सातौं दिनमा बढ्यो सेयर बजार, सूचक ९.२६ अंक बढ्दा दुई महिनायताकै न्यून किनबेच



बिजमाण्डू
२०८३ भदौ १६ गते १५:२२ | Sep 1, 2026
सातौं दिनमा बढ्यो सेयर बजार, सूचक ९.२६ अंक बढ्दा दुई महिनायताकै न्यून किनबेच


काठमाडौं। लगातार ६ दिन घटेको सेयर बजार मंगलबार बढेको छ। नेप्से परिसूचक सातौं दिन ९.२४ अंक बढेर २५२२.६६ विन्दुमा पुगेको छ।

Vigo
GBIME
Tata

कारोबारमा आएका उत्पादन तथा प्रशोधन बाहेकका उपसमूहले बजार बढाएका हुन्। उत्पादन तथा प्रशोधन कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १ प्रतिशतले घटेको छ।

भोटेकोशीमा आएको बाढीपछि सिमेन्ट कम्पनीको मूल्य बढ्दा उत्पादन तथा प्रशोधन क्षेत्र उकालो लागेकामा मंगलबार घटेको हो।

बाढीका कारण दर्जन बढी जलविद्युत आयोजना बगाएको छ। क्षतिपछिको पुन:निर्माणमा माग बढ्ने अपेक्षासहित सिमेन्ट कम्पनीमा लगानीकर्ता आकर्षित देखिएका थिए।

मंगलबार हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै १.०१ प्रतिशतले सूचक बढेको छ। बाढीको क्षतिपछि जलविद्युत कम्पनीको सेयर मूल्य उच्च अंकले घटेको थियो।

बजारमा १८१ कम्पनीको सेयर मूल्य बढेको छ। माथिल्लो मैलुङ खोलाको मूल्य सबैभन्दा धेरै ७.१५ प्रतिशतले बढेको छ।

८४ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर छ। उपकार लघुवित्तको भाउ सबैभन्दा धेरै ८.४८ प्रतिशतले ओरालो लागेको छ।

बजारमा २ अर्ब ९० करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। मंगलबार सेयर बजारमा भएको कारोबार दुई महिनायताकै न्यून हो।

बजारमा यसअघि असार १५ गते २ अर्ब ६७ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। मंगबलार सोलु हाइड्रोपावरको सबैभन्दा धेरै १३ करोड ८२ लाख र शिवम् सिमेन्टको १३ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।