नेपाललाई डेढ अर्ब सहयोग गर्ने एनभिडियाका सीइओको एसिया कनेक्सन, अनि पाखुरामा खोपे लोगो…



बिजमाण्डू
२०८३ भदौ १९ गते १९:०८ | Sep 4, 2026
नेपाललाई डेढ अर्ब सहयोग गर्ने एनभिडियाका सीइओको एसिया कनेक्सन, अनि पाखुरामा खोपे लोगो…


मार्क जकरबर्ग उनलाई टेक साम्राज्यका ‘टेलर स्विफ्ट’ भन्छन्। जति स्टिभ जब्सको ‘टर्टल नेक’ टि-सर्ट फेमस छ, उस्तै सिग्नेचर स्टाइल बनेको छ उनको लेदर ज्याकेट।

Vigo
GBIME
Tata

नेपालका सन्दर्भमा भने रसुवामा गएको विनाशकारी बाढीपछि हालसम्मकै सबैभन्दा बढी अर्थात करिब डेढ अर्ब नेपाली रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिएपछि उनी चर्चामा छन्।

उनी हुन् एनभिडियाका सीइओ जेन्सेन हुवाङ जसले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि पीडितहरुको पुनर्स्थापनाका लागि नेपाललाई १ करोड अमेरिकी डलर सहयोग पठाए।  

एनभिडियाले दिएको यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म प्राप्त सहयोगमध्ये सबैभन्दा बढी हो।

कुनै पनि कम्पनी, संघसंस्था वा मुलुकले हालसम्म उपलब्ध गराएभन्दा बढी सहयोग नेपाललाई चिप निर्माण तथा सफ्टवेयरको विकास जस्ता कम्प्युटिङ सम्बन्धी काम गर्दै आएको कम्पनी एनभिडियाले उपलब्ध गरायो जसपछि एकाएक यो कम्पनी र यसका सीइओबारे चासो बढेको छ।   

४० हजार डलरको बिउ पुँजीबाट जन्मिएको एनभिडियालाई ट्रिलियन डलरको कम्पनी बनाउने जेन्सेन नेपालप्रति उदार र परोपकारी भावका साथ अघि सरे।

को हुन् जेन्सेन?

सन् १९६३ मा ताइवानको ताइपेइमा जन्मिएका जेन्सेन ५ वर्षकै उमेरमा थाइल्याण्ड पुगे। केमिकल इन्जिनियर पिता कामको सिलसिलामा जता जता पुग्थे, परिवारै ठाउँ सरिरहन्थे। तेल रिफाइनरीमा काम गर्ने बुवासँगै उनी थाइल्याण्ड पुगे।

शिक्षिका आमाले सानैदेखि हरेक दिन उनलाई शब्दकोषबाट १० वटा अंग्रेजी शब्द सिकाउँथिन्।

थाइल्याण्डपछि ९ वर्षकै उमेरमा उनी अमेरिका पुगे। अमेरिकी कम्पनीमा बुवाको जागिर भएपछि परिवारै अमेरिका पुग्यो जहाँ जेन्सेनको शिक्षा वासिङटनको बोर्डिङबाट सुरु भयो।

कठिन बाल्यकाल बिताएका उनीले विद्यालयमै बुलिङ तथा शारीरीक याताना सहनुपर्‍यो। एसियाली आप्रवासी बालकका रुपमा उनको बाल्यकाल असाध्यै पीडादायी रह्यो। होचो कद, कालो कपाल अनि अमेरिकीहरुको झैं लवज नहुनुले उनी बुलिङको शिकार भए।

पछि उनी पढाइ तथा खेलमा अब्बल हुँदै गए। म्याथ, कम्प्युटर र साइन्स क्लबमा उनी असाध्यै अब्बल विद्यार्थीका रुपमा दरिए। हाइस्कुलमा हुँदा उनी टेबल टेनिसका राष्ट्रिय खेलाडी बनिसकेका थिए भने १६ वर्षमै उनले ग्र्याजुएसन सके।

