काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय कमिटीको बैठकमा केरुङ-रसुवा बाढी बारे छलफल भएको छ।
पार्टीका महासचिवसमेत रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा शुक्रबार बसेको शीर्ष नेतृत्वको बैठकले दक्षिण-पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित केरुङ (ग्यिरोङ) काउन्टीमा गएको विनाशकारी पहिरोपछिको उद्धार तथा राहत कार्यको समीक्षा गरेको थियो।
बैठकले विपदपछिको परिस्थितिमा आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेको छ। सीपीसी केन्द्रीय कमिटीको पोलिटब्युरो बैठकको सुरुवातमा राष्ट्रपति सी लगायतका नेताहरुले बुधबार केरुङ नाकामा गएको पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।
बैठकमा पार्टी केन्द्रीय कमिटीको बलियो नेतृत्वमा खोज तथा उद्धार कार्य तीव्र, व्यवस्थित र व्यवस्थित ढंगले अगाडि बढाउनेबारे छलफल चलेको थियो।
बाढी प्रभावित मानिसहरुको पुन:स्थापना र विपद्पछिको स्थिति व्यवस्थापनका लागि व्यापक प्रयास भइरहेको बिफ्रिङ बैठकमा गरिएको थियो।
हाल अत्यधिक जाडो हुने हिमाली क्षेत्र, साँघुरा र ठाडा उपत्यका, परिवर्तनशील मौसम, धेरै हिमनदी तथा हिमतालका साथै सम्भावित भौगोलिक जोखिमका कारण सो क्षेत्रमा आपत्कालीन उद्धार कार्यमा ठूलो चुनौती उत्पन्न भएको चिनियाँ संचारमाध्यमले उल्लेख गरेका छन्।
जसकारण बैठकले उद्धार कार्यका लागि सबै सम्बद्ध निकाय तथा विभागहरुलाई प्रभावकारी कदम चाल्न निर्देशन दिएको छ। वैज्ञानिक ढंगले हराएकाहरुको खोज तथा उद्धार योजना तयार गर्न पनि निर्देशन दिइएको छ।
यसैगरी, नेपालको बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने र अन्तर्राष्ट्रिय उद्धार सहकार्यलाई अगाडि बढाउने निर्णय समेत बैठकले गरेको छ।










