माथिल्लो त्रिशुली-३ ‘ए’ को सुरुङबाट लेदो निकाल्नै मुस्किल, उपकरणको पर्खाइमा उद्धार टोली



नेत्र तामाङ
२०८३ भदौ १५ गते २०:०३ | Aug 31, 2026
माथिल्लो त्रिशुली-३ ‘ए’ को सुरुङबाट लेदो निकाल्नै मुस्किल, उपकरणको पर्खाइमा उद्धार टोली


काठमाडौं। बाढीले डुबानमा परेको माथिल्लो त्रिशुली-३ ‘ए’को सुरुङ छिचोल्न अझै समय लाग्ने भएको छ। उद्धार टोलीमा संलग्न जियोटेक्निकल इन्जिनियर उदयराज न्यौपानेका अनुसार सुरुङको ‘क्राउन’ भेटिए पनि लेदो निकाल्न निकै मुश्किल भइरहेको छ।

Vigo
GBIME
Tata

भदौ १० गते बाढी पसेको यो आयोजनामा शनिबारबाट इन्जिनियरको टोली खटिएको छ। ‘गए राति हामीले क्राउन भेट्यौं। सुरुङभित्र पानी र लेदो देखिएको छ। यसलाई निकाल्न निकै गाह्रो भइरहेको छ,’ इन्जिनियर न्यौपानेले भने।

सुरुङभित्र ३५ जना फसेको अनुमान गरिएको छ। उनीहरुलाई बाहिर निकाल्नका लागि नेपाली सेनाको हेलिकप्टरबाट शनिबार ४० जनाको टोली त्यहाँ पुगेको थियो। टोलीले तीनदेखि लगातार काम गरिरहेको छ।

सुरुङ छिचोल्न तीन वटा स्काभेटर लगिए पनि एउटाले मात्र राम्रो काम गरिरहेको उद्धारमा खटिएका इन्जिनियरहरु बताउँछन्।

ड्रिलिङ मेसिन नहुँदा लेदो पन्छाउन मुश्किल भइरहेको छ। ठुला ठुला ढुंगा र स्ल्याब भएकोले पानी र लेदो निकाल्न निकै मुश्किल भइरहेको इन्जिनियर न्यौपानेले बताए।

‘हामी यहाँ भएको स्रोतसाधन प्रयोग गरेर काममा खटिरहेका छौं। यही गतिमा काम भए भोलि बिहानसम्ममा लेदो हटाउने काम हुन्छ होला। त्यो पनि लेदो कतिसम्म पर गएको छ भन्ने हेरेर हुन्छ,’ न्यौपानेले भने।

सुरुङबाट हिलो हटाएर अक्सिजन, मेडिकल सामग्री, सञ्चार उपकरण र क्यामरासहित उद्धारकर्मी भित्र प्रवेश गर्ने योजना रहेको उनले सुनाए।

उनका अनुसार उद्धार टोली सोमबार बिहानबाट उपकरणहरुको पर्खाइमा छ। ‘हिलो हटाउन थप ड्रिलिङ मेसिन आवश्यक देखिन्छ। भित्र हिलो पन्छाउने मध्यम खालको एक्साभेटर भए सजिलो हुनेथियो,’ न्यौपानेले भने। उनका अनुसार थप कुनै चुनौती नआए उद्धार टोली करिब ४ घन्टामा सुरुङ छिर्नेछ।

उद्धार टोलीमा सेनाका अलावा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र सुरुङ विज्ञ छन्। यसअघि सुरुङभित्र हावा पठाउन ड्रिल गरेर पाँचवटा प्वाल बनाइएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समेत रहेका इन्जिनियर श्रीराम न्यौपानेले पनि सीमित स्रोतसाधनका कारण सुरुङको लेदो पन्छाउन मुस्किल भइरहेको जानकारी दिए। ‘हेलिकोप्टरबाट एक्साभेटर ल्याउन सकिँदैन। यहीं भएको स्रोतसाधन प्रयोग गरेर काम गरिरहेका छौं। यही अनुसार काम भए पर्सिसम्ममा हामी पावर हाउस पुग्छौं,’ सांसद न्यौपानेले भने।

उनका अनुसार ६ मिटर अग्ला र ५ मिटर चौडा ठुला ढुंगा सुरुङको मुखबाट पन्छाउन निकै मुस्किल भएको छ। सुरुङको मुख अघिका ‘बाउल्डर’ विस्फोट गर्ने तयारी गरिएको छ। भित्र थुनिएका भनिएका ३५ जना माथिल्लो तल्लामा रहे जीवितै उद्धार गर्न सकिनेमा सांसद न्यौपाने आशावादी छन्।

उनका अनुसार ६ मिटर अग्लो सुरुङमा ५ मिटरसम्म लेदो र पानी छ। ‘सुरुङको आधी भाग पुगेपछि माथिल्लो तल्ला छ। त्यहाँ पुगे खान खानेदेखि अक्सिजनसमेत पाउने सुविधा छ,’ सांसद न्यौपानले भने।