केही वर्षअघिसम्म रोयल इनफिल्ड उच्च र उच्च मध्यम वर्गको क्रयशक्ति भित्र पर्थ्यो। मूल्य, बिक्रीपछिको सेवा, मार्केटिङका कारण रोयल इनफिल्डको बाइक बिक्री वार्षिक केही सय मात्रै हुन्थ्यो।
तर अहिले नेपालमा यो ब्रान्डको ‘प्रर्स्पेक्टिभ’ परिवर्तन भएको छ। यो परिवर्तनका पछाडि अधिकृत बिक्रेता त्रिवेणी समूहको अल्फा अटोमोटिभ्सको ‘एग्रेसन’ र यसका रणनीतिकार मेघराज पौडेल कारक हुन्। नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका सचिव समेत रहेका पौडेल अधिकृत बिक्रेतामार्फत रोयल इन्फिल्डका बाइकको बिक्री सुरु भएदेखि जोडिएका थिए। यससँगै विगतका समस्या र भविष्यको योजना बनाउन उनलाई सजिलो भयो।
जसका कारण रोयल इनफिल्ड प्रिमियम बाइकको सेग्मेन्टमा मार्केट लिडर बन्न सफल भएको छ। उनै पौडेललाई बिजमाण्डूका शुक्र गिरीले सोधे – रोयल इन्फिल्ड त्रिवेणी समूहको अल्फा अटोमोटिभ्सले बेच्न थालेपछि यूटर्न नै गर्यो। कुनै समय केही सय बिक्री हुने यो ब्राण्ड अहिले हजारौंमा पुगिसकेको छ। यो यूटर्न कसरी सम्भव भयो?
सन् २००२ देखि नै म रोयल इनफिल्डसँग जोडिएर काम गर्दै आएको छु। सन् २०२२ भन्दा अगाडिको बजारमा रोयल इनफिल्डको उपस्थिति र आजको अवस्थाबीच ठूलो परिवर्तन आएको छ। यो परिवर्तनको सबैभन्दा महत्त्वपूर्ण कारण भनेको अहिले हामीले रोयल इनफिल्डका मोटरसाइकल नेपालमै एसेम्बल गर्न थालेकोले हो।
एसेम्बलीसँगै हामीले नेपाली उपभोक्तामाझ गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै आएका छौं। यसमा रोयल इनफिल्डको मूल कम्पनीबाट प्राप्त मार्गदर्शन, नेपाल सरकारबाट एसेम्बली प्लान्टका लागि प्राप्त सहयोग र हाम्रो समर्पित टिमको महत्त्वपूर्ण भूमिका छ। व्यवस्थापनदेखि प्रशासनसम्मका सबै टिमको संयुक्त प्रयासले आजको सफलता सम्भव भएको हो।
यदि एक वाक्यमा रोयल इनफिल्डको सबैभन्दा ठूलो ‘युटर्न’ ग्राहकको रोजाइ परिवर्तन गर्न सफल हुनु हो। ग्राहकको रोजाइ कसरी परिवर्तन भयो भने हामीले गुणस्तरीय उत्पादन, गुणस्तरीय सेवा, राइडिङ कम्युनिटी र मूल्यलाई प्राथमिकतामा राखेर काम गरेका छौँ। यही समग्र पक्षका कारण नेपाली बजारमा रोयल इनफिल्डको बजार विस्तार गर्न सफल भएका हौँ।
उदाहरणका रूपमा, सन् २०२३ मा हामीले भारतमा पूर्ण रूपमा निर्माण भएर आउने सीबीयू मोडलअन्तर्गतको रोयल इनफिल्ड क्लासिक ३५० सीसीलाई ६ लाख ४० हजार रुपैयाँमा बजारमा प्रवर्धन गरिरहेका थियौं। त्यसबेला यो बीएस-४ यूसी इन्जिनसहितको मोडल थियो।
तर, पछि जे-१ सिरिजको एडभान्स इन्जिन आयो। अझ पछिल्लो समय नेपाल सरकारले पनि युरो-६ कम्प्लायन्स लागू गरेको छ। प्रविधि र उत्सर्जन मापदण्डमा सुधार हुँदै गए पनि हामीले क्लासिक ३५० सीसीको मूल्य घटाएर ५ लाख ७१ हजार रुपैयाँमा एमआरपी निर्धारण गरेका छौं। यसले पनि उपभोक्तालाई गुणस्तरीय र आधुनिक उत्पादन प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने हाम्रो प्रयासलाई देखाउँछ।
