विराटनगर। विराटनगरको सीमावर्ती भारतीय जोगबनी भन्सारका एजेन्टले सोमबारदेखि गरेको पेनडाउन हड्ताल फिर्ता लिएका छन्।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका नेतृत्वमा जोगबनी भन्सार पुगेको विराटनगरका उद्योगीको समूहसित भएको चौपक्षीय वार्तापछि एजेन्टले हड्ताल फिर्ता गरेका हुन्।
बुधबारदेखि जोगबनी भन्सारको कार्यसम्पादन पहिलेकै लयमा हुने र क्लियरिङ एजेन्टहरू काममा फर्कने भएका छन्।
एजेन्टको हड्तालका कारण नेपालतर्फ आइरहेका ७ सय मालवाहक गाडीहरू सोमबारदेखि सीमापारि भारतीय भूमिमा नै थन्किएका छन्।
अध्यक्ष राठीसहित विराटनगरका उद्योगी जोगबनी भन्सार कार्यालय पुगेपछि चार पक्षबिच संयुक्त बैठक भएको थियो।
बैठकमा विराटनगरका उद्योगी, जोगबनी भन्सार कार्यालयका प्रमुख, ल्यान्ड पोर्ट अफ इन्डिया (एलपीआई) का प्रबन्धक रत्नाकर यादव र जोगबनी भन्सार क्लियरिङ एजेन्ट संघका अध्यक्ष रामबाबु यादव तथा अन्य पदाधिकारीको सहभागिता थियो।
जोगबनी भन्सार क्लियरिङ एजेन्ट संघका अध्यक्ष यादवले बैठकमा जोगबनी भन्सारमा टोकन काटेर मालवाहक गाडी प्रवेश गराएपछि कन्जेसनका कारण ३ सय मिटर दूरी पार गर्न ३ घण्टाभन्दा बढी समय लाग्ने भन्दै आक्रोश व्यक्त गरेका थिए।
जोगबनी भन्सारको ढिलाइका कारण एक दिनमै त्यहाँबाट निस्कनुपर्ने गाडी ३ दिनमा निकाल्नुपर्दा पार्किङ र डिटेन्सनको खर्च बढेको अध्यक्ष यादवको भनाइ थियो।
उनले जोगबनी भन्सार र एलपीआईका कारण गाडी निस्कन ३ दिन लागेर डिटेन्सन शुल्क तिर्नुपर्दा व्यवसायी रिसाएर क्लियरिङ एजेन्टलाई गाली गर्ने गरेको भन्दै दुखेसो गरेका थिए। त्यस्तै नगद काउन्टर एउटा मात्र भएको र त्यसमा भएको कम्प्युटरमा सर्बर डाउन भइरहँदा दिनभरि जाँचपासको कार्य बन्द हुने उनको गुनासो छ।
उनले जोगबनीको आइसिपीबाट विराटनगरतर्फको आइसिपीमा मालवाहक गाडी प्रवेश गराउने द्वार एउटा मात्र हुँदा कन्जेसन भएको र यसले पनि विलम्ब हुने गरेको भन्दै असन्तुष्टि प्रकट गरेका थिए।
एजेन्टहरूले नेपाल प्रवेश गर्ने गेट १ का ठाउँमा ३ वटा हुनुपर्ने माग गरेका थिए।
अर्का क्लियरिङ एजेन्ट लक्ष्मण यादवले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अपमानजनक व्यवहार गरेको भन्दै बैठकमा आपत्ति प्रकट गरेका थिए।
संगठनका अध्यक्ष राठीले जोगबनी भन्सारमा पेनडाउन हुँदा नेपालका उद्योगलाई असर परेको र वस्तुको जाँचपास रोकिँदा पार्किङ र डिटेन्सनको खर्च बढेको भन्दै हड्ताल फिर्ता गर्न आग्रह गरेका थिए।
अध्यक्ष राठीले एलपीआई र एसएसबीले एजेन्ट र व्यवसायीका जायज गुनासा सुनेर त्यसको समाधान गर्नुपर्ने भन्दै सबैलाई मर्यादित र सम्मानित व्यवहार गर्नुपर्ने कुरामा जोड दिए।
सबैका गुनासाको उत्तर दिँदै एलपीआईका प्रबन्धक रत्नाकरले हालको एउटा नगद काउन्टरलाई २ हप्ताभित्रै ३ वटा बनाउने र सर्बर डाउन भइरहने समस्यालाई पनि इन्टरनेटको स्पिड थपेर समाधान गर्ने आश्वासन दिए।
प्रबन्धक यादवले नेपालतर्फ प्रवेश गर्ने एक गेटलाई तीन वटा बनाउन भारत सरकारको योजनामा कार्यक्रम आइसकेको जानकारी दिए।उनले कार्यालयमा यसको बजेट आउनेबित्तिकै गेटविस्तारको कार्य अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
प्रबन्धक यादवले क्लियरिङ एजेन्टका गुनासाको सम्बोधन गरेपछि बुधबार बिहानदेखि हड्ताल फिर्ता लिएर जाँचपासको कार्यलाई सुचारु बनाउने निर्णय भएको थियो।
बैठकमा उद्योग संगठनका अध्यक्ष राठी, निवर्तमान अध्यक्ष राकेश सुराना, उपाध्यक्ष विपिन काबरा र सदस्य दीपक अग्रवाल सहभागी थिए।










