नाडामा मेड इन नेपालदेखि रेन्ज एक्स्टेन्डेड प्रविधिसम्म, अटो शोमा नयाँ सवारीको दबदबा



बिजमाण्डू
२०८३ भदौ ९ गते २१:४६ | Aug 25, 2026
नाडामा मेड इन नेपालदेखि रेन्ज एक्स्टेन्डेड प्रविधिसम्म, अटो शोमा नयाँ सवारीको दबदबा


काठमाडौं। १८औं संस्करणको नाडा अटो शोको पहिलो दिन नयाँ मोडल र प्रविधिप्रति दर्शकको चासो देखिएको छ। यसपटकको शोमा अधिकांश ब्रान्डले बिक्रीका लागि मात्रै नभई आगामी दिनमा बजारमा आउने मोडल, नयाँ प्रविधि र आफ्ना उत्पादनको क्षमता देखाउने गरी विभिन्न गाडी तथा दुई पांग्रे सवारीसाधन प्रदर्शन गरेका छन्।

Vigo
GBIME
Tata

विशेष गरी मेड इन नेपाल उत्पादन र नयाँ प्रविधि प्रयोग भएका सवारीसाधनले दर्शकको ध्यान तानेका छन्। सिप्रदी ट्रेडिङले नेपालमै उत्पादन भइरहेको यात्री पीटुलाई प्रदर्शनीमा राख्दै स्कुटर तयार पार्दासम्मको प्रक्रिया नै चरणबद्ध रूपमा देखाएको छ। यसले नेपाली उत्पादन कसरी तयार हुन्छ भन्ने विषयमा उपभोक्तालाई प्रत्यक्ष जानकारी दिनेछ।

सिप्रदीले अफरोड क्षमता भएको टाटा सिएरा ईभीलाई पनि शोकेस मात्रै गरेको छ। कम्पनीले यसको बिक्री मूल्य सार्वजनिक गरेको छैन। यो एसयूभीलाई नाडा अटो शोमा उपभोक्ताले प्रोडक्टको बारेमा अहिले अनुभव लिन पाउने गरी डिस्प्लेमा राखिएको छ।

चिनियाँ सवारी निर्माता डोङफेङको प्रिमियम अफरोड ब्रान्ड एमहिरो पनि यसपटक शोकेसमा छ। एमहिरो-१ मा प्रयोग भएको रेन्ज एक्स्टेन्डेड प्रविधि यसको मुख्य आकर्षण हो। यसले ब्याट्री विद्युतीय सवारीमा रेन्ज बढाउने नयाँ प्रविधितर्फ पनि दर्शकको ध्यान खिचेको छ।

यस्तै, यामाहाले आफ्नो एडभेन्चर मोटरसाइकल र लामो समयपछि नेपाली बजारमा फर्किन लागेको फ्यासिनो स्कुटरलाई हाइब्रिड प्रविधिको पनि प्रदर्शनीमा राखेको छ। यी मोडलको बिक्री भने तत्काल सुरु हुने छैन। अहिले अटो शोमा उक्त दुई वटा मोडल शोकेस मात्रै गरिएको छ। जहाँ ग्राहकहरुले प्रोडक्टहरुको फिल लिन मात्रै पाउनेछन्। उत्पादन खरिद गर्न भने केही समय पर्खिनुपर्ने हुन्छ।

यसैगरी हिरोले जुम १६० र एक्स्ट्रिम २५० आर सार्वजनिक गरेको छ। दुवै मोटरसाइकलको मूल्य भने सार्वजनिक गरिएको छैन। 

पहिलो दिन १४ नयाँ उत्पादन

नाडाको पहिलो दिन विभिन्न ब्रान्डले करिब १४ वटा नयाँ उत्पादन तथा भेरियन्ट सार्वजनिक गरेका छन्। पहिलो दिन सार्वजनिक भएका उत्पादनमध्ये करिब २ करोड ४० लाख रुपैयाँसम्मका गाडी छन्। तर, अघिल्ला शोको तुलनामा यस पटक इन्ट्री लेभल सेग्मेन्टमा नयाँ मोडल कम छ।

गत साउनमा आयोजना भएको नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक भइसकेका बीवाइडी एटो १, चेरी क्यूक्यू ३, आर्कफक्स टी १, टाटा पन्च ईभी, टाटा टियागो ईभी, वुलिङ मिनी ईभी र लिपमोटर बी ०३ एक्स जस्ता मोडल पनि नाडा अटो शोमा प्रदर्शनीमा छन्।

नाडा अटो शोमा टाटा सिएरा र नेक्सनको नयाँ भेरियन्ट सार्वजनिक गरिएको छ। सिएराको सार्वजनिक भए पनि यसको मूल्य भने तत्काल तोकिएको छैन। यसले नेपाली बजारमा सिएराको आगमनप्रति उपभोक्ताको चासो थप बढाएको छ।

स्काइवेलको नयाँ आधिकारिक बिक्रेताले बीई-११ सार्वजनिक गर्दै यसको मूल्य ४७ लाख रुपैयाँदेखि सुरु हुने जनाएको छ। हिरोले जुम १६० र एक्स्ट्रिम २५० आर सार्वजनिक गरेको छ। दुवै मोटरसाइकलको मूल्य भने सार्वजनिक गरिएको छैन।

यामाहाले फ्यासिनो एसएक्सआर ३०० सार्वजनिक गर्दै यसको मूल्य ५ लाख ३९ हजार रुपैयाँदेखि तोकेको छ। त्यस्तै, भेस्पा अप्रिलियाको १७५ सीसी स्कुटरको मूल्य ४ लाख ५६ हजार रुपैयाँ राखिएको छ।

डोङफेङको नयाँ विद्युतीय सेडान इपाइ-००७ को मूल्य ६० लाख रुपैयाँ तोकिएको छ। त्यस्तै, अवतार-०७ करिब २ करोड २० लाखदेखि २ करोड ३० लाख रुपैयाँसम्मको मूल्यमा सार्वजनिक गरिएको छ।

नाडा अटो शोमा स्कोडा कोडियाक पनि सार्वजनिक भएको छ भने सुजुकीले ब्रेजाको फेसलिफ्ट ल्याएको छ। ब्रेजाको फेसलिफ्टको मूल्य ४८ लाख ७८ हजार रुपैयाँदेखि सुरु गरिएको छ।

साथै नाडामा ईभीको ब्याट्री चार्जिङ फ्यासिलिटी पनि राखिएका छन्। यस्तै सवारीसाधनमा लाग्ने स्पेयर पार्ट्स पनि स्टल राखेर प्रदर्शनी गरिएको छ।

कोडियाकको मूल्य २ करोड ४० लाख राखिएको छ। यसरी यस पटकको नाडा अटो शोमा बिक्रीका लागि सार्वजनिक गरिएका मोडलसँगै तत्काल बजारमा नआउने नयाँ प्रविधि र आगामी मोडललाई पनि उत्तिकै प्राथमिकता दिइएको छ। 

विशेषगरी नेपाली उत्पादन, रेन्ज एक्स्टेन्डेड प्रविधि, हाइब्रिड प्रणाली र नयाँ अफरोड एसयूभीले शोको पहिलो दिनलाई थप आकर्षक बनाएका छन्।