काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागेको छ। नेप्से परिसूचक बुधबार ०.२६ अंक घटेर २६२२.२२ विन्दुमा आएको हो।
कारोबारमा आएका बैंकिङ, हाइड्रोपावर, निर्जीवन बीमा कम्पनी, अन्य र ट्रेडिङ बाहेकका उपसमूहले आज बजार घटाएका हुन।
आज १५० कम्पनीको सेयर मूल्य घटेको छ। मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ८.४५ प्रतिशतले ओरालो लागेको छ।
सूचकसँगै सेयर कारोबार रकम पनि घटेको छ। मंगलबार ५ अर्ब ७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ३ अर्ब २९ करोड रुपैयाँमै सीमित भएको हो।
बजार घट्दा बुधबार पछिल्लो साढे एक महिनायताकै न्यून सेयर किनबेच भएको छ। बजारमा यसअघि असार १६ गते ३ अर्ब २५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।
आज साहस ऊर्जाको सबैभन्दा धेरै १७ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, सोलु हाइड्रोपावरको १६ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
बजारमा ११० कम्पनीको सेयर मूल्य बढेको छ। दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। माउण्ट एभरेष्ट डेभलपमेन्ट पावर कम्पनी र सर्वोत्तम पेन्ट इन्डष्ट्रिजको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।