त्यसैले आज रोयल इनफिल्डको सफलतालाई एउटा मात्रै पक्षबाट हेर्न मिल्दैन। रोयल इनफिल्ड कम्पनीको निरन्तर मार्गदर्शन, नेपाल सरकारको सहयोग, हाम्रो व्यवस्थापन र समर्पित टिमको मेहनत तथा सबैभन्दा महत्त्वपूर्ण नेपाली ग्राहकको विश्वास, यी सबैको संयुक्त परिणाम आजको सफलता हो।
अहिले नेपाल हाम्रो मात्रै फोकस मार्केट होइन, रोयल इनफिल्डले पनि नेपाललाई महत्त्वपूर्ण बजारका रूपमा हेरेर काम गरिरहेको छ। यही कारणले नेपाली बजारको सम्भावना अझ बढेको छ र आगामी दिनमा पनि रोयल इनफिल्डको उपस्थितिलाई थप बलियो बनाउने गरी हामी अघि बढिरहेका छौं।
नेपाली ग्राहकले रोयल इनफिल्डलाई पहिला उच्च वर्गको बाइकको रुपमा हेर्ने गरिन्थ्यो। तर, तपाईहरुले बिक्रेता लिएपछि त्यो प्रस्पेक्टिभ बदल्न सफल हुनुभयो। यो कसरी सम्भव भयो?
सबैभन्दा महत्त्वपूर्ण कुरा उत्पादनको मूल्य, गुणस्तर र ग्राहकको बदलिँदो रोजाइ हो। अहिले नेपाली बजारमा १५० सीसीदेखि २२० सीसीसम्मका मोटरसाइकल करिब ३ लाखदेखि साढे ४ लाख रुपैयाँको हाराहारीमा उपलब्ध छन्। त्यही बजारमा हामीले ३५० सीसी हन्टरको सुरुवाती मूल्य करिब ५ लाख रुपैयाँबाट राखेका छौं।
जब उपभोक्ताले ३५० सीसीको मोटरसाइकल र अन्य कम सीसीका मोटरसाइकलको तुलना गर्नुहुन्छ, उहाँहरूले मूल्यसँगै सीसी, उत्पादनको लिगेसी, गुणस्तर र पावरलगायतका पक्षलाई पनि हेर्नुहुन्छ। यी सबै पक्षको विश्लेषण गर्दा रोयल इनफिल्डको उत्पादन उपभोक्ताका लागि आकर्षक विकल्प बन्न सफल भएको छ।
अहिलेको डिजिटल युगमा सूचना उपभोक्तासम्म पुग्न समय लाग्दैन। उपभोक्ता आफैं पनि निकै प्रोएक्टिभ भइसकेका छन्। उनीहरूले मोटरसाइकल किन्नुअघि मूल्य, स्पेसिफिकेसन, पावर, गुणस्तर र ब्रान्डको लिगेसीलगायतका विषयमा अध्ययन गरिरहेका हुन्छन्। त्यसैले रोयल इनफिल्डप्रतिको आकर्षण बढ्नुमा उपभोक्ताको आफ्नै अध्ययन र छनोटले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ।
अर्कोतर्फ, अहिले मोटरसाइकल प्रयोगकर्तामा दुईदेखि तीन वर्षमा आफ्नो मोटरसाइकल परिवर्तन गर्ने वा अपग्रेड गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ। विशेषगरी १५० सीसीबाट २२० सीसी, त्यसपछि २५० सीसी हुँदै अझ पावरफुल बाइकतर्फ जाने ट्रेन्ड देखिएको छ। यसले पावर बाइकको बजार र त्यससँग जोडिएको कम्युनिटीलाई निरन्तर विस्तार गरिरहेको छ।
नेपाली बजारको सम्भावना अझ बढेको छ र आगामी दिनमा पनि रोयल इनफिल्डको उपस्थितिलाई थप बलियो बनाउने गरी हामी अघि बढिरहेका छौं।

यही बजारलाई ध्यानमा राखेर रोयल इनफिल्डले बिक्री तथा ग्राहक सेवाको नेटवर्क पनि विस्तार गरिरहेको छ। अहिले नेपालभर रोयल इनफिल्डका २५ वटा आउटलेट संचालनमा छन्। आगामी एकदेखि दुई महिनाभित्र थप दुई वटा आउटलेट संचालनमा आउनेछन्, त्यसपछि देशभर आउटलेटको संख्या २७ पुग्नेछ।
बिक्री बढाउनमा उत्पादन, मूल्य निर्धारण, फाइनान्सिङ, मार्केटिङ र डिलर नेटवर्कमा एग्रेसन रणनीति लिनुभयो। यो रणनीतिमा सबैभन्दा ठूलो भूमिका केले खेल्यो ?
