काठमाडौं। रसुवामा आएको आकस्मिक बाढीका कारण विद्युत् उत्पादन, प्रसारण र वितरणका महत्त्वपूर्ण संरचनामा ठूलो क्षति पुगेको छ।
बाढीले त्रिशूली ३बी हबको २२० केभी सबस्टेसन पूर्ण रूपमा क्षति पुर्याउनुका साथै विभिन्न प्रसारण लाइन तथा विद्युत् आयोजनाहरूमा क्षति पुगेपछि ठूलो परिमाणको विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीको कारण ४३१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण बाहिर छ।
बाढीका कारण उत्पादनमा उल्लेख्य गिरावट आए पनि राष्ट्रिय विद्युत् प्रणाली स्थिर र सुरक्षित रूपमा सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले लोड डिस्प्याच सेन्टर स्युचाटारबाट प्रणालीको अवस्था, माग-आपूर्ति सन्तुलन तथा पुनःस्थापनाको कामबारे निरन्तर निगरानी गरिरहेको छ।
लोड व्यवस्थापन र आपूर्तिको अवस्था
बाढीका बाबजुद हाल करिब २,९३० मेगावाटको प्रणाली पिक लोड सन्तुलित रूपमा व्यवस्थापन भइरहेको छ। काठमाडौंको करिब ५९० मेगावाट पिक लोड सामान्य रूपमा धानिएको छ। मुख्य लोड सेन्टरहरूमा आपूर्ति सुचारु राखिएको छ।
भारतले अहिले पनि भारततर्फ भइरहेको करिब ६२० मेगावाट विद्युत् निर्यात समेत निरन्तर जारी रहेको जनाएको छ।
नुवाकोटमा वैकल्पिक व्यवस्थाबाट हाल करिब ५ मेगावाट विद्युत् आपूर्ति सुरु भइसकेको छ। देवीघाट–त्रिशूली बजार क्षेत्रमा विद्युत् आपूर्ति थप सुदृढ गर्ने काम तीव्र पारिएको छ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रहरूमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति पुनर्स्थापना भइरहेको छ। खरानीटार, समुन्द्रटार, चौगडा, लिखु र पञ्चकन्या क्षेत्रमा वैकल्पिक लाइनमार्फत विद्युत् सेवा सुचारु भइसकेको छ।
नुवाकोटका अन्य प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनर्स्थापनाका लागि स्थलगत निरीक्षणपछि ६६ के.भी. लाइनलाई ११ के.भी.मा चार्ज गरी विद्युत् आपूर्ति सुचारु गर्न सकिने सम्भावना देखिएको छ। सोहीअनुसार चपली–देवीघाट ६६ के.भी. र बालाजु–त्रिशूली ६६ के.भी. लाइनलाई ११ के.भी.मा चार्ज गर्ने कार्यका लागि प्राविधिक टोली फिल्डमा परिचालित भई काम तीव्र पारिएको छ।
बिहीबार मात्र प्राधिकरणले नुवाकोटको बट्टार र त्रिशूली बजारमा विद्युत् आपूर्ति सुचारु गरेको छ। बालाजु–त्रिशूली तथा चपली–देवीघाट ६६ के.भी. लाइनलाई ११ के.भी.मा चार्ज गरी विद्युत् आपूर्ति पुनर्स्थापना गरिएको छ।
सिन्धुपाल्चोकबाट जोडिएको वैकल्पिक लाइनमार्फत खरानीटार, समुन्द्रटार, चौगडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा सुचारु गरिएको छ।
यस्तै रसुवामा विद्युत् आपूर्ति सुचारु गर्न सम्भावित सान्जेन जलविद्युत् आयोजनालाई आइसोलेटेड मोडमा सञ्चालन गरी धादिङ फिडरमार्फत त्रिशूली पश्चिम तथा धुन्चे फिडर पुनर्स्थापना गर्ने प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए।
‘पक्कै पनि केही चुनौती छ। तर यो लोड सिजन हो। त्यसले गर्दा सम्पूर्ण हाइड्रोपावर फुल क्यापसिटीमा चलिरहेको छ। हामीलाई त्यो करिडोरबाट करिब ४०० मेगावाट बिजुली मातातीर्थामा आउँथ्यो। तर अहिले त्यो आउन सकेको छैन्,’ श्रेष्ठले भने,’त्यो बिजुली आउन नसकेपछि अन्य ठाउँको प्रकृति व्यवस्थामार्फत बिजुलीको व्यवस्थापन गरिरहेका छौं।’
अत्यावश्यक स्थानमा विद्युत् आपूर्ति उपलब्ध गराउन ३ थान डिजेल जेनेरेटर त्रिशूली पठाइएको छ। प्राधिकरणका अनुसार बाढीका कारण पुगेको क्षतिले तत्कालका लागि मात्र नभई आगामी दिनमा समेत चुनौती थप्न सक्ने छ।
त्यसैले अहिलेको मुख्य प्राथमिकता राष्ट्रिय विद्युत् प्रणालीलाई स्थिर राख्दै बाढी प्रभावित रसुवा र नुवाकोटलगायतका क्षेत्रमा वैकल्पिक माध्यमबाट छिटोभन्दा छिटो विद्युत् पुर्याउनु रहेको छ। साथै, क्षतिग्रस्त संरचनाहरूको शीघ्र पुनर्स्थापना गरी राष्ट्रिय प्रसारण प्रणालीमा पुनः जोड्ने कामलाई उच्च प्राथमिकतामा राखिएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए।
यसै गरी, अपर त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, रसुवागढी तथा चिलिमे जलविद्युत् आयोजनामा फसेका कामदार तथा कर्मचारीको उद्धारका लागि आवश्यक उपकरणसहित नेपाली सेनाको टोली परिचालन भएको छ। अपर त्रिशूली–३ ‘ए’ को शान्ति बजारमा फसेका सुत्केरीसहित ७ जनालाई उद्धार गरी त्रिशूली ल्याइएको छ भने थप व्यक्तिहरूको उद्धारका लागि प्रयास जारी रहेको श्रेष्ठले बताए।
‘हामीले दुई वटा कुरालाई मुख्य प्रायोरिटी बनाएर काम गरिरहेका छौं। सबैभन्दा पहिलो त मानवीय कुरा नै पर्छ। हाम्रा धेरै साथीहरू सम्पर्कविहीन हुनुहुन्छ। उहाँहरूको खोजी र रेस्क्यू गर्ने नै थियो। त्रिशुली ३ ए र त्रिशुली ३ बी, चिलिमे र रसुवागढीमा कार्यरत कर्मचारीहरूलाई ट्रयाक गर्ने र उद्धार गर्ने काम हिजोदेखि नै जारी राखेका छौं। अहिले सम्पूर्ण पुहँचमार्ग बन्द भएको अवस्था छ। हामीले हिजोदेखि नै प्रभावित क्षेत्रमा हेलीबाट उद्धार गर्ने कोसिस गरिरहेका छौं,’ उनले भने, ‘हामीले सेनालाई रिक्वेस्ट गरिरहेका छौं। पटक पटक रिभाइज पनि गराइरहेका छौं।’











