काठमाडौं। समयमै मर्मत सम्भार नगर्दा पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरको सडक त्रिशूली नदीमा खस्दा काठमाडौंको ‘लाइफलाइन’ नै ठप्प बनेको छ।
गत वर्ष नै त्रिशूली नदीले कटान गरेर सडक भासिन सुरु गरेकामा समयमै मर्मत सम्भार नगरिएका कारण अहिले आवागमन नै ठप्प हुने गरी भत्किएको हो। सडक दीर्घकालीन रुपमा बनाउनै कठिन हुने गरी भत्किएको सरकारी अधिकारीहरुले नै बताएका छन्।
सडक विभागका इन्जिनियर शुभराज न्यौपानेले बाढीले कृष्णभीर क्षेत्रको संरचना कमजोर बनाएर बाटो नै भत्किएको बताए। ‘बाढीले कमजोर संरचनामा हानिरहेको थियो। भोटेकोशीमा आएको बाढीपछि थेग्न नसकेर सडक नै भासियो,’ उनले भने।
गत वर्ष नदीले कटान गरेपछि कृष्णभीरमा तल्लो तहबाट आरसीसी वाल लगाएर दीर्घकालीन रुपमा सडक बनाउने योजना अगाडि सारिएको थियो। डिजाइन बने पनि काम अगाडि बढेन। सरकारी निकायले अस्थायी पाइलिङ मात्रै गरे। जमिनमुनि फलाम रडसहितको पिलर संरचना बनाएर तयार पारिने कामलाई पाइलिङ भनिन्छ।
गत वर्ष असार ८ मा आएको बाढीले भीरको तलतिरबाट भित्रपट्टि काट्न थालेको थियो। त्यसलाई रोकथाम गर्न खोलाभन्दा केही माथिबाट पाइलिङ गरेर सडक जोगाइएको पूर्वाधार मन्त्रालयका पूर्वसचिव केशवकुमार शर्माको दाबी छ।
उनका अनुसार पाइलिङ गर्दाको संरचना नखसेको भए सडकमा एकतर्फी सवारी चलाउन सकिन्छ। ‘पाइलिङको संरचना खसेको छ भने फेरि पाइलिङ गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘नदीको कटानले हुनसक्ने जोखिमलाई मूल्यांकन गरेर तत्कालका लागि मात्र हुनेगरी पाइलिङ राखिएको हो। दीर्घकालीन रुपमा नदी किनारामा आरसीसी संरचनाको पर्खाल लगाउने डिजाइन बने पनि काम भने हुन पाएन।’
पूर्वसचिव शर्माले दीर्घकालीन खालको हुने गरी तयार पारिएको डिजाइन अनुसार काम नगरेको परिणाम यसपालि आवागमन नै बन्द हुन पुगेको बताए।
‘पहिला पनि कृष्णभीर टाउको दुखाइ थियो। त्यहाँको पहिरोले हरेक वर्षामा दु:ख दिन्थ्यो। ठूलो धनराशी र समय लगाएर पहिरो रोकथाम भएपछि सडक दुरुस्त बनेको थियो। माथितिरबाट झर्ने पहिरो रोकथाम भए पनि तलतिरबाट बढेको कटानले अहिले समस्या निम्त्याएको हो,’ उनले भने, ‘आरसीसी वाल लगाएर पुर्दै ल्याउने गरी योजना बनेको थियो। तर त्यो काम भएन।’

कहिलेसम्म बन्छ यो सडक?
शर्माले कृष्णभीरमा अहिले नदीले कटान गरेको ठाउँमा सडक दीर्घकालीन खालको बनाउन दुईवटा विकल्प देखेका छन्।
‘दीर्घकालीन विकल्पका रुपमा सेमिटनेल बनाउने कुरा पनि हुन सक्छ। यो भनेको छोटो दूरीको सुरुङ जस्तै देखिन्छ। अर्को विकल्प पहिरो र कटान छल्न दुई वटा पुल बनाएर वारिबाट पारि र पारिबाट वारि ल्याउने नै हो,’ उनले भने।
यो बाटो कहिलेसम्म बन्छ भन्ने प्रश्नको उत्तर सडक विभागसँग छैन। विभागले नै समय तोक्न सकेको छैन। विभागका इन्जिनियर राजीव मानन्धरका अनुसार विज्ञहरुले अहिले पहिरोको अवस्था मात्रै अध्ययन गरिरहेका छन्।
दीर्घकालीन संरचना बनाएर सडक निर्माण गर्न समय लाग्नेछ। मानन्धरले माथिको जमीन काटेर अस्थायी बाटो संचालन गर्न पनि सम्भव नदेखिएको बताए।
‘अस्थायी रुपमा बाटो बनाउन कृष्णभीरमा सम्भव छैन। पाइलिङ सबै बगाएको छ। माथि काट्ने ठाउँ छैन। माथिको काटेर बनाउन पहिरो आउँछ,’ उनले भने।
कृष्णभीरबाहेक पृथ्वी राजमार्गका अन्य पाँच ठाउँमा पनि जोखिम देखिएको छ। ‘शीतलबजार ३० मिटर जोखिममा परेको छ भने मुग्लिन-नारायणगढको मान्सी पुल नजिकै ४०/५० मिटर पनि सडक भासिएको छ,’ मानन्धरले भने, ‘तर जति सक्दो चाँडो बाटो खुलाउने हाम्रो तयारी छ।’