बजार विस्तारमा फाइनान्सिङ र एक्सचेन्ज सुविधा पनि महत्त्वपूर्ण पक्ष बनेको छ। केही समयअघिसम्म रोयल इनफिल्डका ग्राहकलाई फाइनान्स सुविधा उपलब्ध गराउन सहज अवस्था थिएन। सन् २०२३ सम्म पनि फाइनान्सिङका विषयमा विभिन्न चुनौती सामना गर्नुपरेको थियो।
तर, पछिल्लो चरणमा हामीले फाइनान्स कम्पनीहरूलाई रोयल इनफिल्डको बजार, ग्राहक र उत्पादनबारे विश्वस्त बनाउन सफल भएका छौं। त्यसपछि उहाँहरू पनि रोयल इनफिल्डका ग्राहकलाई फाइनान्स गर्न तयार हुनुभएको छ। अहिले फाइनान्सको पक्षमा हामी राम्रो बाटोमा अघि बढिरहेका छौं।
त्यसैगरी, अहिले हामी एक्सचेन्जमा पनि थप केन्द्रित हुँदैछौं। आफूसँग पहिले नै अर्को मोटरसाइकल भएका र त्यसलाई एक्सचेन्ज गरेर रोयल इनफिल्ड लिन चाहने ग्राहकका लागि हामीले स्पट एक्सचेन्ज र स्पट फाइनान्सको व्यवस्था गरेका छौं। अहिले प्यान नेपालमै स्पट फाइनान्स र एक्सचेन्जको सुविधा उपलब्ध गराइरहेका छौं। आगामी दिनमा यसलाई अझै महत्त्वपूर्ण फोकस क्षेत्रका रूपमा अघि बढाउने हाम्रो योजना छ।
तर यसको अर्थ हामी केवल मास मार्केट खोजिरहेका छौ भन्ने होइन। अहिले पावर बाइकको सेगमेन्टसँग जोडिएको कम्युनिटी नै विस्तार हुँदै गएको छ। पहिले १५० सीसीको मोटरसाइकल चलाउने ग्राहकहरू २२० सीसीतर्फ पुगिरहेका छन्, त्यसपछि २५० सीसी वा अझ बढी क्षमताका मोटरसाइकलतर्फ अपग्रेड भइरहेका छन्।
यसरी हेर्दा पावर बाइकको बजारका लागि आधारभूत मास मार्केट पहिले नै तयार भइसकेको छ। हामीले नयाँ ग्राहक सिर्जना गर्नुभन्दा पनि ती ग्राहकलाई अर्को चरणमा अपग्रेड हुन आवश्यक पर्ने सुविधा उपलब्ध गराउने हो। एक्सचेन्ज, फाइनान्स र आवश्यक ब्रिजिङमार्फत ग्राहकको अपग्रेड यात्रालाई सहज बनाउने हाम्रो उद्देश्य हो।
त्यसैले अहिले रोयल इनफिल्डको बजार विस्तारमा फाइनान्स र एक्सचेन्ज पनि महत्त्वपूर्ण माध्यमका रूपमा विकास भइरहेका छन्।
रोयल इनफिल्डको बजार विस्तार नै राइडिङ कल्चरबाट सुरु भएको हो। रोयल इनफिल्डका नेपालमा पनि १०० भन्दा बढी राइडिङ क्लब र करिब ७५ हजार कम्युनिटी सदस्य हुनुहुन्छ। यो ठूलो कम्युनिटीलाई ब्रान्ड प्रवर्धनमा कसरी प्रयोग गरिरहनुभएको छ?
