिमपूर्ण छ। मुख्य केन्द्रसँगै वैकल्पिक केन्द्र, निरन्तर तथ्यांक प्रसारण र सञ्चार सम्पर्क टुट्दा पनि काम गर्ने वैकल्पिक प्रणाली विकास गर्न आवश्यक छ। वास्तविक समयको सूचना उपलब्ध भएमा बाढीको प्रकृति बुझ्न र जोखिममा रहेका मानिसलाई समयमै सुरक्षित स्थानमा लैजान सहज हुन्छ।
जोखिम–संवेदनशील भू–उपयोग योजना : हिमाली क्षेत्रमा बाढीको जोखिमलाई सामान्य नदी बाढीका रूपमा मात्र बुझ्नु हुँदैन। हिमताल विस्फोट, हिमपहिरो, डेब्रिस फ्लो, पहिरो र नदी कटानजस्ता विभिन्न जोखिम एकै ठाउँमा जोडिन सक्छन्। त्यसैले नयाँ बस्ती, सडक वा पूर्वाधार निर्माण गर्दा बहु–जोखिमको अध्ययन आवश्यक हुन्छ। जलविद्युत वा अन्य ठूला आयोजनामा लगानी गर्नेले पनि निर्माणस्थलको जोखिमसँगै बीमा र पुनर्बीमा कम्पनीको जोखिम वहन गर्ने वास्तविक क्षमताको मूल्यांकन गर्नुपर्छ।
उच्च जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा पुनर्स्थापना : सिन्धुपाल्चोकको भोटेकोशी करिडोरलाई हेर्दा बाह्रबिसे र खाडीचौरका कतिपय बस्ती बाढीको मैदानमा तथा नदी किनारभन्दा केही मिटर मात्र माथि रहेका छन्। यस्तो भूभागमा भविष्यमा यस्तै प्रकृतिको ठूलो बाढी वा डेब्रिस फ्लो आएमा क्षति भयावह हुन सक्छ। त्यसैले विपद् भएपछि मात्रै उद्धार गर्ने होइन, जोखिम पहिचान गरेर उच्च जोखिममा रहेका बस्तीलाई दीर्घकालीन रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने नीति आवश्यक छ।
सीमापार सूचना आदान–प्रदान : नेपालका धेरै ठूला नदी प्रणालीका जलाधार नेपालबाहिर, विशेषगरी चीनको तिब्बती क्षेत्रमा समेत फैलिएका छन्। त्यसैले हिमनदीको अवस्था, मौसम, पहिरो, नदीको बहाव र सम्भावित बाढीबारे नेपाल र छिमेकी मुलुकबीच नियमित तथा प्रभावकारी सूचना आदान–प्रदान आवश्यक छ। सीमापार नदीमा हुने विपद्को सूचना सीमा नाघेर तलतिर आइपुग्ने समुदायसम्म पुग्न ढिला भयो भने त्यसको मूल्य मानवीय क्षतिका रूपमा चुकाउनुपर्ने हुन सक्छ।
बीमा तथा पुनर्बीमा क्षमताको उचित मूल्यांकन : जलविद्युत आयोजनाहरू बीमित भए पनि ठूलो प्राकृतिक विपद्का बेला एकैपटक ठूलो रकमको दाबी पर्न सक्छ। नेपाल बीमा प्राधिकरणका प्रारम्भिक तथ्यांकमा यस घटनासँग सम्बन्धित कुल बीमा दाबी करिब २५८ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ बराबर पुगेको उल्लेख छ। यसले यस्ता असाधारण विपद्का बेला बीमा कम्पनी र पुनर्बीमा कम्पनीले दाबी भुक्तानी गर्न सक्ने वित्तीय क्षमता कति छ भन्ने प्रश्न उठाउँछ। त्यसैले आयोजना विकासकर्ता, बैंक तथा लगानीकर्ताले बीमा गरिएको छ कि छैन भन्ने मात्रै होइन, बीमा र पुनर्बीमाको जोखिम वहन क्षमता तथा दाबी भुक्तानीको विश्वसनीयतासमेत अध्ययन गर्नुपर्छ।

रसुवा भोटेकोशीको यो घटनाले हिमाली क्षेत्रमा एउटा प्राकृतिक प्रकोप कसरी छोटो समयमै अर्को ठूलो विपद्मा बदलिन सक्छ भन्ने स्पष्ट देखाएको छ। चट्टान–हिमनदी खस्ने घटना, त्यसपछि डेब्रिस फ्लो र अन्ततः ठूलो नदीजन्य बाढीमा परिणत हुने यस्तो क्रमिक विपद्लाई सामान्य बाढी वा पहिरोका रूपमा मात्र बुझेर जोखिम व्यवस्थापन गर्न सकिँदैन।
प्राकृतिक प्रकोप रोक्न सधैं सम्भव हुँदैन। तर वैज्ञानिक अनुगमन, भरपर्दो पूर्वसूचना, सुरक्षित र लचिलो पूर्वाधार, प्रभावकारी आपत्कालीन निकास, जोखिमअनुकूल भू–उपयोग योजना, सीमापार सूचना सहकार्य तथा बलियो विपद् तयारीबाट मानवीय र भौतिक क्षति धेरै हदसम्म कम गर्न सकिन्छ। हामीले हिमाली क्षेत्रमा हुने चरम प्राकृतिक प्रकोपलाई सधैं रोक्न नसकौँला, तर राम्रो तयारी, सही योजना र समयमै सूचना भएमा जीवन र पूर्वाधारमा हुने क्षति अवश्य धेरै हदसम्म घटाउन सक्छौँ।










