बाढी प्रभावित क्षेत्रको पीडीएनए दुई चरणमा, स्वर्णिमले भने- मुलुककै विकास मोडल तय गरिन्छ



बिजमाण्डू
२०८३ भदौ १५ गते १७:५५ | Aug 31, 2026
बाढी प्रभावित क्षेत्रको पीडीएनए दुई चरणमा, स्वर्णिमले भने- मुलुककै विकास मोडल तय गरिन्छ


काठमाडौं। रसुवा बाढी प्रभावित क्षेत्रको पोस्ट डिजास्टर निडस् असेस्मेन्ट (पीडीएनए) दुई चरणमा गरिने भएको छ।

Vigo
GBIME
Tata

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीपछि सरोकारवालासँग सोमबार अर्थ मन्त्रालयमा राखेको छलफलमा पीडीएनए दुई चरणमा गर्न आवश्यक रहेको बताएका छन्।

‘पीडीएनए दुई चरणमा हुनेछ। यसबाट एउटा क्षति र नोक्सानी आउनेछ भने अर्को बाढी प्रभावितसँगै सिंगो नेपालको विकास मोडल कस्तो हुने भन्ने तय पनि हुनेछ,’ मन्त्री वाग्लेले भने।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘अर्जेन्ट असेस्मेन्ट’ गरेको छ। सोही आधारमा राष्ट्रिय योजना आयोगले छिट्टै पीडीएनए गर्ने तयारी गरेको छ।

पीडीएनएले क्षति र नोक्सानी निकाल्नुका साथै पुनर्स्थापनाका लागि विशेष मोडल पनि दिनेछ। नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धसहितको नयाँ मोडल पीडीएनले दिनुपर्ने अर्थमन्त्री वाग्लेले बताए।

‘अबको पीडीएनएले सिंगो देशको विकास मोडल तय गर्नेछ। जस्तो भूकम्पपछि गोरखामा एनआरएनएले चिटिक्कका घर बनाइदियो। तर, प्रयोगविहीन भए। त्यसैले अबको पुनर्निर्माण र विकास मोडल सामाजिक, सांस्कृतिक विषय पनि जोडिने हुनुपर्छ,’ उनले भने।

अर्थमन्त्री वाग्लेले बिजनेस रिकभरी प्याकेजको तयारीमा मन्त्रालय जुटेको पनि बताए। उनले राहत कोषमा रकम थुप्रिने तर प्रभावितले नपाउने अवस्था अन्त्य गर्न निर्देशन दिए।

‘राहत कोषमा पैसा थुप्रिएको तर प्रभावितले नपाएको प्रश्न आइरहेका छन्। अर्थ मन्त्रालयबाट रकम गइसकेको छ। तत्काल फन्ड मोबिलाइजेसन गर्न मुख्यसचिवज्यू र राष्ट्रिय योजना आयोगका उपाध्यक्षज्यूलाई अनुरोध छ,’ वाग्लेले भने।

अर्थमन्त्री वाग्लेले चीन र भारत दुवैको समन्वयमा उद्धार भइरहेको बताए। ‘उद्धार र राहतमा थप टास्क फोर्स बनाइने छ। टनेल रेस्क्यूमा सरकार गम्भीर छ। तर धेरै मान्छे र मेसिन थुपार्दैमा काम हुन्छ भन्ने हुँदैन। विज्ञसहितको टिमले काम गरिरहेको छ,’ वाग्लेले भने।