रोयल इनफिल्डको बजार विस्तारमा राइडिङ कम्युनिटीको पनि ठूलो योगदान छ। म स्वयं पनि समय-समयमा राइड गर्ने भएकाले राइडिङ कम्युनिटीसँग प्रत्यक्ष रूपमा जोडिएको छु। हाम्रो कम्युनिटीले केवल मोटरसाइकल चलाउने काम मात्र गरिरहेको छैन, यसमार्फत विभिन्न सामाजिक अभियान पनि संचालन भइरहेका छन्।
नेपालमा सडक सुरक्षासम्बन्धी जनचेतना फैलाउने, ट्राफिक नियम पालना गर्न प्रेरित गर्ने र आन्तरिक पर्यटन प्रवर्धन गर्ने काममा पनि हामी सक्रिय छौं। यी सबै कामको माध्यम रोयल इनफिल्डकै उत्पादन र त्यससँग जोडिएको राइडिङ कम्युनिटी हो। त्यसैले हामी मोटरसाइकल मात्र बिक्री गरिरहेका छैनौं, समाजलाई पनि केही योगदान फिर्ता गर्ने प्रयास गरिरहेका छौं।
प्रतिस्पर्धाले बजारलाई चुनौतीपूर्ण बनाएको छ भने अर्कोतर्फ यसले कम्पनीहरूलाई अझ गुणस्तरीय उत्पादन र सेवा दिन बाध्य बनाएको छ।

कर तिर्नु हाम्रो एउटा दायित्व हो। हामीले आयातमा कर तिर्छौ भने राइडरले पनि हरेक वर्ष विभिन्न करमार्फत योगदान गरिरहेका हुन्छन्। तर, त्यसबाहेक हाम्रो कम्युनिटीले नेपालको पर्यटन प्रवर्धनमा पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
मनाङ, मुस्ताङ, रारा, पाथीभरा लगायत नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा रोयल इनफिल्डका राइडरहरू पुगिरहेका छन्। यसले ती गन्तव्यलाई मोटरसाइकल पर्यटनसँग जोड्न सहयोग गरेको छ।
नेपालमा करिब १६५ वटा रेन्टल कम्पनीले रोयल इनफिल्डका मोटरसाइकल भाडामा उपलब्ध गराउँदै आएका छन्। उनीहरूले विदेशी पर्यटकलाई मोटरसाइकल उपलब्ध गराएर नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा घुम्न जाने अवसर प्रदान गरिरहेका छन्।
नेपालमा वार्षिक रूपमा करिब १२ देखि १५ लाख पर्यटक आउने गरेको तथ्यांकलाई आधार मान्दा त्यसमध्ये करिब ८ प्रतिशत पर्यटक मोटरसाइकलमार्फत नेपाल भ्रमण गर्ने गरेको हाम्रो अनुमान छ। दुईपांग्रे माध्यमबाट नेपाल भ्रमण गर्ने पर्यटकमध्ये ठूलो हिस्सा रोयल इनफिल्डका मोटरसाइकल प्रयोग गर्ने गरेको देखिन्छ।
यसरी हेर्दा रोयल इनफिल्डको बजार प्रवर्धन केवल परम्परागत मार्केटिङमा सीमित छैन। राइडिङ कम्युनिटी, मोटरसाइकल पर्यटन, आन्तरिक पर्यटन प्रवर्धन, सडक सुरक्षा अभियान र रेन्टल व्यवसायसँगको सहकार्यले रोयल इनफिल्डलाई नेपालमा एउटा उत्पादनभन्दा पनि एउटा राइडिङ कल्चर र कम्युनिटीसँग जोडिएको ब्रान्डका रूपमा स्थापित गर्न सहयोग गरेको छ।
वार्षिक २० हजार बाइक बेच्ने लक्ष्यसहित एसेम्बल्ड प्लान्ट नै लगाउनुभयो। धेरै बिक्री भएका ब्राण्डले समेत एसेम्बल्ड प्लान्ट लगाउन नचाहिरहेको अवस्थामा तपाईंहरुले लिने बित्तिकै लगाउने जोखिम किन लिनुभयो ?
