आजबाट अटो व्यवसायीको कुम्भ मेला नाडा अटो शो सुरु हुँदै, गाडीहरु शोकेस गर्न तयार



बिजमाण्डू
२०८३ भदौ ९ गते ०६:०९ | Aug 25, 2026
आजबाट अटो व्यवसायीको कुम्भ मेला नाडा अटो शो सुरु हुँदै, गाडीहरु शोकेस गर्न तयार


काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आजबाट आयोजना हुन लागेको नाडा अटो शो २०२६ को तयारी लगभग पुरा भएको छ।

Vigo
GBIME
Tata

हिजो रातिसम्म अटो व्यवसायीहरुलाई निकै चटारो थियो। मंगलबार सुरु हुने अटो शोका लागि आफ्ना नयाँ सवारी साधन ल्याइपुर्‍याउन, स्टल सजावट गर्न उनीहरुलाई भ्याइनभ्याइ थियो।

आज बिहानसम्म सबै स्टलमा शोमा देखिने सवारिसाधन राखिएका छन्। यो पटक स्टलहरु ठुलो र प्रिमियम बनाउन खोजिएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गर्न लागेको दशौं संस्करणको अटो शोमा आफ्ना ब्राण्ड शोकेस गर्न व्यवसायीबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ।

नाडाले आफ्नो तर्फबाट सबै तयारी पुरा भइसकेको पनि जनाएको छ। अटो शोमा भाग लिने विभिन्न कम्पनीहरुले आ-आफ्ना प्रदर्शन गर्ने सवारीसाधन पनि पुर्‍याएका छन्।

यसपटकको अटो शोले नेपालको अटोमोबाइल बजारमा भइरहेको विकास र विस्तारलाई प्रतिबिम्बित गर्ने संयोजक अनुपकुमार बरालले बताए। उनका अनुसार प्रदर्शनीमा सहभागी कम्पनीहरूले स्टल सजावटदेखि उत्पादन प्रदर्शनसम्मका तयारीमा उल्लेख्य मेहनत गरेका छन्।

‘कम्पनीहरूले निकै मेहनतका साथ स्टल सजाउने लगायतका तयारी गरेका छन्। यसले बजार विस्तार भइरहेको र अटो शो लाई आफ्नो ब्रान्डिङ तथा बजार प्रवर्धनको महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्न खोजेको स्पष्ट हुन्छ,’ उनले भने।

उनका अनुसार अटो शो नेपाली उपभोक्ताका लागि पछिल्लो समय अटोमोबाइल क्षेत्रमा भइरहेको विकास, नयाँ प्रविधिको विस्तार र बदलिँदो बजारलाई प्रत्यक्ष रूपमा बुझ्ने अवसरसमेत बन्नेछ। प्रदर्शनीमार्फत उपभोक्ताले बजारमा भित्रिएका नयाँ प्रविधि, उत्पादन र सेवाबारे जानकारी लिन सक्ने उनले बताए।

नाडा अटो शोमा १२३ सवारी ब्रान्डका स्टल थन् भने ‘मेड इन नेपाल’ यात्रीदेखि अटोको समग्र इकोसिस्टम पनि देखिन्छ।

प्रदर्शनीमा चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनसँगै टायर, ब्याट्री, चार्जिङ, स्पेयर पार्ट्स तथा अटोमोबाइल प्रविधिसँग सम्बन्धित कम्पनीले समेत व्यापक सहभागिता जनाउँदैछन्। अटो क्षेत्रको समग्र इकोसिस्टम अटो शोमा देखिने नाडाले बताएको छ। 

नाडाका अनुसार प्यासेन्जर गाडीका २३, कमर्सियल गाडीका १७, दुई पाङ्ग्रेका १३ र स्पेयर पार्टसका ७० वटा स्टल रहने छन्।

यसबाहेक बैंक, वित्तीय संस्था र बीमा कम्पनी तथा अन्य गरी २०० वटा स्टल हुने नाडाले जनाएको छ। अटोमोबाइल क्षेत्रका विभिन्न विधालाई एउटै छानामुनि समेटेर १८औं नाडा अटो शो आजदेखि काठमाडौंमा हुदैछ।

बैक तथा इन्स्योरेन्सले अटो सोमा छुट्टै स्टल राख्दा उपभोक्तालाई थप सहज हुनेछ। वाणिज्य बैंकहरुले अटोलोनमा व्याजदर तथा अन्य सुविधाका बारेमा उपभोक्तालाई त्यही स्थानमा जानकारी दिनेछन्। यसले गाडी किन्न चाहने उपभोक्ताले बैंक चाहार्नु पर्ने झन्झटबाट मुक्ति पाउनेछन्। गाडीको बिमा सुविधा पनि त्यहिँ उपलब्ध हुने।

प्रदर्शनीमा चारपाङ्ग्रे सवारीसाधनतर्फ आयोन, एभलर, बीएडब्लू नेपाल, बीवाइडी, चांगन, चेरी, डीपल, डीएफएसके, डोङफेङ, एकाटा मोटर्स, फारिजोन, फेइदी, फोटोन, जीली, जीडब्ल्यूएम, हिरो, हाइगर, आईकार, जेटोर, जीनबेई, जेएमइभी, कामा, कवानई अटो, लिपमोटर, एमजी, मेटा ईभी, एमहिरो, नाम्मी, नेभो, प्रोटोन, रिडारा, स्कोडा, स्काइवेल, स्काइवर्थ, सोकोन, सुजुकी, टाटा इभी, टाटा मोटर्स कमर्सियल भेहिकल्सलगायत ब्रान्ड सहभागी हुनेछन्। 

दुईपाङ्ग्रे सवारीतर्फ रोयल इन्फिल्ड, यामाहा, एम्पियर, अप्रियला, सिप्रदी यात्री, भिडा, जोन्सेन, रिभोल्टलगायत ब्रान्डले नाडा अटो शोमा स्टल राख्दैछन्। पेट्रोलियम इन्धनबाट चल्ने मोटरसाइकल तथा स्कुटरसँगै विद्युतीय दुईपाङ्ग्रे सवारीको विकल्प पनि प्रदर्शनीमा बलियो रूपमा देखिनेछ। 

अटो शोमा नबिल, एनआईसी एशिया, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, प्रभु, कुमारी, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंक तथा महालक्ष्मी विकास बैंक, गुराँस फाइनान्स तथा शिखर इन्स्योरेन्स जस्ता वित्तीय तथा बीमा संस्थाको सहभागिता रहनेछ। 

एपोलो टायर्स, सीएट, गल्फ, मोबिल, मिचेलिन, राल्सन, असियन ब्याट्री, टाटा ब्याट्री, एक्साइडसँग सम्बन्धित उत्पादन तथा सेवा, चार्जिङ कम्पनी, हेल्मेट ब्रान्ड, सवारी ट्र्याकिङ तथा प्रविधि कम्पनी, स्पेयर पार्ट्स र अटो कम्पोनेन्टका व्यवसायी समेत प्रदर्शनीमा सहभागी हुने नाडाले जनाएको छ।