काठमाडौं। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले बाढी प्रभावितहरुका लागि गाँस काटेर भए पनि सहयोग गर्न आग्रह गरेकी छन्। उनले बिहीबार एक अपिल जारी गर्दै विपद्को समयमा सिंगो देश एक भएर उभिनुपर्ने बताएकी छन्।
पूर्वप्रधानमन्त्री कार्कीले विपद्को समयमा सबैभन्दा ठूलो शक्ति एकता भन्दै चाडपर्व खर्च कटाएर भए पनि सहयोग गर्न आग्रह गरेकी छन्।
‘विपद्ले जहाँ प्रहार गरेको छ, त्यहाँ हाम्रो साथ, सहयोग र सहारा पुग्नुपर्छ,’ उनले भनेकी छन्, ‘यो सिंगो राष्ट्र एक भएर उभिनुपर्ने समय हो। त्यसैले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा म विनम्र आग्रह गर्दछु-आफ्नो सामर्थ्यअनुसार प्रभावित परिवार र समुदायको सहयोगमा जुटौं। आफ्नो गाँस काटेर भए पनि सहयोग गरौं। सम्भव भएसम्म आउँदा चाडपर्वका केही खर्च कटाएर भए पनि आज संकटमा परेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको जीवन जोगाउन र घरपरिवार सम्हाल्न योगदान गरौं।’
उनले बाढीमा परेकाहरुको खोजी, उद्धार, राहत, उपचार तथा पुनर्स्थापनाका कार्यमा समाजका विभिन्न तह र तप्काबाट देखाइएको ऐक्यबद्धता प्रशंसनीय भएको बताएकी छन्।











