काठमाडौं। कृष्णभीरको सडक भत्किएपछि काठमाडौं उपत्यका जोड्ने मुख्य लाइफलाइन नै बन्द भएको छ। त्रिशूली नदीको कटानले आइतबार बिहान सडक भासिएपछि पृथ्वी राजमार्ग हुँदै काठमाडौं बाहिरिने र भित्रिने सवारी साधन आवतजावत गर्न सकेका छैनन्।
प्रमुख राजमार्ग बन्द भएपछि अत्यावश्यक सामग्री काठमाडौंमा कसरी भित्र्याउने भन्ने चिन्ता छाएको छ। कृष्णभीरमा अहिले सडक विभाग र नेपाल प्रहरीको टोलीले अध्ययन गरिरहेको छ। तर, सडक संचालन भने अनिश्चित छ।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय(गौतम)ले कृष्णभीरमा तत्काल सडक खुलाउने अवस्था नरहेको जानकारी दिइन्।

‘प्राविधिक टोलीको प्रारम्भिक अध्ययनमा तत्काल खोल्न मिल्ने देखिएन। थप टोलीले अध्ययन गरिरहेको छ,’ सीडीओ गौतमले भनिन्।
अबको विकल्प के त?
काठमाडौं उपत्यका आवतजावतका लागि वैकल्पिक सडक भने छन्। कृष्णभीरको सडक भत्किएपछि पृत्वी राजमार्ग बन्द भएको अवस्थामा अब हेटौंडा जाने सडक र मध्यपहाडी राजमार्ग वैकल्पिक रुट हुन्।
सडक विभागका इन्जिनियर शुभराज न्यौपाने अब ती सडकलाई टाइमकार्ड अनुसार एकतर्फी सञ्चालन गर्ने विकल्पमा पनि छलफल भइरहेको बताए।
‘त्रिभुवन राजपथको बाटो अहिलेको विकल्प हो। त्यता रातिको बाढीले बिगारेको भन्ने कुरा आएको छैन। त्रिशूलीमा पनि पाइलिङ नबगाएको भएमा वान वे सडक संचालन गर्न सकिन्छ,’ न्यौपानेले भने।
अब गण्डकीतर्फका गाडीले काठमाडौं आउन मुग्लिन नारायणगढ हुँदै हेटौंडाको बाटो प्रयोग गर्नुपर्छ। हेटौंडालाई केन्द्र बनाएपछि त्यहाँबाट त्रिभुवन राजपथ हुँदै नौबिसे निस्किएर काठमाडौं आउन सकिन्छ।
हेटौंडा कुलेखानी हुँदै फर्पिङको रुट पनि संचालनमा छ। त्यस्तै हेटौंडाबाट कान्ति लोकपथ हुँदै चापागाउँ निस्केर काठमाडौं आउन सकिन्छ। यी विकल्प साना सवारीका लागि उपयुक्त भए पनि ठूला र हेभी गाडीका लागि भने सहज छैन।
ठूला गाडीका हकमा सडक एकातर्फी चलाउने विकल्प रहेको इन्जिनियरहरूको भनाइ छ। उनीहरुका अनुसार आँबुखैरेनीबाट गोरखा र धादिङ हुँदै काठमाडौं आउने विकल्प पनि छ।
धादिङको फिस्लिङबाट विशालटार जोडिने बेनीघाटको पुलमा भदौ १० गतेको बाढीले असर नगरेकाले त्यो रुटबाट आउजाउ गर्न सकिने पुष्पलाल मध्यपहाडी राजमार्गका पालुङ्टार गोरखा खण्डका प्रमुख कृष्णबहादुर खड्काले बताए।
खड्काका अनुसार आँबुखैरेनीबाट गोरखाको मसानेठाँटी हुँदै मध्यपहाडी राजमार्गमा पर्ने मिरेल, ओखले, आरुघाट जान सकिन्छ। आरुघाटबाट धादिङबेसी, सुनौलाबजार, फोर्सेटार, कल्लेरीटार हुँदै गल्छीको त्रिशुली पुलमा निस्किन सकिन्छ।
आरुघाटबाटै बेनीघाट पुल निस्किन पनि सकिने खड्काले बताए। उनका अनुसार यी दुवै रुट लामो भए पनि सडक कालोपत्रे भइसकेका छन्।
सीडीओ गौतमले साना र अत्यावश्यक सवारीलाई मात्र आरुघाटको रुट प्रयोग गर्न अनुमति दिएको बताइन्।
काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य सडक पृथ्वी राजमार्ग नै हो। काठमाडौंको थानकोट चेकपोष्टबाट दैनिक ५ हजार सवारी साधन बाहिने गर्छन्।
त्रिभुवन राजपथ पनि साना सवारीको लागि विकल्पका रुपमा प्रयोग हुँदै आएको छ। अहिले साना सवारी साधनले यही बाटो प्रयोग गरिरहेका छन्। पृथ्वी राजमार्ग बन्द भएपछि यो राजमार्गमा सवारीको चाप बढेको छ।
त्रिभुवन राजपथमा केही स्थानमा घुम्ती छन्। जसले गर्दा २० चक्के ठूला सवारी साधानलाई औहोरदोहोर गर्न समस्या हुने गरेको छ। ‘ठूला सवारी साधनका लागि केही स्थानमा एकतर्फी बनाउनु पर्ने हुन्छ,’ इन्जिनियर न्यौपानेले भने।











