काठमाडौं। टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशूली र देवीघाट बजारलाई जोड्ने भोटेकोशी-त्रिशूली करिडोरमा आएको बाढीले घर, पसल, होटल, पुल र सडक मात्रै बगाएन, सिंगो रसुवा र उत्तरी नुवाकोटको आर्थिक प्रणालीलाई छिन्नभिन्न बनाएको छ।
धादिङ-काठमाडौं जोड्ने करिडोरमा रहेका टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशूलीलगायत बजार रसुवा र त्रिशूली पारिको नुवाकोटको अर्थतन्त्र र सामाजिक जीवनका मेरुदण्ड थिए। यी महत्वपूर्ण बजार भदौ १० को बाढीले बगर बनेका छन्।
जसले सिंगो रसुवा र त्रिशूली पारिका उत्तरी नुवाकोटका बस्ती अत्यावश्यक आपूर्ति प्रणालीबाटै टाढिएका छन्। खाद्यान्न, औषधिदेखि दैनिक उपभोग्य वस्तुसम्मको नियमित आपूर्ति प्रभावित बनेको छ। यसले यी क्षेत्रलाई तत्कालमात्रै होइन, आर्थिक रुपमा दीर्घकालीनरुपमै असर पार्ने देखिएको छ।
यी क्षेत्र २०७२ को भूकम्पले पनि प्रभावित भएका थिए। बल्लबल्ल पुनर्निर्माण भएर ब्युँतिएका क्षेत्रलाई अहिलेको बाढीले त्योभन्दा बढी तहसनहस पारेको छ।
‘यी सबै क्षेत्र आर्थिक र व्यापारिक रुपमा चलायमान थिए। यस्ता ठाउँमा क्षति हुँदा मानवीय र आर्थिक दुवै क्षति तुलनात्मक रुपमा बढी हुन्छ,’ भूकम्पपछि बनेको पुनर्निर्माण प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी अधिकृत प्रा. डा. गोविन्दराज पोखरेल भन्छन्।
रसुवागढी नाकासँग जोडिएको टिमुरे चीनसँगको व्यापार र सीमा आवतजावतका कारण तीव्र रूपमा विस्तार भएको नयाँ आर्थिक केन्द्र थियो। २०७२ को भूकम्पले तातोपानी नाकामा क्षति पुर्याएपछि रसुवागढी चीनसँगको मुख्य व्यापारिक नाकाका रुपमा उदाएको थियो।
भन्सारको क्षमता वृद्धि, ढुवानी, होटल, रेस्टुरेन्ट, गाडी मर्मत, गोदाम, बैंक तथा वित्तीय संस्थासमेत केन्द्रित भएका थिए। चीनको मानसरोवर जानेहरुको मुख्य बाटो पनि रसुवागढी थियो। त्यही कारण टिमरे र स्याफ्रुबेसीमा होटल व्यवसाय फस्टाएको थियो।
तर, बाढीले रसुवागढी नाका हुँदै चीनसँग हुने वार्षिक ८० अर्बभन्दा बढीको व्यापार चौपट भएको छ। त्यहाँ हुने अन्य आर्थिक गतिविधिमा पनि विराम लागेको छ।

यो करिडोरमा नेपालतर्फको अन्तिम मानव बस्ती टिमुरे माटोमा विलिन हुँदा चीनसँगको गोसाइँकुण्ड गाउँपालिकाका स्थानीयको दैनिकीमा समेत कष्ट थपिएको छ।
टिमुरेपछि स्याफ्रुबेसी बजारमा पनि ठूलो क्षति भएको छ। बजारका घर, होटल, पसलदेखि सडक बाढीले कोल्याप्स बनाएको छ। जुन ठाउँ लाङटाङ उपत्यका र माथिल्लो पर्यटकीय क्षेत्रतर्फ जाने प्रमुख प्रवेशद्वार हो। यहाँका संरचनामा क्षतविक्षत हुँदा लाङटाङ उपत्यकाको कनेक्टिभिटी टुटेको छ। जसले तत्काल आवश्यक पर्ने खाद्यान्न र अन्य दैनिक सामग्री ढुवानी प्रभावित भएको छ।
रसुवा उद्योग वाणिज्य संघका अनुसार टिमुरेमा ४०-५० जति र स्याफ्रुबेसीमा ३०-४० वटाजति होटल तथा रेष्टुरेन्ट थिए। यी सबै होटल लाङटाङ र मानसरोबार जाने पर्यटक, चीनसँगको व्यापार र त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा निर्भर थिए।
तत्कालका लागि उद्धार तथा प्राथमिक स्वास्थ्य उपचार कठिन बनेको छ। यसले भोलिका दिनका निर्माण तथा मर्मत सम्भारका सामग्री माथिल्लो क्षेत्रमा पुर्याउन पनि उत्तिकै समस्या हुनेछ।
बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्ज, लाङटाङ उपत्यका, कान्जिन गोम्पा, खाम्जिङ, शेर्पागाउँ र तातोपानी लगायत माथिल्लो भेगलाई सडक र आपूर्ति सञ्जालबाट अलग गराएको छ। लाङटाङ जाने अर्को कुनै सडक वा वैकल्पिक पैदल मार्ग उपलब्ध नरहेकाले भोलिका दिनमा होटल, होमस्टे, गाइड, यातायात, खाद्यान्न आपूर्ति र पर्यटकसँग सम्बन्धित सयौं व्यवसायमा असर पर्ने भएको छ।
लाङटाङका लागि वैकल्पिक सडकमार्ग तत्काल उपलब्ध छैन। ‘स्याफ्रुबेसी एउटा स्थानीय बजारमात्रै होइन, लाङटाङको आपूर्ति र पर्यटन अर्थतन्त्रको गेटवे थियो। यो नष्ट हुँदा लाङटाङ लगायत उत्तरी हिमाली क्षेत्रको जनजीवन जोखिममा परेको छ। भोलिका दिनमा यो क्षेत्रको पर्यटन पनि प्रभावित हुनेछ,’ पर्यटन व्यवसायी सुमन पाण्डेले भने।
लाङटाङ विशेषगरी युरोपियन पर्यटनको गन्तव्य मानिन्छ। जसले गर्दा यो क्षेत्र काठमाडौं नजिकको ‘हाइइन्ड’ पर्यटकीय गन्तव्यका रुपमा परिचित छ।
सिंगो रसुवाको लाइफलाइन– बेत्रावती
बेत्रावतीले रसुवालाई नुवाकोट हुँदै काठमाडौं तथा देशका अन्य भागसँग जोड्ने मुख्य प्रवेशद्वारको काम गर्दै आएको थियो। यो बजार, आसपासका सडक तथा पुल क्षतिग्रस्त हुँदा रसुवामा पुग्ने नियमित आपूर्तिमार्ग विच्छेद भएको छ।
बेत्रावतीबाट माथि जाने सडक अवरुद्ध भएपछि रसुवाको माथिल्लो क्षेत्रमा जाने खाद्यान्न, औषधि, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, कपडा, कृषि सामग्री र दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावित भएको छ।