थप शिक्षाका लागि ओरेगन स्टेट युनिभर्सिटी पुगे जहाँ उनी ल्याब पार्टनर लोरी मिल्ससँग प्रेममा परे। उनै लोरीसँग उनको विवाह भयो। उनी यति मेहनती थिए कि उनले जुनसुकै गृहकार्य पनि समयमै सक्थे। उनका साथीभाइ पनि उनलाई होमवर्कमा सुपर कम्प्युटर नै भन्ने गर्थे जसलाई जुनसुकै टपिकमा गृहकार्य दिए पनि एक सातामै निपुण भएर सकिसक्थे।   

ग्र्याजुयसन सकेपछि उनले माइक्रोचिप डिजाइनरका रुपमा सिलिकन भ्यालीमा काम गरे।

स्कुल पढ्दै उनले १५ वर्षकै उमेरदेखि काम थालेका थिए। अमेरिकी रेष्टुरेन्ट चेन डेन्निजमा उनले डिस वासरबाट आफ्नो काम सुरु गरेका थिए। उनमा शान्तपन र धैर्यता यति धेरै थियो कि उनले रेष्टुरेन्टको पिक आवरको काम असाध्यै सरल रुपमा ह्यान्डल गर्थे।  

र, रोचक कुरा पछि उनको आफ्नै कम्पनी एनभिडिया पनि क्यालिफोर्नियाको डेन्निज रेष्टुरेन्टकै टेबलमा जन्मियो।

क्यालिफोर्नियाको डेन्निजमै अरु दुई साथीभाइसँगको छलफलपछि जन्मिएको एनभिडिया आज विश्वकै लिडिङ कम्पनी बनिसकेको छ। आर्टिफिसियल इन्टेलिजेन्स र ग्राफिक्स प्रोसेसिङ युनिट निर्माणको क्षेत्रमा यो विश्वकै अग्रणी कम्पनी हो।

प्रविधिमा एआईको जग बसाउने श्रेय एनभिडियालाई नै जान्छ। उसले आविष्कार गरेको ग्राफिक्स प्रोसेसिङ युनिटकै कारण गेमिङ र कम्प्युटर ग्राफिक्सको क्षेत्रमा विश्वलाई सफलता मिल्यो।

जेन्सेनले एएमडी र एलएसआई लोजिक जस्ता कम्पनीमा काम गर्दै पढाइ सकेका थिए। इलेक्ट्रिकल इन्जिनियरिङमा मास्टर्स सकेका उनले एएमडीमा काम गर्दा उनले माइक्रोप्रोसेसर डिजाइन गरे जसलाई उनको ‘एनभिडिया’ तर्फको बाटो मान्न सकिन्छ।  

कसरी जन्मियो एनभिडिया?

एक दिन रेष्टुरेन्टमा आफ्ना दुई साथी क्रिस मालाचोस्की र कर्टिस प्रिमसँग बसिरहेका बेला जेन्सेनले प्रस्ताव राखे अनि तीन जनाको कम्पनीका रुपमा जन्मियो एनभिडिया। अन्य दुई साथी सन माइक्रोसिस्टम र आईबीएममा काम गरेका थिए। उनीहरु पनि यस्तो किसिमको चिप डिजाइन गर्न चाहन्थे जसलाई प्रविधिको उच्चतम स्तरमा लैजान सकियोस्।  

अन्य सीपीयू बनाउने कम्पनीभन्दा फरक उनीहरु जीपीयू निर्माणमा लक्षित भए। जीपीयू अर्थात् ग्राफिक्स प्रोसेसिङ युनिट जसले भिडियो र तस्वीरको प्रोसेसिङ क्षमतालाई तीब्र बनाउन मद्दत पुग्छ।

कम्पनीले पहिलो उत्पादनका रुपमा भिडियो गेम कन्सोल डिजाइन गर्‍यो तर त्यो पहिलो प्रोजेक्ट फेल भयो। दोस्रो प्रोडक्ट रिभा वान हिट भयो जुन भिडियो गेम सिरिजका रुपमा आयो।

एनभिडियाले भिडियो गेम निर्माणबाट एआईतर्फ स्विच हुनुमा च्वाइसभन्दा पनि चान्स थियो। सन् २००० मा इयान बकले जीफोर्स चिप प्रयोग गरी लो बजेट सुपर कम्प्युटर निर्माण गरेका थिए। उनी विभिन्न किसिमका कम्प्युटिङ प्लाटफर्म बनाइरहेका थिए। उनै इयान बक पछि एनभिडियामै आबद्ध भए।

