काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले बुधबार नेपाल-चीन सीमावर्ती क्षेत्र केरुङ-रसुवागढी क्षेत्रमा गएको ठूलो बाढीको घटनालाई लिएर सामाजिक संजाल तथा केही संचारमाध्यमहरुमा गलत प्रचार भइरहेको भन्दै खण्डन गरेको छ।
आज दूतावासले आफ्नो सामाजिक संजालबाट चिनियाँ पक्षबाट पूर्वसूचना नदिइएको वा चीनतर्फको बाँध फुटेर नेपालमा क्षति पुगेको भन्ने दाबीहरुलाई ‘भ्रामक समाचार’ भएको जनाएको हो।
दूतावासले बुधबार बिहान नेपाली भूभागमा भूकम्प वा भूकम्प जस्तै तिब्रताको हिमपहिरो गएको जनाएको छ। बुधबार बिहान चीन नेपाल सीमामा ४.४ म्याग्नेच्युडको भूकम्प मापन गरिएको थियो। चिनियाँ भूगर्भविदहरुले नेपालीपट्टी नै हिमचट्टान थुनिएर हिमपहिरो गएको प्रारम्भिक विश्लेषण गरेका छन्।
बुधबारको हिमपहिरोका कारण भीषण लेदोसहितको बाढीले चीनतर्फको केरुङसहित नेपालतर्फ रसुवा, धादिङ, नुवाकोट र चितवनसम्म प्रभाव पारेको थियो। सीमा क्षेत्रका दुवै भूभागमा ठूलो जनधनको क्षति पुग्नुका साथै मानिसहरू बेपत्ता भएका छन्।
यस्तो अवस्थामा चीनले नेपाललाई पूर्वसूचना नदिएको र त्यही कारण क्षति भएको भन्दै ‘फेक न्यूज’ फैलिएको प्रति चिनियाँ पक्षले गम्भिरता देखाएको हो। चीनले आफ्नो क्षेत्रको बाँध भत्किएकाले क्षति पुगेको भन्ने खबरहरु गलत भएको जनाएको छ।
दूतावासले प्राकृतिक प्रकोपको अवस्थामा एक अर्कामाथि आरोप प्रत्यारोप गर्नुको कुनै अर्थ नरहेको भन्दै ‘आरोप प्रत्यारोपले समाधान दिँदैन, सहकार्यले मात्र जीवन रक्षा गर्छ’ भन्ने सन्देश दिएको छ।
चीनले विपत्तिपछि दुवै देशका सीमावर्ती क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारेको जनाएको छ। यस्ता प्राकृतिक प्रकोपसँग जुध्न आपसी समन्वय र सहकार्य नै मुख्य बाटो भएको दूतावासले जनाएको छ।