बेत्रावतीको महत्व ऐतिहासिक व्यापारसँग पनि जोडिएको छ। नुवाकोटका स्थानीय नेवार समुदायले तिब्बतसँग व्यापार गर्ने क्रममा बेत्रावती महत्वपूर्ण व्यापारिक थलोका रूपमा विकास भएको थियो।
नयाँ सडक सञ्जाल बनेसँगै चिनियाँ सीमा व्यापारमा यसको भूमिका फेरिए पनि रसुवाको आर्थिक तथा सामाजिक विकासको भूमिकामा भने बेत्रावती झन् बलियो हुँदै गएको थियो।
त्रिशूली बजार बेत्रावतीभन्दा केही तल रहेको अर्को ठूलो व्यापारिक केन्द्र हो। जसले नुवाकोटका उत्तरतिरका विभिन्न भागसँगै रसुवाका लागि वस्तु तथा सेवाको आपूर्ति गर्थ्यो। यही बजार तहसनहस हुँदा माथिल्लो भेगको आर्थिक गतिविधि ठप्प हुन पुगेको छ। जसले तत्काललाई स्थानीयको दैनिकी कष्टकर बनाएको छ नै दीर्घकालीनरुपमा आर्थिक तथा सामाजिक रुपमा गम्भीर असर पर्ने देखिन्छ।
नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बेत्रावती र त्रिशूली क्षेत्रमा ८० वटा आसपास होटल तथा गेष्ट हाउस सञ्चालनमा रहेकामा बाढीले सब नास भएको बताए।
उनले त्रिशूलीदेखि टिमुरेसम्मका होटलले दैनिक २५ हजारको मात्रै कारोबार गर्दा पनि दैनिक ५० लाखमाथिको कारोबार अब सम्झनामा सीमित भएको बताए।

जानकारहरूका अनुसार बेत्रावती र त्रिशूली बजारको विनाशले नुवाकोटका किस्पाङ, उत्तरगया र म्यागङ गाउँपालिकाका माथिल्ला बस्ती प्रभावित बनेका छन्। जसले नियमित आपूर्ति, व्यापारिक गतिविधि र आवतजावतको सम्बन्ध तोडेको छ।
यसका साथै त्रिशूली-मैलुङ-स्याफ्रुबेसी करिडोर पनि बनिरहेको थियो। गल्छीदेखि त्रिशूली नदीको किनारैकिनार बेत्रावती-मैलुङ हुँदै स्याफ्रुबेसी जोड्ने सडक खण्ड आसपास पनि ससाना बजार बन्न थालेका थिए।
पासाङ ल्हामु राजमार्गको विकल्पको रुपमा बन्दै गरेको राजमार्गको भौतिक प्रगति ६५ प्रतिशत थियो। यससँगै आसपास सुरु हुन थालेका आर्थिक गतिविधि पनि नष्ट भएका छन्।

टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशूलीजस्ता बजार जलविद्युत्, पर्यटन, यातायात र होटल, रेस्टुरेन्टजस्ता सेवा क्षेत्रमा बढी निर्भर थिए। दर्जन बढी जलविद्युत् आयोजना, त्यससँगैको सडक करिडोर, चीनसँगको नाका लगायतले हजारौं श्रमिक, निर्माण कम्पनी, आपूर्तिकर्ता, यातायात व्यवसायी र स्थानीय श्रम बजार निर्भर थियो। तत्काललाई यी सबै प्रणाली ध्वस्त भएका छन्।
‘यो क्षतिले तत्काल आपूर्तिमा समस्या ल्याएर उत्तरी जनजीवनमा कष्ट थप्न सक्छ। नजिकमा सुरक्षित बस्ती पहिचानसहित स्थानान्तरण हुन नसके उत्तरी भेगलाई आर्थिक तथा सामाजिक रुपमा दीर्घकालीनरुपमै पछाडि धकेल्ने छ,’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका पोखरेल भन्छन्।