त्यसबेला नेपाल सरकारले १५० सीसीभन्दा बढी पावर भएका मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाएको थियो। रोयल इनफिल्डको मुख्य उत्पादन नै ३५० सीसीको भएकाले हामीसँग त्यसबेला बजारमा जाने अर्को विकल्प थिएन। तर तत्कालीन सरकारी नीतिले एसेम्बली उद्योगलाई भने त्यस्तो प्रतिबन्धबाट अलग राखेको थियो।
त्यसैले हामीले उपलब्ध अवसरलाई सदुपयोग गर्ने निर्णय गर्यौं। जोखिम नलिई अगाडि बढ्ने अवस्था थिएन, हामीसँग अर्को विकल्प पनि थिएन। त्यसैको परिणामस्वरूप हामीले नेपालमै रोयल इनफिल्डको एसेम्बली प्लान्ट स्थापना गर्यौं।
हामीले निकै छोटो समयमा प्लान्ट स्थापना गर्न सफल भयौ। अहिले नितनपुरमा करिब १ लाख ५ हजार वर्गफिट क्षेत्रफलमा हाम्रो एसेम्बली प्लान्ट सञ्चालनमा छ। यसको वार्षिक उत्पादन क्षमता २० हजार युनिट रहेको छ।
भोलिका दिनमा बजारको माग बढ्दै गएको अवस्थामा पनि प्लान्ट विस्तार गर्न पर्याप्त ठाउँ हामीसँग छ। त्यसैले बजार बढेअनुसार उत्पादन क्षमता विस्तार गरेर ग्राहकलाई गुणस्तरीय उत्पादन उपलब्ध गराउन हामी तयार छौं।
प्रिमियम सेग्मेन्टको बाइकमा पनि पछिल्लो समयमा ठूलै कटथ्रोट प्रतिस्पर्धा छ। यो प्रतिस्पर्धाले मार्जिन पनि कम छ। यसो हुँदा आफ्टरसेल्स पार्टपुर्जासम्ममा कम्प्रोमाइज हुने जोखिम रहन्छ नि होइन?
अहिले बजारमा प्रतिस्पर्धा पनि निकै बढेको छ। नयाँ ब्रान्ड र मोडलहरू थपिदै जाँदा ग्राहकको अपेक्षा र जानकारीको स्तर पनि बढिरहेको छ। प्रतिस्पर्धाले बजारलाई चुनौतीपूर्ण बनाएको छ भने अर्कोतर्फ यसले कम्पनीहरूलाई अझ गुणस्तरीय उत्पादन र सेवा दिन बाध्य बनाएको छ।
कुनै पनि उत्पादनको सफलताको मेरुदण्ड भनेकै ‘आफ्टर सेल्स सर्भिस’ हो। त्यसैले हामीले सर्भिसलाई सबैभन्दा बढी प्राथमिकता दिएका छौं। अहिले प्यान-नेपाल हाम्रो २३ वटा नेटवर्कमा थ्री-एस सर्भिस उपलब्ध छ। थप दुईवटा नेटवर्क संचालनमा आएपछि त्यहाँ पनि थ्री-एस सर्भिस उपलब्ध हुनेछ।
ग्राहकलाई सर्भिसका लागि अनावश्यक समस्या नहोस् भनेर हामी प्रि-बुकिङ र क्यु सिस्टममार्फत सेवा दिइरहेका छौं। काठमाडौं उपत्यकाको हकमा मोटरसाइकल बिग्रिएको अवस्थामा ‘सर्भिस अन ह्विल्स’ अर्थात् एसओडब्ल्यूको सुविधा पनि उपलब्ध छ। ग्राहकको मोटरसाइकल जहाँ बिग्रिएको छ, आवश्यकताअनुसार हाम्रो टिम त्यही पुगेर सेवा प्रदान गर्छ।
