उपकरण नहुँदा बेत्रावती र देवीघाटमा उद्धारमा समस्या, ‘न शव उद्धार, न त राहत’



शुक्र गिरी
२०८३ भदौ १४ गते ११:३५ | Aug 30, 2026
उपकरण नहुँदा बेत्रावती र देवीघाटमा उद्धारमा समस्या, ‘न शव उद्धार, न त राहत’


विदुर (नुवाकोट)। देवीघाट पुग्न थालेपछि टाढैबाट कुहिएको गन्ध नाकमा ठोक्किन्छ। बाढीले तहसनहस पारेको बस्तीमा जताततै क्षतविक्षत संरचना छन्।

Vigo
GBIME
Tata

कतै घरको भग्नावशेषमुनि शव च्यापिएका छन्, कतै भेटिएका शव विद्यालय र सार्वजनिक स्थानमा राखिएका छन्। तर, उद्धारमा खटिएका सुरक्षाकर्मीसँग शव निकाल्ने आवश्यक उपकरण छैन।

हेलिकोप्टरबाट मात्रै उद्धार गर्ने रणनीतिका कारण जमिनमा भेटिएका शवसमेत समयमै निकाल्न नसकिएको अवस्था छ।

विदुरनजिकै नेपाली सेनाको क्याम्प छ। प्रहरी चौकी पनि टाढा छैन। तर, नजिकैको देवीघाटमै उद्धार प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन।

सुरक्षाकर्मीका अनुसार कतिपय शव आधा घरको भग्नावशेषमा च्यापिएका छन् भने आधा भाग जमिनमाथि देखिन्छ। उद्धारका लागि विशेष उपकरण आवश्यक पर्ने भए पनि टोलीसँग त्यस्ता साधन छैनन्।

‘कतिपय लास आधा तल घरमा च्यापिएको अवस्थामा छन्। आधा माथि जमिनमा देखिन्छ। तर उद्धार गर्न सकिएको छैन,’ देवीघाटमा खटिएका एक सुरक्षाकर्मीले भने, ‘धेरै शव र मानिसहरू ट्र्यापमा छन्। त्यहाँबाट निकाल्न विशेष उपकरण चाहिन्छ, तर हामीसँग छैन। शव झिक्न नसक्दा अहिले दुर्गन्ध फैलिन थालेको छ।’

देवीघाटको अवस्था मात्रै होइन, बेत्रावतीमा पनि समस्या उस्तै छ। बाढीले जमिन दलदल र लेदोमा परिणत गरेपछि सामान्य साधनबाट शव निकाल्न कठिन भएको छ। खोजतलासमा खटिएका प्रहरीसँग पर्याप्त उपकरण छैन।

भेटिएका शव घटनास्थलबाट बाहिर ल्याउनसमेत हेलिकोप्टरको भर पर्नुपर्ने अवस्था छ। तर हेलिकोप्टर अवतरण गर्न मिल्ने भूभाग छैन। होभरिङ गरेर शव उठाउनुपर्ने बाध्यता छ।

बेत्रावती क्षेत्रमा काठमाडौंबाट खटिएको विशेष प्रहरी टोलीले चार दिनदेखि लगातार खोजतलास र उद्धार गरिरहेको छ। विदुर–११ र सूर्यगढी गाउँपालिका हुँदै कुवापानीतर्फको बाटो खुलेपछि प्रहरी टोली प्रभावित क्षेत्रमा पुगेको हो। नेपाल प्रहरीका एसएसपी विमल कँडेलका अनुसार ३० जनाको विशेष टोली बेत्रावती र आसपासका क्षेत्रमा परिचालन गरिएको छ।

‘हामी तीन दिनदेखि बेत्रावती र आसपासका बाढी प्रभावित क्षेत्रमा खोजतलास र शव व्यवस्थापनमा खटिएका छौँ। आज मात्रै विभिन्न स्थानबाट ६ वटा शव फेला परेका छन्,’ उनले भने।

उनका अनुसार बाढीले वरपरको जमिन भासिनुका साथै दलदल र लेदो बनेकाले पैदल वा सामान्य साधनबाट शव निकाल्न असम्भवप्रायः छ। भौगोलिक जटिलताका कारण हेलिकोप्टरसमेत अवतरण गर्न नसक्ने भएकाले होभरिङ गरेर शव उठाउनुपर्ने अवस्था छ। उत्तरगया क्षेत्र र आसपासका विकट स्थानमा भेटिएका शव निकाल्न हेलिकोप्टर अपरिहार्य बनेको उनले बताए।

‘भौगोलिक जटिलता र दलदलका कारण हेलिकोप्टर ल्याण्ड गर्न सक्ने अवस्था छैन। त्यसैले होभरिङ गरेर शव लिफ्ट गर्नुपर्ने अवस्था छ,’ एसएसपी कँडेलले भने। उत्तरगया विद्यालयनजिक भेटिएका दुई महिला र एक बालकको शवसमेत हेलिकोप्टरबाटै उठाउनुपर्ने अवस्था रहेको उनले बताए।

लगातारको बाढी र पहिरोले बस्ती, सडक र संरचना ध्वस्त पारेपछि उद्धार टोलीकै आवागमन र बसोबाससमेत चुनौतीपूर्ण बनेको छ। सदरमुकाम वा नजिकको प्रहरी चौकी पुग्न–आउनै ६ घण्टाभन्दा बढी लाग्ने भएकाले सुरक्षाकर्मीले कठिन परिस्थितिमा काम गरिरहेका छन्।

‘बस्तीहरू खाली छन्, घरहरू बस्न योग्य छैनन्। लजिस्टिक र बसोबासको ठूलो समस्याका बाबजुद नेपाल प्रहरी आफ्नो दायित्व पूरा गर्न निरन्तर खटिरहेको छ,’ कँडेलले भने।

तर स्थानीय गुनासो गर्छन् – ‘उद्धारको गति विपद्को गम्भीरतासँग मेल खाएको छैन।’ वेत्रावतीका एक स्थानीय पीडितले भने, ‘भेटिएका शव अहिले पनि स्कुलमै छन्। हामीले पटक-पटक खबर गर्‍यौँ। अहिलेसम्म उठाउन आएको छैन। सरकार न शव लिन आयो, न राहत लिएर आयो।’

गत बुधबारको भोटेकोशी बाढीपछि नुवाकोटका प्रभावित क्षेत्रमा उद्धारको सबैभन्दा ठूलो चुनौती अहिले यही बनेको छ। शव देखिन्छन्, उद्धारकर्मी पुग्छन्, तर आवश्यक उपकरण र प्रभावकारी हवाई व्यवस्थापन नहुँदा मृतकले समेत अन्तिम यात्राको प्रतीक्षा गर्नुपरेको छ।