उद्धारले देखायो अँध्यारो सुरुङभित्र उज्यालोको सम्भावना, चिलिमे र रसुवागढीमा थपिए उद्धारकर्ता



जनक वली
२०८३ भदौ १९ गते १८:१५ | Sep 4, 2026
उद्धारले देखायो अँध्यारो सुरुङभित्र उज्यालोको सम्भावना, चिलिमे र रसुवागढीमा थपिए उद्धारकर्ता


काठमाडौं। सुरुङभित्र फसेका सञ्जय साह र कबिर महर्जनको १० औं दिनमा उद्धार भएसँगै खोजीले थप तीब्रता पाएको छ। त्रिशुली थ्री ‘ए’ जलविद्युत आयोजनामा कार्यरत ४२ जना सम्पर्कविहीन भएकामा दुई जनाको उद्धार भएसँगै अन्यलाई पनि जीवितै निकाल्न सकिने आशा बढेको हो।

Vigo
GBIME
Tata

नेपाल-चीन सीमा नजिकैबाट आएको हिउँ पहिरोसहितको बाढीका कारण १३ जलविद्युत आयोजना र त्यसमा कार्यरत करिब एक हजार कर्मचारी सम्पर्कविहीन भएका थिए।

माथिल्लो ‘त्रिशुली थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र बाढी आएदेखि सम्पर्कविहीन भएका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई उद्धार टोलीले शुक्रबार बिहान जीवितै बाहिर निकालेको हो।

चिलिमे जलविद्युत आयोजना र रसुवागढी जलविद्युत आयोजनामा भने अझै पनि उद्धारको प्रतीक्षा कायम छ।

शुक्रबार दुई जनाको उद्धारले यी दुई आयोजना खोतल्न थप दबाब बढेको छ। उद्धार र खोजलाई तीब्रता दिनसके ती आयोजनामा फसेकालाई जीवितै निकाल्न सकिने आशा पलाएको नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।

दुई जनाको सफल उद्धारले सुरुङभित्र फसेका मानिसले अक्सिजन पाइरहेको पुष्टि भएको शाक्यको भनाइ छ। बाढीसँगै सुरुङभित्र हावाको चाप गएको हुनसक्ने उनको विश्लेषण छ।

‘बाँच्नका लागि आवश्यक पर्ने मुख्य अक्सिजन र पानी हो। आजको उद्धारले सुरुङभित्र ती दुवै छ भन्ने पुष्टि भएको छ,’ शाक्यले भने, ‘चिलिमे र रसुवागढीको सुरुङ तथा पावरहाउसमा फसेकालाई पनि यसरी नै उद्धार गर्न सकिन्छ भन्ने आशा पलाएको छ।’

शाक्यका अनुसार अबको चुनौती भनेको समयको मात्र हो। उद्धार कार्यमा जति ढिलाइ हुन्छ, परिस्थिति उति नै जटिल बन्दै जान्छ।

‘त्यसैले सरकार, उद्धार टोली र सम्बन्धित निकायले उपलब्ध भएका सम्पूर्ण स्रोतसाधन र जनशक्ति प्रयोग गरी उद्धार कार्यलाई तीब्र बनाउन आवश्यक छ,’ उनले भने, ‘सञ्जय साह र कबिर महर्जनको उद्धारले दिएको सकारात्मक सन्देश भनेको बाँकी सबैको उद्धार हुनसक्छ भन्ने विश्वास हो।’

शाक्य उद्धार भएका दुई जनाको स्वास्थ्य अवस्थाका आधारमा जलविद्युत आयोजनामा फसेकाहरुलाई अझै एक/दुई दिनसम्म अक्सिजन पुग्ने र उनीहरुलाई जोगाउन सकिनेमा आशावादि छन्।

रसुवागढी आयोजनका ९३ जना कर्मचारी सम्पर्कविहीन छन्। उनीहरुमध्ये ३ देखि १४ जनासम्म भूमिगत विद्युत गृहभित्र फसेको प्राधिकरणको अनुमान छ।

यस्तै, चिलिमे जलविद्युत आयोजनाका ६ कर्मचारी भूमिगत विद्युत गृहमा फसेको आकलन छ। उनीहरूको उद्धारका लागि नेपाली र भारतीय सेनाको टोलीले पहुँचमार्ग खुलाइरहेको छ।

मेसिनरी उपकरण लगेर सफाई गर्न असम्भव भएपछि भारतीय सेनाको ‘नेसनल डिजास्टर फोर्स’ले विद्युत गृहसम्म पुग्ने बाटो छिचोल्न काम गरिरहेको छ। शुक्रबार थप २० जना भारतीय सैनिक परिचालन गरिएको छ भने सानो स्काभेटर पनि पुर्‍याइएको छ।

बाढीपछि चिलिमेको निकास सुरुङ (टेलरेस टनेल) जमिनको सतहभन्दा धेरै मुनि पुरिएकाले उद्धार कठिन भइरहेको छ। हिलो र लेदोको कारण कतिपय ठाउँमा सतह १० मिटरसम्म बढेको छ।