काठमाडौं। दसैंतिहारका लागि लक्षित गरेर चिनियाँ कम्पनीले १००० दरका नयाँ नोट नेपाललाई उपलब्ध गराउने भएको छ। असार ३ गतेबाट गभर्नर डा. विश्वनाथ पौडेलले हस्ताक्षर गरेको ५०० दरका नयाँ नोट प्रचलनमा आइसकेको छ।
पोहोरदेखि ५०० र हजार दरका नोटको अभाव भइरहेका बेला चाडपर्बलाई लक्षित गर्दै चिनियाँ कम्पनीले केही दिनमै पहिलो ‘सिपमेन्ट’ पठाउने भएको छ।
हजार दरका नयाँ नोटमा डा. पौडेलको हस्ताक्षर हुने छ। गभर्नरका रुपमा पौडेलले हस्ताक्षर गरेको पहिलो नोट ५०० पछि अब हजार दरका नोट प्रचलनमा आउन लागेको हो।
‘६ अर्ब रुपैयाँ बराबरको हजार दरका नोटहरु केही समयमै नेपाल आउने छन्’ पौडेलले भने, ‘यसपाली पोहोर परारजस्तो नोटको अभाव हुने छैन।’ उनका अनुसार, भुक्तानी अघि नै ६ अर्ब बराबरका नोट आउने छ।
बाँकी नोटहरु भने क्रमिक रुपमा नेपाल आउने छ। ६ अर्ब बराबरको नोट काठमाडौं उपत्यकाभित्र सटही गरिने छ।










