काठमाडौं। एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गरेको छ। सहज सञ्चार, खोज, उद्धार तथा राहत वितरण कार्यमा सहयोग पुर्याउने उद्देश्यले एनसेलले भदौ २० गतेदेखि थप ७ दिन सेवालाई निरन्तर दिएको हो।
प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन्। यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो। त्यसपछि निःशुल्क सेवाको अवधि ७ दिन थप गरी भदौ १९ गतेसम्म पुर्याइएको थियो।
‘यस कठिन घडीमा सहज सञ्चार सुनिश्चित गर्न हामीले प्रभावित क्षेत्रमा निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने निर्णय गरेका हौं। अवरुद्ध भएका टावरमध्ये ९२ प्रतिशत पुनः सञ्चालनमा आइसकेकाले विपद्को समयमा हाम्रो यो निःशुल्क सेवाले प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न ठूलो मद्दत पुग्ने विश्वास लिएका छौं,’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने।
एनसेलले भोटेकोशी बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका आफ्ना ९२ प्रतिशत टावर पुनः सञ्चालनमा ल्याई सेवा प्रवाह गर्दै आएको छ। कम्पनीले बाँकी टावरहरू पुनः सञ्चालनमा ल्याउन आवश्यक कार्यसमेत गरिरहेको जनाएको छ।
बाढीका कारण एनसेलका कुल २७ वटा टावर अवरुद्ध भएका थिए। कम्पनीले आफ्नो २५औं टावर नुवाकोटको त्रिशुलीमा बिहीबार पुनः सञ्चालनमा ल्याएको छ। रसुवाको घट्टेखोला, टिमुरेमा रहेको एक टावर भने पूर्ण रूपमा नष्ट भएको छ। रसुवाकै उत्तरगया, तिरुमा रहेको बाँकी एक टावरमा हेलिकप्टरमार्फत आवश्यक उपकरण पुर्याइ सेवा पुनः सञ्चालन गर्न आवश्यक समन्वय भइरहेको एनसेलले जनाएको छ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत एक करोड सहयोग गरेको थियो।