स्पेयर पार्ट्सको उपलब्धतालाई पनि हामीले प्राथमिकतामा राखेका छौं। हाम्रो वेयरहाउसदेखि नेटवर्कसम्म पर्याप्त मात्रामा जेन्युइन स्पेयर पार्ट्सको स्टक राखिएको छ। त्यसैले बजार विस्तार गर्ने क्रममा पनि सर्भिस, स्पेयर पार्ट्स र गुणस्तरमा कुनै किसिमको सम्झौता नगर्ने हाम्रो स्पष्ट नीति छ।
आज हाम्रो १०० भन्दा बढी राइडिङ क्लब छन् र करिब ७५ हजार कम्युनिटी सदस्य जोडिएका छन्। ग्राहक र कम्पनीबीच केवल खरिद-बिक्रीको सम्बन्ध मात्र छैन, एउटा ‘ब्रदरहुड’ को सम्बन्ध विकास भएको छ। त्यसैले हामीले दिने सर्भिस, स्पेयर पार्ट्स, राइडिङ एप्रिल्स, गियर तथा अन्य सेवाको गुणस्तर र जेन्युइननेसमा कुनै पनि प्रकारको सम्झौता गर्दैनौं। ग्राहक पहिलो भन्ने हाम्रो मूल नीति हो।
हाम्रो प्रिन्सिपल कम्पनीसँग पनि छलफल र समन्वय भइरहेको छ। अध्ययन पूरा भएपछि सम्भावित पार्ट्स तथा कम्पोनेन्टको विषयमा एउटा रिपोर्ट तयार गरेर छिट्टै सम्बन्धित पक्षसँग साझा गर्ने हाम्रो योजना छ।

रोयल इन्फिल्डले लोकलाइजेसनलाई प्राथमिकतामा राखेको छ। त्यही भएर यही उत्पादन भएका पाटपुर्जा प्रयोग गर्ने भनेर केही उद्योगमा अनुगमन पनि गरेको थियो। अहिलेसम्मको अनुगमनले स्थानीय उद्योगबाट उत्पादित सामान रोयल इन्फिल्डमा कति प्रयोग हुनसक्ला?
अहिलेसम्मको हाम्रो अध्ययन र अनुगमनका आधारमा नेपालमै उत्पादन भइरहेका कुन-कुन पार्ट्स तथा कम्पोनेन्टलाई रोयल इनफिल्डमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा हामी अध्ययन गरिरहेका छौं।
म नाडाको टु-ह्विलर कमिटीको सभापति र नाडाको सचिव पनि हुँ। साथै, रोयल इनफिल्डको कन्सर्न पर्सनका रूपमा पनि यो विषयलाई नजिकबाट हेरिरहेको छु। अहिले हामी नीतिगत रूपमा पनि यस विषयमा काम गरिरहेका छौं।
नेपालमा अहिले ब्याट्री र टायर उत्पादन भइरहेका छन्। टायर पनि दुई वटा कम्पनीले उत्पादन गरिरहेका छन्। त्यसैगरी लुब्रिकेन्ट, हेल्मेट, सारीगार्ड, लेगार्ड, क्रसगार्डलगायतका विभिन्न कम्पोनेन्ट तथा एसेसरिज नेपालमै उत्पादन भइरहेका छन्।
अब यीमध्ये कुन-कुन उत्पादनलाई रोयल इनफिल्डको उत्पादन प्रक्रियामा लोकलाइज गर्न सकिन्छ भन्ने विषयमा हामी अध्ययन गरिरहेका छौं।
यसका लागि हाम्रो प्रिन्सिपल कम्पनीसँग पनि छलफल र समन्वय भइरहेको छ। अध्ययन पूरा भएपछि सम्भावित पार्ट्स तथा कम्पोनेन्टको विषयमा एउटा रिपोर्ट तयार गरेर छिट्टै सम्बन्धित पक्षसँग साझा गर्ने हाम्रो योजना छ।