एउटा सानो वैज्ञानिक तथा गेमर्सको समूहमा प्रयोग हुने यस्ता लो बजेट सुपर कम्प्युटर, यसबारे विश्वले तबमात्र थाहा पायो जब सन् २०२२ मा एनभिडियाले ओपन एआईका रुपमा जेनेरेटिभ प्रिट्रेन्ड ट्रान्सफर्मर अर्थात जीपीटी रिलिज गर्‍यो।  त्यसपछि विश्वभर नै एआईबारे व्यापक चर्चा सुरु भयो।

एनभिडियाकै रे ट्रेसिङ टेक्निकको पनि क्षमता असाधारण छ। कसैले अनुमान नै गर्न नसकेका एक फुच्चे एसियाली आप्रवासी बालकले नै एनभिडियामार्फत यस्ता असाधारण प्रविधिलाई मानव जीवनमा सम्भव बनाइदिएको छ ।

जेन्सेनले ४० हजार डलरको कम्पनीलाई ट्रिलियन डलरको बनाए जसले आज माइक्रोसफ्ट र एप्पलसँग प्रतिस्पर्धा गर्छ।

सन् १९९९ मा पब्लिक कम्पनीका रुपमा लिस्टिङ भएपछि एनभिडियाको उचाइ चुलिंदै गयो। जेन्सेनले कम्पनीको सेयर मूल्य १०० डलर पुग्यो भने आफूले कम्पनीको लोगोको ट्याटु बनाउँछु भनेका थिए। जब कम्पनीको सेयर मूल्य १०० डलर पुग्यो उनले बाँया पाखुरामा कम्पनीको लोगो ट्याटु समेत खोपे। त्यो ट्याटु उनले सन् २०१४ मा सांघाइमा भएको एनभिडिया गेमिङ फेस्टिभलमा सार्वजनिक गरे। 

आजको दिनमा एनभिडियाका प्रविधिलाई अमेजन, मेटा, माइक्रोसफ्ट र अल्फवबेटले प्रयोग गर्छन् जसबाट कम्पनीको ४० प्रतिशतभन्दा बढी रेभेन्यू सिर्जना हुन्छ।  यस्तै ओपन एआई र टेस्ला समेत यसका ठूला ग्राहकमा पर्छन्।

सन् २०२५ को अक्टोबरमा एनभिडिया मार्केट क्याप ५ ट्रिलियन डलरभन्दा बढी भएको विश्वकै पहिलो पब्लिक कम्पनी बन्न सफल भयो।

फोर्ब्सको धनाढ्य सूची अनुसार जेन्सेनको रियल टाइम नेटवर्थ १९७.२ अर्ब डलर छ जसले उनलाई विश्वका आठौं धनाढ्यका रुपमा स्थापित गरिदिएको छ।

हाल उनी अमेरिकाको प्रेसिडेन्ट्स काउन्सिल अफ एडभाइजर्स अन साइन्स एण्ड टेक्नोलोजी अन्तर्गत राष्ट्रपतिको सल्लाहकारको समेत भूमिकामा छन्।

सरल भएका कारण उनीतर्फ युवाहरु झुम्मिन्छन्। गत मे १५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चीन भ्रमणमा गएका बेला कूटनीतिक बैठकबाट बाहिरिएर उनले सडकमा चाउमिन र आइसक्रिम खाएको भिडियोले निकै चर्चा पाएको थियो। उनले बेइजिङको फेमस फ्राइड बिन सस नुडल्स खाँदै सेल्फी लिंदै हिंडेको दृश्यले धेरैलाई तानेको थियो।

एनभिडियाको सफलताले नै जेन्सेनलाई विश्वमा मार्क जकरबर्ग र स्टिभ जब्सलाई जस्तै परिचित अनुहारका रुपमा स्थापित गराइदियो। विपत्तिको यो कठिन घडीमा डेढ अर्ब रुपैयाँ सहयोग गरेर जेन्सेनले उद्यमी वा सीइओका रुपमा भन्दा पनि उदारमना मानिसका रुपमा नेपाली मनमस्तिष्कमा आफ्नो छाप छोडेका छन्।