यो विषय एउटा कम्पनीले मात्रै गर्ने विषय होइन। नेपालमा एसेम्बली उद्योगमा रहेका सबै कम्पनीको यसमा साझा चासो छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने र नेपालमै उत्पादन भइरहेका पार्ट्सको प्रयोग बढाउने विषयमा एसेम्बलरहरू, नाडा र सम्बन्धित संघ-संस्थाहरू सामूहिक रूपमा अघि बढ्नुपर्छ भन्ने हाम्रो धारणा हो।
किनभने अहिले नेपालमा धेरै एसेम्बली उद्योगहरू छन्। यदि नेपालमै उत्पादन भएका गुणस्तरीय पार्ट्सलाई सबै एसेम्बलरहरूले प्रयोग गर्ने वातावरण बनाउन सकियो भने स्थानीय उद्योगलाई पनि ठूलो बजार प्राप्त हुन्छ र एसेम्बली उद्योगको लागत तथा आपूर्ति प्रणालीलाई पनि फाइदा पुग्न सक्छ।
त्यसैले यो कुनै एउटा कम्पनीको व्यक्तिगत पहलभन्दा पनि सामूहिक रूपमा अघि बढाउनुपर्ने विषय हो। नाडाको पनि यस विषयमा साझा धारणा बनाउन सकिन्छ र एसेम्बलर तथा सम्बन्धित संघ-संस्थाले पनि एउटै धारणा बनाएर सरकारसँग नीतिगत रूपमा पहल गर्नुपर्छ।
सबैभन्दा पहिले नेपालमा उत्पादन भएका पार्ट्स तथा कम्पोनेन्टलाई प्राथमिकता दिने नीतिगत वातावरण आवश्यक छ। तर प्राथमिकता दिदा गुणस्तरमा भने कुनै सम्झौता हुनु हुँदैन। सम्बन्धित उत्पादन आरएनडीबाट प्रमाणित भएको, आवश्यक गुणस्तर पूरा गरेको र अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने अवस्थामा त्यस्ता नेपालमै उत्पादित पार्ट्सलाई प्राथमिकता दिने हाम्रो स्पष्ट धारणा छ।
यसले एकातर्फ नेपालका स्थानीय उद्योगलाई प्रोत्साहन गर्छ भने अर्कोतर्फ एसेम्बली उद्योगलाई पनि क्रमशः थप स्थानीयकरणतर्फ लैजान सहयोग गर्छ। त्यसैले आगामी दिनमा रोयल इनफिल्डसँगै नेपालमा रहेका अन्य एसेम्बलरहरू पनि स्थानीय उत्पादनको प्रयोग बढाउने दिशामा सामूहिक रूपमा अघि बढ्नुपर्छ।
आगामी पाँच वर्षमा नेपालमा रोयल इन्फिल्डको मार्केट कहाँ पुग्छ?
म रोयल इनफिल्डसँग एसोसिएट भएको पनि लामो समय भइसक्यो। सन् २००२ देखि नै यो ब्रान्डसँग आबद्ध भएकाले मेरो यस ब्रान्डप्रति छुट्टै प्रेम र आत्मीयता छ।
सन् २००२ मा हामीले एक वर्षमा एउटा सोरुमबाट जम्मा ५० वटा मोटरसाइकल बिक्री गरेका थियौं। त्यो समयको बजार र आजको बजारमा धेरै फरक आइसकेको छ। पछिल्लो वर्ष हामीले निकै राम्रो बिक्री संख्या हासिल गर्न सफल भयौं।
अब आगामी वर्ष पनि हामीले एउटा नयाँ ‘माइलस्टोन’ सिर्जना गर्न सक्छौं भन्ने विश्वास छ। यही नै हाम्रो लक्ष्य हो। रोयल इनफिल्डसँगको लामो यात्रा, ग्राहकको विश्वास र हाम्रो टिमको निरन्तर मेहनतले आगामी दिनमा अझ राम्रो परिणाम दिनेछ भन्नेमा हामी विश्वस्त छौं।










